शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

इराकले ल्यायो इजरायलसँग सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने कानुन

शुक्रबार, १३ जेठ २०७९, १८ : ०४
शुक्रबार, १३ जेठ २०७९

इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेको छ । विधेयकअनुसार अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । 

‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसदका २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । 
इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रवेशमा बन्देज छ ।

नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत इराकमा काम गरिरहेका विदेशीहरुमाथि पनि लागू हुनेछ ।  यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गरेका थिए । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा इराकी संसदमा सद्रको पार्टीले सबैभन्दा धेरै सिट जितेको छ ।

मुक्तदा अल–सद्रको पार्टीले इजरायलसँग मात्र होइन अमेरिकासँगको सम्बन्धको पनि विरोध गर्ने गर्छ । पछिल्लो समय संयुक्त अरब एमिरेट्स तथा बहराइन लगायतका खाडी मुलुकहरुले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरिरहेका छन् ।  

इरानबाट उत्पन्न साझा चुनौती सामना गर्न इजरायलसँग नजिकिनु परेको ती मुलुकले तर्क दिने गरेका छन् । इजरायल र अरबी मुलुक बीचको बढ्दो नजदिकीमा अमेरिकाले मध्यस्थता गरेको थियो ।  अमेरिकाको अर्को घनिष्ट साझेदार साउदी अरबले भने सम्बन्ध सुधारको लागि सन् १९६७ को युद्धपछि इजरायलले कब्जामा लिएको प्यालेस्टाइनी भूमि फिर्ता गर्नुपर्ने सर्त राख्दै आएको छ । 
इराकी संसदले इजरायल विरोधी कानुन पास गर्नेबाहेक हालसम्म अरु कुनै काम अघि बढाउन सकेको छैन । 

गत अक्टोबरको चुनावपछि बनेको वर्तमान संसदले न त राष्ट्रपति चुन्न सकेको छ न सरकार नै । यसले गर्दा देशको राजनीतिक गतिरोध लम्बिरहेको छ । –अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप