शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्याे : मेटमणि चाैधरी

शुक्रबार, १३ जेठ २०७९, १३ : ५१
शुक्रबार, १३ जेठ २०७९

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेकाे चाैधरीकाे गुनासो छ । 

राताेपाटीसँगकाे कुराकानीमा नेता चाैधरीले भने, ‘ राजनीतिमा अनुशासन देखिएन । पाँच दलीय गठबन्धनबाटै एकता गर्ने, माेर्चा बनाउने भन्ने कुरा थियाे । तर माओवादीका र काँग्रेसका साथीहरू नै  कतिपय ठाउँमा एमालेसँग मिलिदिनु भयाे । आचरण र अनुशासनका कुरालाई भुलेर, आफ्नाे साइज बढाउने हाेडमा अरु पार्टीसँग मिल्नु भयाे।' 

चाैधरीले थपे, 'सुतिसकेकाे काँग्रेसलाई जवरजस्ती प्रधानमन्त्री बनाइयाे, यसअर्थमा नेकपा एकीकृत समाजवादीमाथि दलहरू बढी उदार देखिनुपर्ने हाे, त्याे देखिएन । उल्टै हाम्राे पार्टीलाई कसरी एकदमै डाउन गर्ने मनाेविज्ञानका साथ साथीहरू अघि बढ्नुभयाे । सँगै चुनाव लड्दा आफू जित्ने र अर्काेलाई हराउने याे बेठीक कुरा हाे । काँग्रेसका साथीहरूले अलि बढी हार्दिकता,उदारता देखाउन सक्नुभएन।' 

यस्तै नेता चाैधरीले बाम एकता र त्यसमा पनि एमालेसँगकाे एकता र तालमेलका बारेमा पनि आफ्नाे धारणा राखेका छन् । उनले भने, 'राजनीतिमा सबै सम्भावना कायमै रहन्छन् । तर, म ग्यारेन्टीका साथ भन्छु, नेकपा एमाले र हाम्रो बीचमा संघको निर्वाचनअघि एकता हुँदैन । अर्को कुरा जसरी नेकपा एमालेले जनतामाथि, संविधान र कानुनमाथि घात गरेको छ, त्यसको सकारात्मक ढंगबाट कहिल्यै पनि प्रमाणित गर्न सकिँदैन।' 

नेकपा एमालेलाई साइजमा ल्याउने भन्दै निर्वाचन अघिसम्म चुनावी सभामा भाषण गर्दै हिँड्ने चाैधरीले सो पार्टी अझै साइजमा आइनसकेकाे बताए । उनले एमाले साइजमा आउने समय आउन बाँकी नै रहेकाे पनि दावी गरे ।

'अझै पनि एमालेलाई अझै सजाय पुगेकै छैन, एमाले दण्डित त्यो बेला हुन्छ, जुन बेला संघको निर्वाचन पछिको परिणाम आउनेछ । किनकी एमालेले संसदीय व्यवस्थामाथि तरबार झुण्ड्याएको हो र संसदीय निर्वाचनमै एमालेले दण्ड भोग्नुपर्छ', उनले भने। 

कुराकानीका क्रममा नेता चाैधरीले आफ्नो पार्टीको मतबाट माओवादी र काँग्रेसले ठुलो उपलब्धि हासिल गरेको भन्दै यसबारेमा गम्भीर छलफल र समीक्षाबाट पार्टी अघि बढ्ने बताए ।
उनीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप