सेनाको पोलिटेक्निक महाविद्यालयमा इन्जिनियरिङ पढ्न ९६ जनाको कोटा
सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित भक्तपुरको खरिपाटीमा अवस्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयमा इन्जिनियरिङतर्फ विभिन्न विधाको डिप्लोमा कोर्षका लागि नयाँ शैक्षिक सत्रमा ९६ जनाको कोटा निर्धारण हुने भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार शैक्षिक सत्र ०७९ का लागि सीटीईभीटीले तोके बमोजिमको योग्यता पूरा गरी (एसईई÷एसएलसी) पास भएका बहालवाला एवं भूतपूर्व सैनिक व्यक्तिका सन्तती तथा सर्वसाधारण विद्यार्थीहरुलाई सम्मिलित गराई ‘डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ’ र ‘डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ’ तर्फ निकट भविष्यमा भर्ना आह्वान गर्न लागिएको हो ।
दुवै विधातर्फ ४८÷४८ जना विद्यार्थी कोटा निर्धारण भएको निर्देशनालयले जनाएको छ । यसबारे थप जानकारीका लागि उक्त महाविद्यालयमा सम्पर्क गर्न पनि निर्देशनालयले सबैमा आह्वान गरेको छ ।