शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घनश्याम र विष्णुको क्षेत्रमा बालकृष्णका भाइको जीत

तिलोत्तमाका निर्वाचित प्रमुखको प्रतिबद्धता : जनसेवक भएर काम गर्छु
शुक्रबार, १३ जेठ २०७९, १० : ५८
शुक्रबार, १३ जेठ २०७९

गत राति अबेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुखमा निर्वाचित रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने बताएका छन् । एमालेका मोहन चापागाईलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएपछि रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खाँणले आफ्ना एजेन्डालाई मतदाताले सदर गरेको र ती एजेण्डा लागू गर्नका लागि आफू नगरवासीको सेवक भएर काम गर्ने बताए ।

उनले तिलोत्तमा नगरपालिकालाई देशमै उत्कृष्ट, भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धतालाई सबैको साथ र सहयोग लिएर काम गर्ने बताए । नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सभापति समेत रहेका खाँणले शासकको रूपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

निर्वाचन कार्यालयका अनुसार  खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी एमाले उम्मेदवार चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् त्यस्तै उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे । तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा विसं २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । तिलोत्तमामा काँग्रेस र माओवादीको तालमेल थियो ।

तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाअध्यक्षहरू :
वडा नं १ फर्सुराम गिरी,  एमाले
वडा नं २ डिलबहादुर भट्टराई, काँग्रेस
वडा नं ३ कल्याण पौडेल, काँग्रेस 
वडा नं ४ हरिबहादुर क्षेत्री,  एमाले
वडा नं ५ रमेश डुम्रे, काँग्रेस
वडा नं ६ गणेश पाठक, काँग्रेस
वडा नं ७ देवी पंगेनी,  एमाले
वडा नं ८ कृष्ण पौडेल,  एमाले
वडा नं ९ ध्रुव न्यौपाने, नेपाली काँग्रेस
वडा नं १० गोपाल घिमिरे, एमाले
वडा नं ११ विष्णुबहादुर बराल, एमाले
वडा नं १२ सहदेव थारु,  एमाले                                                  
वडा नं १३ नारायण ढकाल, काँग्रेस 
वडा नं १४ असविन पौडेल, काँग्रेस
वडा नं १५ खेमराज गुरुङ,  एमाले
वडा नं १६ झविलाल भुसाल, काँग्रेस
वडा नं १७ दानबहादुर चौधरी, काँग्रेस

तिलोत्तमा नगर प्रमुखमा विजयी रामकृष्ण खाँण को हुन् ?

लुम्बिनी  प्रदेशका सबै ठाउँको नजिता आए पनि अन्तिम रुपन्देहीको तिलोत्तमा  खाँणले जितेपछि उनको बारेमा चासो राख्नेहरू धेरै रहेका छन् । विसं २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खाँण नेपाली काँग्रेस रुपन्देहीका हालका सभापति समेत हुन्  । नेता खाँणका बुवाआमा उनी नजन्मँदै विसं २०१७ सालमा स्याङ्जा बिसिङकोट (हालको चापाकोट) बाट रुपन्देही झरेको हो ।

उनी गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए । रामकृष्ण २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत विरोधी आन्दोलनमा लागेका थिए ।

विसं २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु इकाईको कोषाध्यक्ष भएका थिए । विसं २०५४ सालमा उनी काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । त्यसपछि उनी बिस २०६६ सालमा जिल्ला सचिव भए । त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मङ्सिरमा सम्पन्न काँग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए ।

२०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियतापूर्वक लागेका थिए । २०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए । उनी काँग्रेसजनका माझ स्पष्ट वक्ताको रूपमा परिचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप