बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन साहसहित स्वतन्त्रबाट जितेका मेयरका यस्ता छन् अवसर र चुनौती

शुक्रबार, १३ जेठ २०७९, १० : ५६
शुक्रबार, १३ जेठ २०७९

स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यो पटक स्वतन्त्र उम्मेदवारहरूको लहर आएको छ । देशको राजधानीमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् ।

यस्तै, धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा पनि मनोजकुमार साह सुडी स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै अन्य केही नगर तथा गाउँपालिका र वडाहरूमा पनि स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । स्वतन्त्र रूपमा चुनाव जितेर स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरुले कसरी काम गर्न सक्लान् भनेर राजनीतिक दलका नेता तथा अन्य विभिन्न पक्षबाट प्रश्न उठ्न थालेको छ ।

राजनीतिक दलका नेताहरूले स्वतन्त्र रूपमा नगरप्रमुख वा गाउँपालिका अध्यक्ष जित्नेहरूलाई काम गर्न सहज नहुने बताइरहेका छन् । राजनीतिक दल बाहिरबाट चुनाव जित्नेहरूसँग संगठन नहुने, कार्यकर्ता नहुने, वडाध्यक्षहरूको सहयोग नहुने, कर्मचारीहरू पनि राजनीतिक दलसँग सम्बन्धित ट्रेड युनियनमा रहने भएकाले काममा प्रभाव पर्न सक्ने तर्क उनीहरुले गरिरहेका छन् ।

के स्वतन्त्र रूपमा चुनाव लडेर विजयी भएका जनप्रतिनिधिलाई काम गर्न सजिलो छैन ? काठमाडौँ महानगरपालिका प्रमुखमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन साहका लागि चुनौती र सम्भावनाहरू के के छन् । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यको विश्लेषण :

स्वतन्त्रबाट जितेर काम गर्न सक्दैन भन्नु गैर जिम्मेवार कुरा

स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भनेर कुनै दलको जिम्मेवार नेताले भन्छन् भने त्यो अर्को गैर जिम्मेवार कुरा हो । यसलाई मैले कसरी बुझ्छु भने अहिले जसले स्वतन्त्र रूपमा चुनाव जितेका छन्, ती पार्टीभन्दा बाहिरबाट आएका क्षमतावान् व्यक्ति हुन् ।

अहिले ठुला दलका नेताले स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भन्नु उनीहरुले केही राम्रो काम गर्न प्रयास गर्नेछन् तर हामी त्यसलाई फेल गरिदिनेछौँ भन्नुसरह हो । बरु उहाँहरूले के भन्न सक्नुपर्थ्यो भने ‘अहिले जितेर आएका मेयरहरूले चुनाव जित्न यति लगानी परेको छ, यहाँ भ्रष्टाचार गर्छु भन्लान्, गलत काम गर्न हामी दिँदैनौँ’ भन्नेसम्म ठिक हुन्थ्यो ।

सिधै काम नै गर्न सक्नुहुन्न भनिदिने ? ल हेर्नुस् त ! कसरी भन्न सकेको होला ? उहाँहरूले ‘असल काम गर्नेलाई त हाम्रो सहयोग भइहाल्छ, उहाँहरूलाई पार्टीको कुनै बन्धन छैन, स्वेच्छाचारी हुनुहुन्छ, स्वेच्छाचारी भएर बदमासी गर्न थाल्नुभयो भने त हामी काम रोक्छौँ’ पो भन्नुपर्ने हो ।

त्यसैले वास्तविकता के हो भने उहाँहरूको आफ्नै भिजन के छ ? कति सान्दर्भिक योजनाहरू अघि सार्नुहुन्छ ? कस्ता कार्यक्रमहरू ल्याउनुहुन्छ ? अहिले नै भन्न सकिने छैन । चुनावी घोषणापत्रले मात्रै ती कुरा आउँदैनन् । यी त पछि देखिने कुरा भए । तर एउटा कुरा के हो भने उहाँहरूले साँच्चै दुई चार वटामात्रै जनताको भावनासँगै जनताले चाहेजस्तो एजेण्डामा काम गर्ने हुनुभयो भने र अहिलेका ठुला राजनीतिक पार्टीहरुविरुद्ध त्यसैको जगमा आन्दोलन उठ्छ ।

स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भन्ने ठुला दलले मनोविज्ञान बनाउनुभएको छ भने त्यो उहाँहरूका लागि ठुलो घातक हुन सक्छ । त्यसकारण मलाई लाग्दैन कि यदि अहिलेका स्वतन्त्र जितेका मेयरहरू एजेण्डा सहित आउनुभयो, विकासका कुरामा होस् कि सामाजिक सेवा प्रवाहमा होस् कि, प्राथमिक सेवा प्रवाहमा सुधार ल्याउने किसिमका साँच्चिकै विश्वसनीयता ल्याउने गरी काम गर्न सक्नुपर्छ ।

बहुमत त ठुला दलहरूको छ, काम गर्दा खेरी ठुला दलहरूले हलो अड्काउने काम गरे भने र जनता सडकमा आउने भए भने अहिलेका ठुला दलले सोचेभन्दा खराब परिस्थिति उत्पन्न हुन सक्छ । उहाँहरूले अहिले क्षणिक चुनाव हारेको झोकमा स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भनेर अभिव्यक्ति आउनु स्वाभाविक नै हो । तर भोलि कार्यान्वयनमा जाँदा असहयोग गर्ने कार्यशैली अपनाउनुभयो भने उहाँहरूकै लागि घातक हुन सक्छ ।

के के हुन सक्छन् बालेन साहका लागि अवसर र चुनौती ?

अहिले आम मानिसले बालेन साहबाट गरेको अपेक्षाजस्तो आमूल परिवर्तन पनि तुरुन्तै हुन सक्ने छैन । त्यति धेरै मात्रामा आकांक्षा राख्नु पनि सही हुँदैन । तर विद्यासुन्दर शाक्यको पालामा जुन किसिमको नैराश्य थियो, हुन त विद्यासुन्दरले सामान्य कर्मकाण्डी काम त गर्नुभएको हो । महानगरपालिकाको बजेट मुद्धति खातामा राखेर व्याज खाइरहेको खबर पनि आएको थियो ।

त्यसैले नगरपालिकामा सामान्य रूपमा गर्न सक्ने कुराहरू इमानदारितापूर्वक काम गर्दा पनि जनताको मन जित्न सकिन्छ । त्यसैले बालेन साहले काँग्रेस र एमालेका सबै वडा अध्यक्षहरू, वडा सदस्यहरूको पहिला विश्वास लिनुपर्छ । कुनै आग्रह पूर्वाग्रह बिना आउनुस्, मिलेर काम गर्नुपर्छ, मिलेर महानगरपालिका बनाउनुपर्छ भन्ने उहाँको व्यवहार पनि त्यही किसिमको देखिनुपर्छ । त्यो कुरामा पनि उहाँलाई असहयोग भयो भने त्यो बेला उहाँको पछाडि जनताहरू छन् । त्यसैले उहाँले असहिष्णुता, घमण्ड र अहङ्कार देखाउनु हुँदैन । एक नम्बरमा राजनीतिमा विनयशीलता चाहिन्छ ।

दोस्रो कुरा स्थानीय तहका कर्मचारी लोकसेवा पास गरेर आएका छैनन् । जुन जुन दलले जिते, तिनले करारमा कर्मचारी भर्ना गरेका छन् । धेरैमा दलले कर्मचारी भर्ती गरेका छन् । मेरो बिचारमा स्थानीय तहको व्यूरोक्रेसीको क्षमता अत्यन्तै कमजोर छ । चाहे व्यवस्थापकीय तहमा होस्, चाहे प्राविधिक तहमा होस्, चाहे योजनाको तहमा होस् । उहाँलाई के आवश्यक पर्छ भने कमजोर क्षमता भएको कर्मचारीतन्त्रलाई अधिकतम परिचालन गर्न सक्नुपर्छ ।

त्यो सँगसँगै उहाँले के पनि गर्न सक्नुहुन्छ भने उहाँका एजेण्डाहरु कार्यान्वयन गर्न उहाँले स्वयंसेवी धेरै विज्ञ पाउन सक्नुहुन्छ । राजधानीमा भएकोले सिकारुदेखि अनुभवीसम्मका स्वयंसेवी उहाँले पाउन सक्नुहुन्छ । उहाँले त्यस्ता व्यक्तिहरूको सहयोग लिन सक्नुहुन्छ । उहाँले ठुला संरचनात्मक परिवर्तन र नीतिगत परिवर्तन गर्न केही समय लाग्ला तर तत्काल यो व्यवस्थापकीय विधि प्रयोग गरेर जनताले तत्काल राहत महसुस गर्ने काम गर्नुपर्छ । गर्न नसक्ने कुराहरू जनताको सामु इमानदारितापूर्वक राखिदिनुपर्छ ।

जस्तो अहिले काठमाडौँमा फोहोर मैलाको समस्या छ, अहिले किन फोहोर नउठेको भनेर मैले सूचना लिँदा डम्पिङ साइटको व्यवस्था पनि संघीय सरकारले गरिदिने, डम्पिङ साइट क्षेत्रका जनताले विरोध गरेका छन् । यता कर्मचारीले फोहोर उठाउँदैनन् । समस्या कहाँ हो भन्ने कुरा पनि स्पष्ट छैन । त्यसैले बालेन साह आफैमा एउटा इन्जिनियर हो । इन्जिनियररिङ शिक्षाको खासियत के हुन्छ भने हामी गणितीय सूत्रमा काम गर्छौँ । टक टक बुझ्ने गरेर सबै कुरा जिब्रो नचपाईकन स्पष्ट रूपमा राख्ने । ‘स्ट्रेट फरवार्ड’ कुराहरू अगाडि राखिदिने र साना समस्याहरूको समाधान गर्दै जाने हो भने केही सीमाहरू हुँदा हुँदै पनि ४–६ महिनामा उहाँले आफ्ना भोटरहरूलाई सही नै निर्णय गरेका रहेछौँ है भनेर भन्न मिल्ने थुप्रै काम गर्न सक्नुहुन्छ । धेरै स्रोत साधन नभई समाधान गर्ने धेरै काम पनि छन् । अलिकति नीतिगत तहको, संरचनागत तहको परिवर्तनमा त कतिपय अवस्थामा संघीय सरकारको सहयोग चाहिन्छ, अरू पार्टीहरूको सहयोग चाहिन्छ । त्यो पनि असम्भव छैन । मैले अघि नै भनेँ, उहाँले राम्रो एजेण्डामा काम गर्न थालेमा कुनै पनि राजनीतिक पार्टीको नेता, वडाध्यक्ष वा कुनै पनि राजनीतिक दल नै अहिले बालेन साहसँग टक्कर लिन खोज्नु भनेको उसको राष्ट्रिय राजनीतिमा क्षति बेहोर्नु हो । तर राजनीतिक दलहरू बाठा छन् । अहिले बालेन साहलाई मौका छ, उहाँले केही न केही गर्न सक्नुहुन्छ जस्तो लाग्छ ।

(डा.आचार्यसँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप