बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना

शुक्रबार, १३ जेठ २०७९, १३ : ४४
शुक्रबार, १३ जेठ २०७९

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । शुक्रबारदेखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन् । 

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।  क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा प्रकाश पारेका थिए ।  उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । 

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र साङ्ग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर÷ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानल र विकेट नेपालमार्फत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप