शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अटोमोबाइल्स क्षेत्रले पूर्वाधार निर्माणको मोडालिटीमा प्रत्यक्ष योगदान गरेको छ :  ध्रुव थापा

शुक्रबार, १३ जेठ २०७९, १७ : ५९
शुक्रबार, १३ जेठ २०७९

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट भाषण गर्ने तयारी गरेको छ । त्यसका लागि जेठ १० गते नै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिसकेको छ । तर अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थविद्हरूले बताइरहेका छन् । यस्तो अवस्थामा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र निजी क्षेत्रका माग सम्बोधन गर्न सरकारले नीति तथा कार्यक्रम कस्तो ल्यायो ? यसबारे विषयगत विद्वत्वर्गहरूले छलफल र वक्तव्य जारी गरिरहेका छन् । अर्थतन्त्रलाई सुधार गर्न, उद्योगधन्दा, कलकारखाना, स्वास्थ्य, शिक्षा, चलचित्र, पर्यटनलगायतका क्षेत्रमा सरकारले नीति तथा कार्यक्रम बारे आगामी आर्थिक वर्षको वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । यतिबेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया आइरहेका छन् । यसै विषयमा न्युज एजेन्सी नेपालले अटोमोबाइल्सको क्षेत्रमा सरकारले कस्तो नीति तथा कार्यक्रम ल्यायो र के कुरा थप गर्नुपर्छ भन्ने बारेमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापासँग गरिएको कुराकानीको सम्पादित अंश:

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई नाडाले कसरी हेरेको छ ?
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम व्यवसायीमैत्री र सन्तुलित देखिएको छ । समग्र अटो क्षेत्रलाई समावेश नगरे पनि विद्युतीय सवारीलाई समेटेको छ । नाडाले सरकारको नीति तथा कार्यक्रमलाई सन्तुलित र सकारात्मक नै मानेको छौँ । अटो व्यवसायीहरूका मागलाई समेटेको छ । समग्र निजी क्षेत्रको मागलाई समेटकाले राम्रो मानेका छौँ ।

विगतका सरकारले ल्याउने नीति तथा कार्यक्रममा निजी क्षेत्रमैत्री कार्यक्रम आएन भन्ने गरिएको थियो, वर्तमान सरकारले ल्याएको नीति निजी क्षेत्रमैत्री छ त ?
नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्री भयो भनेर भन्न सक्दैनौँ । तर जुन नीति तथा कार्यक्रमको रूपमा आएको छ । त्यसमा निजी क्षेत्रलाई पनि समेट्यो कि भन्ने कुराको आभास भएको छ । बजेटले यसलाई कसरी समेट्छ, त्यो मुख्य कुरा हुन्छ । विगतका नीति तथा कार्यक्रममा पनि कतिपय कुरा समेट्न खोजेको देखिन्थो तर नीति तथा कार्यक्रम आएका कुरा बजेटमा देखिने गरेको छैन । त्यसैले बजेट नआएसम्म निजी क्षेत्रमैत्री भन्न सक्दैनौँ ।

सरकारको नीति तथा कार्यक्रमअनुसार नै बजेट आउँछ ? बजेटमा अटो व्यवसायीहरूको अपेक्षा के–के हो ?
अटो क्षेत्र नेपालको अर्को एउटा ठूलो उद्योग हो । अटोमोबाइल्स उद्योगलाई सरकार वा नीति निर्माण गर्नेहरूले विलाशिताका वस्तु र अनुत्पादक क्षेत्र भन्ने गरेका छन् । अटो क्षेत्र अत्यावश्यक वस्तुको हो भनेर नीति बनाउनुपर्छ । अनि मात्रै सहज हुन्छ । ४० वर्षअगाडिको अटोमोबाइल्स क्षेत्रलाई हेर्ने सोचाइ जस्तो थियो अहिले पनि त्यसैले काम गरेको छ । मानिसहरूलाई सवारी साधन अति आवश्यकताभित्र परिसक्यो । ट्रान्सर्पोटेसनका लागि सवारीको आवश्यकता पर्छ । नीति निर्माताहरूले समेत सवारीको प्रयोग गरेर काम गरिरहरका छन् । विगतमा विलाशिताको वस्तु मानियो तर अब परिर्वतन गरेर आवश्यकताको वस्तुभित्र राख्न जरुरी छ । उत्पादित वस्तुलाई सबैतिर पु¥याउने माध्यम पनि अटो क्षेत्र भएकाले यो उत्पादक पनि हो । त्यसैले विलाशिता र अनुत्पादक क्षेत्रका रूपमा राख्नु हुँदैन । राखिएन भने उद्योगका रूपमा विस्तार हुनसक्छ । अटो व्यवसायीहरू पनि नेपालमा नै एसेम्बल उद्योग खोल्नुपर्छ भनेर लागेका छौँ । अहिले भइरहेको सवारी आयातलाई प्रतिस्थापन गर्नुपर्छ भन्ने हाम्रो पनि जोडबल रहेको छ । तर यति ठूलो उद्योगलाई आयात प्रतिस्थापन गरेर नेपालमा उत्पादन उद्योग खोल्न सकिँदैन । नेपालको बजार, सरकारको नीति पनि हुनुपर्छ । आज एउटा नीति छ भोलि अर्को सरकार आउँदा अर्को नीति आउँछ । त्यति मात्रै नभएर एउटा व्यक्ति वा अर्थमन्त्री परिवर्तन हुनेबित्तिकै नीति परिर्वतन हुन्छ । त्यसैले व्यवसायीहरूले ठूला ठूला उद्योगमा अर्बौंको लगानी गर्ने स्थिति पनि छैन । अर्को कुरा नेपालबाट सवारी साधन निर्यात नहुने भएकाले नेपालमा नै हुने खपतलाई हेरेर उद्योग स्थापना गर्नुपर्छ । निजी क्षेत्र नेपालमा नै एसेम्बल उद्योग खोल्न तयार छ । दुईवटा उद्योग खोलिसकिएको छ । सवारी पार्टस्का उद्योगहरूबाट ५० प्रतिशत नेपालकै उत्पादनले धान्ने भइसकेका छन् । सरकारले उद्योगमैत्री नीति बनाएर सहुलियतको व्यवस्था गर्नुपर्छ । सरकारले त्यस्तो नीति बनाए निजी क्षेत्र नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योग खोल्न तयार छ । त्यस्तो हुनका लागि स्थिर, उद्योगमैत्री र व्यवसायीमैत्री नीति हुनुपर्छ ।

नाडाका तर्फबाट आगामी बजेटमा समावेश गर्न कस्ता माग तथा सुझाव सरकारलाई दिनुभएको छ ? ती माग सम्बोधन हुने कस्तो अपेक्षा छ र अर्थमन्त्रीले कसरी लिनुभएको छ ?
हामीले आयात भइरहेका सवारीहरूलाई अचानक रोक्नु हुँदैन भनेका छौँ । अहिले सरकारले सवारी आयातमा रोक लगाएको छ, त्यो राम्रो होइन । आयात रोकिएका निजी गाडी वार्षिक रूपमा १३ अर्बको मात्रै आयात हुने गरेको छ । त्यो सवारी आयात रोकिएको छ । अन्य मोटर साइकल, कमर्सियल सवारी, विद्युतीय सवारी खुला रहेको छ । निजी सवारी साधन आयातमा अहिले रोक लगाएको छ । तर सरकारलाई निजी सवारी साधनको राजस्व २०० प्रतिशतभन्दा बढी छ । ३० अर्बभन्दा बढी राजस्व उठ्छ । सरकारले त्यता पनि हेर्नुपर्छ । सरकार चल्ने भनेकै राजस्वबाट हो । सवारी आयात रोक्दा देशको प्रतिष्ठामा समेत आँच पुगेको छ । अहिले नै भोलिका दिनमा नेपालका बैङ्क तथा वित्तीय संस्थालाई विदेशी कम्पनीहरूले विश्वास नगर्ने अवस्थामा पुगेको छ । त्यसकारण आयातलाई खोल्नुपर्छ भन्ने सरकारलाई सुझाव हो । प्रत्येक वर्ष सरकारको मुख्य ध्यान अटो क्षेत्रमा कर वृद्धिमा जाने गरेको छ । कर बढी उठाउनु प¥यो, राजस्व बढाउनु प¥यो भने अटोमोबाइल्समा बढाएपछि सरकारको राजस्व बढ्नेतिर ध्यान दिने गरेको छ । तर अब सरकारले अटोमोबाइल्समा कर बढाउनु हुँदैन भन्ने हाम्रो माग हो । 
सवारी साधन अत्यावश्यक भइसक्यो । ग्रामीण क्षेत्रदेखि सहरसम्मलाई सवारी आवश्यक छ भने सरकारले यसलाई सबैले चढ्नसक्ने बनाउनुपर्छ । कर बढाउने होइन, घटाउनुपर्छ । अहिले विश्वमा अन्य देशभन्दा धेरै कर तिरेर सवारी साधनमा चढ्ने नेपालीहरू मात्रै हो । अमेरिका, भारत र चीनको भन्दा ४ गुणा बढी कर तिरेर एउटा नेपालीले सवारी साधन चढ्ने गरेको छ । फेरि सवारी साधन आयातमा कर सरकारले बढाउने हो भने समग्र चक्रमा मूल्य वृद्धिसमेत हुने देखिन्छ । त्यो कुरालाई सरकारले ध्यान दिनुपर्छ भनेर सुझाव दिएका छौँ । आयात छिटो खोल्न माग गरेका छौँ । यो अनुत्पादनक क्षेत्र र विलाशिताका वस्तु होइन । क्षेत्रगत रूपमा सरकारले छुट्याएर सरकारले राजस्वका रूपमा लिन सक्छ तर अटोमोबाइल्सलाई राजस्वका रूपमा लिनु भएन भन्ने सुझाव हाम्रो हो । सरकारले सवारी आयात रोक्ने कुरामा पनि निश्चित समय मात्रै हुनुपर्छ भनेका छौँ । अर्थमन्त्री नाडाका मागप्रति सकारात्मक भएर नै कुरा गर्नुभएको छ । आयात खोल्न कुरामा अर्थमन्त्री सकारात्मक हुनुहुन्छ । असार मसान्तसम्म मात्रै हो भन्नुभएको छ ।

राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने, बैंकको ब्याजदर बढाउने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति लिएको छ, यसले अटो व्यवसायमा कस्तो प्रभाव परेको छ ?
अटोमोबाइल्स क्षेत्रलाई एलसी खोल्न बन्दले मात्रै नभएर एलसी मार्जिनभन्दा अगाडिदेखि प्रभाव परेको छ । बैंकहरूमा तरलताको अभाव हुने वित्तिकै अटोमोबाइल्सलाई पहिला असर गरेको छ । चालू आर्थिक वर्षको सुरुवातदेखि बजारमा तरलताको अभवा भएसँगै अटो क्षेत्रमा समस्या परेको छ । त्यसपछि मार्जिन र आयात बन्दले अटो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । वर्तमान अवस्था त सरकारले सवारी आयात खोले पनि आयात भएका सवारी साधन बेच्न गाह्रो अवस्था छ । अटो व्यवसायीहरूले स्टक भएका सवारी साधनसमेत बेच्न नसकिरहेको अवस्था छ । बजारमा तरलताको समस्या नहटेसम्म अटो क्षेत्र प्रभावित रहन्छ । अहिले सवारी साधनको माग छ । अझ विद्युतीय सवारीको धेरै ठूलो माग छ । तर अटो व्यवसायीहरूले सप्लाई दिन सकिरहेका छैनौँ । कतिपय विद्युतीय सवारी बजारमा अभाव वा कम्पनीहरू उपलब्ध गराउन सकेको छैन । बजारमा तरलता समस्याका भएर सवारी डेलिभरी दिन सकिएको छैन ।

आर्थिक सङ्कटका कारण सवारी साधनमा पनि विद्युतीय सवारीको आवश्यकता देखिएको छ तर सवारी आयात रोक्ने पनि सरकारले भनिरहेको छ, विद्युतीय सवारीका विषयमा अटो व्यवसायीहरूको के छ तयारी ?
अबको भविष्य भनेको विद्युतीय सवारी साधनको नै हो । अझ एडभान्समा जाँदा हाइट्रोजन फ्युल पनि आउला । जे भने पनि प्रतिस्थापन गर्ने भनेको पेट्रोल डिजेलको सवारी साधनलाई नै हो । हामी व्यवसायीहरू पनि त्यसमा सकारात्मक छौँ । यो एकैपटक सम्भव पनि छैन । विकसित देशहरूमा समेत पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई पूर्ण रूपमा प्रतिस्थान गर्न सकेको छैन । विद्युतीय सवारी साधन धेरै उत्पादन गर्ने चीनमा समेत त्यो हुन सकेको छैन । तर हामीले यसलाई बिस्तारै परिर्वतन गर्नुपर्छ । सरकारले त्यसलाई पोजेटिभ रूपमा लिएरको छ । अटो व्यवसायीहरू पनि सकारात्मक छौँ । अहिलेको नीति तथा कार्यक्रममा सरकारले विद्युतीय सवारीलाई प्राथामिकता राखेर बोलेको छ ।  गत वर्षदेखि सरकारले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको बुझिएको छ । नाडा पनि सकारात्मक छ । नेपालका लागि विद्युतीय सवारी साधन झनै आवश्यक हो ।

विद्युतीय सवारी प्राथमिकता दिँदै गर्दा सरकारले कस्तो नीति बनाउनु आवश्यक छ ?
सरकारले विद्युतीय सवारीका लागि नीति बनाउँदा दीर्घकालीन नीति बनाउनुपर्छ । पछिल्लो तीन वर्षमा जसरी विभिन्न नीति बने त्यस्तो बनाउनु भएन । सरकार र अर्थमन्त्री परिवर्तन हुँदैमा विद्युतीय सवारीमा कर बढाउने र कर छुट दिने विभिन्न नीति बनेका छन् । त्यस्तो हुँदा व्यवसायीहरूका लागि राम्रो भएन । त्यस्तो नभएर अब सरकारले निश्चित समयका लागि नीति बनाउनु आवश्यक छ । नेपालमा विद्युतीय सवारी सञ्चालन गर्न सहज छ । अझ उत्पादनमा समेत सहज रहेको छ । उत्पादन गर्ने भए त्यही अनुसारको सहुलियत दिने नीति सरकारले बनाउनुप¥यो । भारत, चीन लगायतका देशमा विद्युत् सवारी साधन उत्पादकलाई सहुलियत दिएका छन् । त्यो खालको नीति नेपालले पनि बनाओस् । तर अहिले विगतको भन्दा ५०० प्रतिशतले विद्युतीय सवारीको माग बढेको छ । तर व्यवसायीहरूले आपूर्ति गर्न सकेका छैनौँ ।

नाडाले सवारी साधन आयातमा सहुलियत र कर छुट मात्रै माग्ने काम गर्ने तर अन्य काम गर्न नसकेको भन्ने आरोप लग्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
यो बाहिरको भ्रम मात्रै हो । मैले सबै ठाउँमा भन्ने गरेको छु, बाहिरी मुलुकका मान्छे आउँदा सबैभन्दा पहिला हेर्ने भनेको नेपालका सवारी साधन र सडक हो । कुनै पनि देशको विकास कस्तो छ भनेर हेर्दा त्यहाँको सडक र सवारी साधनले नै देखाउने गर्दछ । नेपालको सडक पूर्वाधार निर्माणको मोडालिटीमा प्रत्यक्ष योगदान रहेको छ । अटो क्षेत्रमा मात्रै १ लाखभन्दा बढी प्रत्यक्ष रोजगार दिइरहेका छौँ । अटो क्षेत्रमा निजी क्षेत्रको साढे ३ खर्ब लगानी रहेको छ । अटो क्षेत्रले मात्रै राज्यलाई २५ प्रतिशत राजस्व बुझाउने गरेका छौँ । अटो क्षेत्रले माग मात्रै ग¥यो, राज्यलाई योगदान केही छैन भन्न मिल्दैन । अटो क्षेत्रबाट सरकारले राजस्व नउठ्ने हो भने कर्मचारी पाल्नसमेत पुग्दैन । नाडाले सडक सुधार दस्तुर उठाउन सरकारलाई सुझाव दिएर अहिले त्यहाँबाट अर्बाैं राजस्व उठ्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप