शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै : राजेन्द्र लिङ्देन

शुक्रबार, १३ जेठ २०७९, १७ : ५३
शुक्रबार, १३ जेठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङ्देनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर समेत गरे । उनले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताए ।

सांसद लिङ्देनले भने, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्षयता हेरिरहेको छु । पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूला–ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा ?’

उनले थप प्रश्न गरे, ‘अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनुपर्छ कि पर्दैन ? प्राथमिकताहरु कसरी निर्धारण हुन्छन् ? हाम्रो देशको प्राथमिकता के हो ? हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ हो ? शैक्षिक सत्र शुरु भइसक्यो, पाठ्यपुस्तक विद्यालयमा पुगेको छैन । अर्को साल विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता खै ? त्यतातिर त गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रममा टिपाएको छ ।’
सांसद लिङ्देनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप