बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा, बजेट पास गरेलगत्तै मुख्यमन्त्रीमा बानियाँ

सरकार परिवर्तन र सहमतिका बारेमा जानकारी छैन : मन्त्री खनाल
शुक्रबार, १३ जेठ २०७९, १७ : ३१
शुक्रबार, १३ जेठ २०७९

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गरेलगत्तै प्रदेश सरकार परिवर्तन हुने चर्चा सुरु भएको हो । यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमतिअनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । उक्त सहमतिअनुसार आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ ।

सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश सरकारको नेतृत्व गर्ने काँग्रेसका नेताहरुको भनाइ छ । गत कात्तिक ११ गते नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै सत्ता गठबन्धनका दलहरुले प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएका थिए । उनले गत भदौ २ गते नेकपा एमाले विभाजनपछि अल्पमतमा परेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए ।

शाक्यले गत कात्तिक १० गते सदनबाट विश्वासको मत लिने तयारी गरे पनि सो मत नपाउने भएपछि संसदबाटै राजीनामाको घोषणा गरेर सरकार छाडेकी थिइन् । सोही दिन गठबन्धनका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीको समर्थनमा एकीकृत समाजवादीका पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए भने कात्तिक ११ मा शपथ ग्रहण गरेका थिए ।

सो समयमा प्रदेश सरकारको नेतृत्वमा गठबन्धनका ३ ठुला दलहरु माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीले दाबी गरेका थिए । उक्त विषयमा भागबण्डा गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व नपाउने भएको थियो भने काँग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए ।

बागमती प्रदेशका एक मन्त्रीले सो सहमतिको बारेमा प्रष्ट पार्दै भने, ‘बागमती प्रदेशमा गठबन्धनको सरकार निर्माण गर्दा काँग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । आगामी वर्षको बजेटपछि सरकारको नेतृत्व काँग्रेसले गर्छ । एकीकृत समाजवादीले सरकार छोड्नु पर्छ ।’

उनले प्रदेश सरकारको नेतृत्वका काँग्रेसका बानियाँ आएपछि बजेट कार्यान्वयनमा जाने दाबीसमेत गरे । ‘हामी बजेट ल्याउने अवधिसम्म यही सरकारलाई निरन्तरता दिन्छौं, त्यसपछि भने पहिलेको सम्झौता कार्यान्वयन हुन्छ,’ उनले भने, ‘यद्यपि सरकार परिवर्तनको बारेमा खासै छलफल भने भएको छैन ।’

उनले सरकार परिवर्तनमा प्रदेशमात्र नभइ पार्टीका शीर्ष नेताहरु पनि जोडिएका कारण यसको निर्णय केन्द्रले गर्न सक्ने बताए ।

सहमति अनुसार नै सरकारको नेतृत्व पाउनुपर्छ : काँग्रेस

यस अघिको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने काँग्रेसको माग छ । विगतमा गठबन्धनको सरकारमा काँग्रेसले एकीकृत समाजवादीलाई आधा समय सरकारको नेतृत्व गर्ने अवसर दिएको र अब काँग्रेसको पालो आएकाले नेतृत्व पाउनुपर्ने काँग्रेसका एक सांसदले बताए ।

उनले यस अघि पनि दलीय सहमति कै आधारमा सरकार गठन भएकाले सहमति कार्यान्वयन गर्नु पर्ने बताए । उनका अनुसार काँग्रेसले सरकारको नेतृत्वमा आफ्नो दाबी पहिलेदेखि नै गर्दै आएका र बजेटलगत्तै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाबी गरे ।

सरकार परिवर्तनका लागि काँग्रेसले केही समयपछि छलफल सुरु गर्ने उनको भनाइ छ ।

‘काँग्रेसले सहमति कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यो स्वाभाविक पनि हो । आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो,’ उनले भने, ‘अब केही समयमै त्यसको छलफल सुरु गर्छाैं र सरकार गठन गर्छौं ।’

उक्त सहमतिको निर्णय गर्ने अधिकार दलको नेताको भएकाले केन्द्रको सल्लाह अनुसार बागमती प्रदेशमा काँग्रेसको सरकार बन्ने उनको भनाइ छ ।

सरकार परिवर्तन र सहमतिका बारेमा जानकारी छैन : मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनालले सरकार परिवर्तन र आधा–आधा कार्यकाल सरकारको नेतृत्वको बारेमा कुनै जानकारी नभएको बताए ।

उनले रातोपाटीसँग कुरा गर्दै उक्त सम्झौता दलका नेताहरु बीचमात्र भएको हुन सक्ने बताए । उनले पार्टी र मन्त्रिपरिषद्मा सो सहमति र सरकार परिवर्तनका बारेमा कुनै जानकारी तथा छलफल नभएको बताए ।

बागमती प्रदेश सरकार एकीकृत समाजवादी पार्टीको नेतृत्वमा परिवर्तन नभइ निरन्तर चल्ने उनले बताए । ‘सरकार परिवर्तन र आधा–आधा कार्यकाल नेतृत्व गर्ने विषयमा कुनै छलफल वा सहमति भएको मलाई थाहा छैन । दलका नेताहरुबीच मात्र सहमति भएको भए अर्को कुरा हो । तर, आधिकारिक रुपमा त्यस विषयमा पार्टी र मन्त्रिपरिषद्मा कुनै जानकारी छैन । एकीकृत समाजवादीको नेतृत्वमा सरकार निरन्तर चल्छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेको नेतृत्वको गठबन्धनको सरकार सहज रुपमा अघि बढिरहेकाले परिवर्तन हुन सक्ने सम्भावना र अवस्था नरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप