बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धन सफल कि असफल  ?

काँग्रेसलाई ‘हाइसन्चो’ समाजवादी–माओवादीका नेता भन्छन् : ‘काँग्रेसले धुर्त्याइँ गर्‍यो’
शुक्रबार, १३ जेठ २०७९, ११ : ३७
शुक्रबार, १३ जेठ २०७९

 स्थानीय तह निर्वाचन २०७९ को परिणामले कर्णालीका दलहरूको शक्ति सन्तुलनमा परिवर्तन आएको छ । २०७४ मा तेस्रो राजनीतिक दलका रुपमा रहेको नेपाली काँग्रेस यसपटक पहिलो शक्तिका रुपमा उदाएको छ । त्यस्तै २०७४ मा पहिलो पार्टी बनेको एमाले तेस्रो स्थानमा खुम्चिन पुगेको छ । यो निर्वाचन परिणामले माओवादी केन्द्रलाई थोरै घाटा लागेपनि ‘पोजिसन’ मा भने विगतमा जस्तै दोस्रो स्थान कायम राखेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ३२ वटा पालिकामा काँग्रेस, २३ मा माओवादी र १५ मा एमालेले जित निकालेका छन् ।

एकीकृत समाजवादीले चार र स्वतन्त्र पाँच जनाले जितेका छन् । एमाले पराजित हुनुको कारण पार्टी फुटको असर र पार्टीभित्रकै अन्तर्घात भएको एमाले नेताहरुले बताएका छन् । यद्यपी गठबन्धनभित्र भने काँग्रेसले अन्तर्घात गरिरहेको माओवादी–समाजवादीको आरोप छ । गठबन्धनले काँग्रेसलाई फलिफाप भएपनि माओवादीले भने दुईवटा पालिका गुमाएको छ ।

जबकी माओवादी एक्लैले ३९ वटा पालिकामा वर्चश्व कायम राख्ने ल्याकत राख्थ्यो । एमाले विभाजन पछि माओवादी कर्णालीमा पहिलो शक्ति मान्दै आएको थियो । गठबन्धन गरेर जाने कुरामा माओवादीले पुर्ण रुपमा पालना गरेपनि काँग्रेसले इमान्दारीता नदेखाएको माओवादीको निष्कर्ष छ । माओवादीकी प्रदेश अध्यक्ष विमला केसी तालमेल भएको ठाउँमा पनि काँग्रेसले माओवादीलाई भोट नदिएको र माओवादीले काँग्रेसलाई दिनुपर्ने भोट दिएको बताउँछिन् । गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले वैशाख ११ गते कर्णालीका ८ वटा जिल्लामा भागवण्डाको टुङ्गो लगाएको थियो ।

सुर्खेतमा काँग्रेस र रुकुम पश्चिममा माओवादीको आ–आफ्नै अडानका कारण गठबन्धन हुन सकेको थिएन । यी जिल्लामा गठबन्धनका लागि केन्द्रीय सर्कुलर नभएपनि दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने तर गठबन्धन भन्दा बाहिर तालमेल गर्न नपाइने बताएका थिए ।

यद्यपी स्थानीयस्तरमा दलहरुले गठबन्धनको निर्णयलाई लत्याउँदै अन्य दलहरुसँग पनि तालमेल गरेका थिए । सुर्खेतमा नेपाली काँग्रेसले पार्टीभित्रैबाट सुरक्षित नहुनेदेखेपछि अन्तिममा (वैशाख १६)  आएर तालमेल गरेको थियो । रुकुम पश्चिममा भने काँग्रेसले गठबन्धनको निर्णय विपरित एमालेसँग तालमेल गरेको थियो । जसको बलमा दुई वटा पालिकामा काँग्रेसले जित्यो । सुर्खेतमा काँग्रेसले आफ्नै कारण घाटा ब्यहोनुप-यो ।

अन्य जिल्लाहरुमा पनि कुनै कुनै ठाउँमा गठबन्धन कायम रहेपनि अधिकांश ठाउँमा गठबन्धन कायम रहन सकेन् । सुर्खेतमा केही रुपमा घाटा लागेपनि प्रदेशमा काँग्रेसलाई पहिलो शक्ति बन्न पाएकोमा ‘हाइसन्चो’ नै छ । तर समाजवादी र माओवादीका नेताहरु भने त्यसको निर्मम समीक्षा हुनुपर्ने बताउँछन् । अर्कोथरी नेताहरु स्थानीय स्तरमा तालमेल नै नभएकाले यसलाई गठबन्धन भन्न नहुने समेत तर्क गर्छन् ।

काँग्रेस गठबन्धन विपरीत गयो, समीक्षा हुनुपर्छ : माओवादी

माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्ल गठबन्धन दलभित्रको ठुलो पार्टी मानिएको काँग्रेसको इमान्दारीता नदेखाएकाले त्यसको समीक्षा स्वरुप मात्र आगामी प्रदेश र संघको चुनावमा तालमेल गरेर जानुपर्ने तर्क गर्छन् ।

उनले भने,‘कर्णालीमा बैठक बस्दा, पालिकाहरुको भागवण्डा गर्दापनि काँग्रेसको इच्छा देखाएकै थिएन । गठबन्धन सफल भयो कर्णालीमा भनेर भन्न सकिदैन । काँग्रेसले धुर्त्याइँ गर्‍यो ।’

उनले काँग्रेसभित्रको आन्तरिक किचलोले गठबन्धनलाई प्रभाव पारेको बताए । ‘काँग्रेसभित्रको टुटफुटको कुराले समस्या भयो,’ उनी भन्छन्, ‘संस्थापन समूहले गठबन्धन मान्ने तर कोइराला समुहले गठबन्धन नमान्ने रणनीति बुन्यो । अर्को कुरा गठबन्धन भएको ठाउँमा पनि काँग्रेसका उम्मेदवारलाई माओवादीले भोट दिने तर माओवादीका उम्मेदवारलाई काँग्रेसले भोट नदिएको पाइयो ।’ उदाहरणका लागि वीरेन्द्रनगरलाई नै लिन सकिने माओवादी नेताहरुको भनाइ छ । यहाँ काँग्रेसको आन्तरिक कारणले न काँग्रेसले नै जित्नसक्यो, न काँग्रेसको अर्को समुहले माओवादीका उपप्रमुखका उम्मेदवारलाई भोट नै दियो ।

मल्ल काँग्रेसको धुर्त्याइँको विषयमा गम्भीर समीक्षा हुनपर्ने बताउँछन् । साथै उनी उम्मेदवार चयनमा पनि समस्या भएकाले माओवादीको केही सीट गुमेको बताउँछन् ।

‘काँग्रेसका कारण पाउनु पर्ने सीट न हामीले पायौं न काँग्रेसले पायो, उनी भन्छन्,‘त्यो सीट एमालेले पायो । त्यो रेकर्ड हामीसँग छ ।’ यद्यपी उनी गठबन्धनको सूत्रधार दल माओवादी भएकाले गठबन्धन कायम रहनुपर्ने तर्क राख्छन् । स्थानीय चुनावको जस्तो गठबन्धनको औचित्य नभएको उनको कथन छ । केन्द्रीय गठबन्धनको सूत्रले निर्देशन गरेका सबै सूत्र माओवादी पार्टीले पालना गरेको मल्लले दाबी गरे । कर्णालीमा माओवादी पहिलो शक्ति हुनुपर्ने हो,’ उनले भने,‘ हामीले गठबन्धनको केन्द्रीय सर्कुलरलाई निर्मम रुपमा समिक्षा होस् भन्ने चाहना पनि हो । हामीले पार्टी हेडक्वाटरलाई पनि भनेका छौं ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्लाका इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)गठबन्धनको मुल उद्देश्य भनेको प्रतिगमनलाई परास्त गर्ने भएकाले अहिले देखिएका त्रुटीहरुलाई सच्याउँदै संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउँछन् ।

‘हाम्रो पार्टीले कर्णालीमा जुन अपेक्षा गरेको थियो । त्यो हुन सकेन् । तथापि आफ्नो विरासतलाई केही रुपमा जोगाउन सफल भएको छ । आगामी संघ र प्रदेशको चुनावा पनि गठबन्धन हुनुपर्छ र प्रतिगमनलाई परास्त गर्नुपर्छ भन्ने हो,’मल्लको भनाइ छ ।

समाजवादीका नेता भन्छन्–‘काँग्रेसको अहम्ले २० प्रतिशत पनि गठबन्धन भएन’

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापा कर्णालीमा गठबन्धन सफल नभएको बताउँछन् । पालिकाहरुमा गठबन्धन खासै गतिलो भएन । स्थानीय तहमा मान्छेहरु धेरै महत्वाकांक्षी हुन्छन् । र, सबैलाई नियन्त्रणमा लिन पनि सकिँदैन,’ उनले भने, ‘काँग्रेसको अहंमता र दम्भले गर्दा गठबन्धन प्रभावकारी हुन सकेन । काँग्रेसको कारणले अलिकति हामीमाथि बढी प्रहार भयो ।’

थापा चारवटा पालिकामा जितेकोमा सन्तुष्ट छन् । उनले महानगर र उपमहानगरमा गठबन्धन भएपनि गाउँ तथा नगरमा एक्ला एक्लै लडेको भन्दा उपयुक्त हुने तर्क गरे । २० प्रतिशत पनि गठबन्धन कायम भएन,’उनले भने,‘ अहिले खाली पाँच दलीय गठबन्धन फलाना ठाउँमा हा-यो, जित्यो भनिएको छ । त्यो हावादारी कुरा हो । गठबन्धन नै भएको छैन् ।  अर्को कुरा गठबन्धन गर्ने तरिका पनि मिलेन । यदि गठबन्धन नै गर्नुथियो भने चैत्र महिनामै सबै खाकाहरू तयार पारिसक्नुपर्ने हो ।’

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य देवी ओली राष्ट्रियस्तरमा भए अनुसारको  कर्णालीमा हुन नसकेको बताउँछिन् ।  गठबन्धनमा इमान्दारीता कायम भएन् । गठबन्धन भनेको संविधान र संघीयतामाथि आएको खतरा बचाउनका लागि भएको हो,’ उनी भन्छिन्,‘केही समय अझै खतरा भइरहने भएकाले पनि गठबन्धन कायम हुनुपर्छ भन्ने हो । तर अहिले जुन तरिकाले गठबन्धन भयो त्यसको औचित्य छैन । गठबन्धन भित्रका दलहरुले गम्भीरता पूर्वक इमान्दारीता देखाएर अघि बढ्नुपर्छ ।’

पहिलो भएकोमा काँग्रेस नेता खुसी

काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाही पहिलो दल बनेकोमा खुसी छन् । उनी गठबन्धनभित्र अन्य दललाई घात नगरको दाबी समेत गर्छन् ।  काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाही पनि गठबन्धन भएको ठाउँमा इमान्दारीता कायम रहेको दाबी गर्छन् ।

‘अंकगणित केही तलमाथि हुनु स्वभाविक हो । यसबाट आएको उपलब्धिलाई बचाएर आउने निर्वाचनमा मजबुत बनाएर अघि बढ्नका लागि टेवा पुग्छ’, उनले भने,‘अन्य दलहरुले भनेजस्तो छैन ।  संविधान बचाउने कुरामा हामी एक ठाउँमा आएका थियौं । अझै पनि संविधानमाथिको खतरा कायम रहेकाले गठबन्धन कायम हुनुपर्छ भन्ने हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप