दक्षिण एसियामा बढ्दै गएको संकटका बारेमा गम्भीर बन्न आग्रह
दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् । काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्चको छैटौँ वार्षिक सभामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।
दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणमा अन्त्य नभएसम्म असमानता बढ्दै जाने भएकोले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीहरुले सम्वन्धित देशका सरकारहरूलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा आर्थिक, राजनीतिक र मानवीय संकट बेहोरिरहेका दक्षिण एशियाली देशहरु श्रीलंका र अफगानिस्तानका बारेमा विशेष प्रस्तुति भएका थिए । अफगानिस्तानका एक सामाजिक अभियन्ताले तालिवान सत्तामा आएपछि आर्थिक, राजनीतिक र सामाजिक प्रणाली ध्वस्त भएको र धेरै नागरिकहरु विस्थापित जीवन बिताइरहेको बताए ।
अफगानिस्तानी नागरिक आधारभूत मानवअधिकारबाट वञ्चित भएको जनाउँदै उनले महिला र बालबालिकाको अवस्था थप दर्दनाक रहेको बताए । साथै उनले यो अवस्थामा सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । यसैगरी श्रीलंकाका निमल्का फर्नान्डोले श्रीलंकाको आर्थिक संकटबारे जानकारी दिँदै त्यहाँका नागरिकहरु चरम संकटमा रहेको बताए ।
गलत राजनीतिक र आर्थिक नीतिका कारण अहिलेको समस्या उत्पन्न भएको बताउँदै फर्नान्डोले आन्तरिक र बाह्य ऋणका कारण अहिलेको संकट गहिरिएको बताए । उनले श्रीलंकामा चरम मूल्यवृद्धि, औषधी अभाव र वैदेशिक मुद्राको अभाव भएको समेत जानकारी दिए । कार्यक्रममा दक्षिण एसियामा बढ्दै गइरहेको बहुआयामिक संकट र असमानताका बारेमा छलफल गरी दक्षिण एशियामा सामाजिक आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो ।
यस अन्तर्गत कोभिड १९ का कारण कमजोर हुँदै गएको आर्थिक प्रणाली, वित्तीय सुशासन, दक्षिण एसियाको गरिबीको अवस्था, असमान ज्याला, सुशासन, ऋण, प्रगतिशील कर, लैंगिक न्याय, वातावरणीय संकट एवम् कृषि र खाद्य प्रणाली, लोकतन्त्र र मानवअधिकार, स्वास्थ्य प्रणाली र कोभिड विरुद्धको खोप तथा आर्थिक पुनरुत्थान जस्ता विषयहरुमा छलफल भएको थियो ।
छलफलमा भारतका बाबु माथ्यु, जाकीया सोमन, बाबु पी रमेश, नीता, शोभा रघुराम, बंगलादेशका सहनाज सुमि, मनोवर मुस्तफा, श्रीलंकाकी लोगेश्वरी पुनि, नलिनी रतनराज सहभागिता थियो । यस्तै, नेपालका हरि शर्मा, सुशील प्याकुरेल, डा. नेत्र तिम्सिना, शर्मिला कार्की, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, डा.अर्जुन कार्की, विमला राई (पौडेल), डा.प्रेम दंगाल, भुटानका गोविन्द रिजाल, पाकिस्तानका फारुक तारिकले दक्षिण एसियाको समग्र अवस्था र नयाँ सामाजिक आन्दोलनका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
भेलामा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका र नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस भेलाले दक्षिण एसियाका विषयहरुमा ३१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसियाको संकट समाधान गर्न जन सार्कलाई अझ मजबुत बनाउँदै गतिशील बनाउनुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?