शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए नागरिकता र भुपू गोर्खाको माग चाँडै टुंगो लाग्छ- मन्त्री पौडेल

शुक्रबार, १३ जेठ २०७९, १७ : १४
शुक्रबार, १३ जेठ २०७९

 बेलायत भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  गैरआवासीय नेपाली नागरिकता र  भुपू गोर्खाहरुको मागको चाँडै टुंगो लाग्ने बताएका छन् । मन्त्री पौडेल एजुकेसन वर्ल्ड फोरमले लण्डनमा आयोजना गरेको एक अन्तरराष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आएका हुन् । ‘बेलायत बसाइका क्रममा गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, भूपू गोर्खा लगायतका व्याक्तिहरुसँग पनि भेटघाट र अन्तरक्रियामा पनि पौडेल व्यस्त रहे ।

१२० देशका प्रतिनिधि सहभागी सो कार्यक्रमबाट गुणस्तरीय शिक्षा र कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, समस्या र समाधानबारे छलफल भएको पौडेलले बताए ।

 ‘बेलायत भ्रमणका क्रममा विभिन्न देशका शिक्षा मन्त्रीहरुसँग भेटघाट गर्ने अवसर मिल्यो, शिक्षण विधि र गुणस्तरीय शिक्षाबारे धेरै कुरा आदानप्रदान भएको छ । शिक्षा क्षेत्रमा लगानी, सहयोग र सम्भावनाबारे प्रस्ताव राख्ने अवसर प्राप्त भयो, यो निकै सकारात्मक कुरा हो’ मन्त्री पौडेलले भने । अन्य देशका शिक्षा सम्बन्धि नीतिहरु कसरी अघि बढेका रहेछन् भन्ने विषयमा अध्ययन र छलफल गर्ने अवसर मिलेको बताउँदै मन्त्री पौडेलले यसलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा आफ्नो तर्फबाट पहल गर्ने बताए ।

‘गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, भुपू गोर्खा लगायत नेपाली र नेपालीमूलका मानिसहरुसँग पनि भेटघाट र अन्तरक्रिया गर्ने अवसर मिल्यो, नेपालको प्रगति, बेलायत नेपाल सम्बन्ध र बेलायतवासी नेपालीका हक हित र अधिकार सम्बन्धि धेरै कुरा भएका छन्’, उनले भने ‘यसबाट नेपाल र नेपाली जनताले धेरै कुरा सिक्ने अवसर पाउनेछन् नेपाल फर्किएपछि सम्बन्धित क्षेत्रबाट कार्यान्वयनको पहल गर्नेछु ।

’गैरआवासीय नेपाली संघ बेलायतले राखेको पाँच बुँदे ज्ञापनपत्रबारे बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आफूले कुरा गरिसकेको र नेपाल फर्किएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने पौडेलले बताए । ‘गैर आवासीय नेपालीहरुले राखेका विभिन्न मागमध्ये करेन्सी सम्बन्धमा करिब करिब टुंगो लागिसकेको छ, नागरिकता सम्बन्धि विषयमा यसै सदनबाट टुंगो लाग्ने गरी प्रक्रिया अगाडि बढेको छ’, उनले भने । भुपू गोर्खा वार्ताबारे रुस र युक्रेन युद्धका कारण वार्ता समिति गठनमा ढिलाइ भइरहेको र यसलाई छिटो भन्दा छिटो सहमतिका आधारमा टुंगो लगाउन पहल गर्ने उनले बताए ।

भुपू गोर्खा र गैर आवासीय नेपाली संघसँगको भेटघाटले धेरै कुरा प्रत्यक्ष रुपमा जान्ने अवसर मिलेको र यसबाट आफूलाई पहल गर्न थप सहज भएको पौडेलले बताए । मन्त्री पौडेल आफ्नो साताव्यापी भ्रमण पूरा गरि आज शुक्रबार साँझ नेपाल फर्किँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप