बागमती प्रदेशसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । शुक्रबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत २ वटा बैठकहरू भएको थियो । पहिलो बैठकमा दलहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो धारणा राखेका थिए ।
बैठकमा सत्तारुढ दलका तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रमुख प्रतिपक्ष दलबाट नेकपा एमालेकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्र संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनिया, विवेकशील साझा पार्टीका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाई र राप्रपाकी रीना गुरुङले सम्बोधन गरेका थिए ।
प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश गरिएको छ । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेश मार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका थिए ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने गरे । त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरिएको छ । सदनमा पेश भएका अध्यादेशहरू सदनबाट पास गर्नु पर्ने व्यवस्था रहेको छ ।
त्यस्तै प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता (प्रि बजेट) पेश गरेका थिए । मन्त्री जम्मकट्टेलले १६ पृष्ठको प्रि बजेट प्रस्ताव सदनमा पेश गरको थिए ।
सदनमा पेश भएको सो प्रस्तावमाथि भोलि बस्ने बैठकमा छलफल हुने जनाइएको छ । प्रदेश सरकारले आगामी जेठ १६ गते नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरेको छ ।