बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रन्जन कोइराला पक्राउ

शुक्रबार, १३ जेठ २०७९, १८ : ४७
शुक्रबार, १३ जेठ २०७९

पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । जबरा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । उनीहरुले रञ्जन ८ वर्ष ६ महिना मात्रै जेल बस्दा सजायको ‘मक्सद पुरा हुने’ ठहर्‍याएका थिए । सो फैसलापछि कोइराला ०७७  साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए  ।

काठमाडौंको इचंगुनारायण घर भएका रञ्जनले सशस्त्रको डिआईजी हुँदा पत्नी गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले ७ वैशाख ०७१ मा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला न्यायाधीश महम्मद जुनैद अदालतले गरेको सो फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर ०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध रञ्जन सर्वोच्चमा गएका थिए । गीता बूढानिलकण्ठ–५ मा बस्थिन् । ११ महिने नेशनल डिफेन्स कोर्षका लागि ०६८ भदौमा चिन गएका रञ्जनले बिदामा आएर पत्नीको हत्या गरेका थिए । गीताको शव पुस २८ मा मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङमा जलाएको अवस्था फेला परेको थियो । 

काठमाडौंमा हत्या गरेर रञ्जनले पत्निको शव टिष्टुङमा लगेर जलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले ८ माघमा नागढुंगाबाट आफैंले चलाएको बा.८च ५४०८ नम्बरको गाडीसहित रञ्जनलाई पक्रेर अनुसन्धान गरेको थियो । करिब साढे २ वर्षको वहसपछि काठमाडौं जिल्ला अदालतले रञ्जनलाई दोषी ठहर गरेको थियो । उनकी प्रेमिका तारालाई एक वर्ष कैद हुने फैसला अदालतल गरेको थियो । सो फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलाशले रञ्जनको मुद्धा पुनरावलोकन गर्न आदेश दिएका थिए । त्यसपछि फैसला पुनरावलोकन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप