सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

परम्परागत रैतीको सार्वभौम नागरिक बन्ने निर्णय

शुक्रबार, १३ जेठ २०७९, १० : ५१
शुक्रबार, १३ जेठ २०७९

काठमाडौं र धरानले परम्परागत सत्ता र राजनीतिक दलसँग विद्रोह गरेर निर्दलीय उमेदवारलाई पाँच वर्षे शासनको लाहाछाप लगाइ दियो । यसले राष्ट्रिय राजनीति तरंगित भएको छ । आफ्नो विवेक प्रयोग गरेर विगतदेखि नै राजनीतिक दल र तिनका नेतालाई गर्दै आएको विश्वास र समर्थनमा ब्रेक लगाउनु सामान्य परिघटना होइन । दलीय रजगज र सिण्डीकेट तोडेर आलोपालोको प्रथा ढालेर स्वतन्त्र उमेदवार निर्वाचित गर्दै सम्प्रभू जनताको तागत प्रदर्शन गर्दा नयाँ इतिहास कोरिएको छ । राजनीतिमा फरक खेलाडीले स्थान पाएको छ । भुइँमान्छेको इन्ट्री भएको छ ।

स्वतन्त्रहरु जित्नुको श्रेय नागरिक र सचेत मतदातालाई जान्छ, जसले दलका रैती हुन छाडेर, अन्धभक्त कार्यकर्ता बन्न नचाहेर, दलीय दाम्लोमा सधैं बाँधिन इन्कार गरे । आफ्नो स्वतन्त्र नागरिक बन्ने हैसियत प्रकट गरे । निश्चय नै नेपाली राजनीतिमा गरिएको यो एक आयामिक प्रयोग हो । यसको स्वाद नेपाली जनताले निकट भविष्यमा नै चाख्न पाउने छन् । परम्परागत किल्ला शक्ति र सामथ्र्यको ध्वाँसलाई जरा किला उखेल्ने गरी जनताले जनकारवाही चलाइ दिएर ठेगान लगाए ।

यो स्थानीय तहको निर्वाचनमा आजसम्म ३८५ जना स्वतन्त्र व्यक्तिले अनुमोदन प्राप्त गरेका छन्, जसमा १३ जना पालिका प्रमुखमा निर्वाचित भएका छन् । जनताको मन्जुरीनामा लिएर जथाभावी गर्नेलाई नामन्जुरीको सिस्नो पानी लगाए । त्यसैले जनता जनार्दन, जनता न्यायाधीश, जनता सर्वेसर्वा, जनता भगवान हुन् ।

बालेन र हर्क राईको जित चमत्कार नै हो । यो सामान्य जित होइन । बालेनलाई मिडियाको राम्रो समर्थन थियो । विभिन्न क्षेत्रका सेलिब्रेटीको साथ प्रत्यक्ष परोक्ष देखिन्थ्यो । तर हर्कले त्यो अवसर समेत पाएनन् । तथापि पैसा, हुल, ग्ल्यामर र मिडिया भन्दा निष्ठा र समर्पणले पनि पुरस्कार पाउँछ भन्ने अनौठो नमुना हो हर्कको जित । दलहरूको रजगजमा अभ्यस्त मतदाताले त्यसो गर्लान् र भन्ने धेरैलाई लागेको थियो । बालेन र हर्कको बारेमा विश्लेषक, राजनीति शास्त्रका धुरन्धर धर्म गुरु, प्रोफेसर, ज्ञानी, पण्डित लगायतको विश्लेषण, तर्क ज्योतिष र भविष्यवाणी फेल खायो । सामान्य मान्छेको मनले रुचाएका, युवाले खोजेको अभिमतले जित्यो ।

बालेन र हर्कको जित अपवादको पनि अपवाद हो । उल्का हो, अचम्म हो, आश्चर्य र चमत्कार हो । यो चमत्कारिक शक्ति बालेन र हर्कलाई कसले दियो, कसरी आयो ? वास्तवमा बालेन र हर्कले इमानदार प्रयास गरे । जनताले उनीहरूको सपना र प्रतिवद्धता पत्याए, युवाले साथ दिए । जनता विवेकी हुनु नै चमत्कार हो । छुट्टै र विशेष चमत्कारिक शक्ति र सामथ्र्यको आशिर्वाद देखिन्न, शायद छैन । यदि आशिर्वाद कसैको छ र लागेको हो भने स्वतन्त्र सार्वभौम नेपाली जनता र त्यहाँका मतदाताको लागेको छ ।

अन्य स्वतन्त्रको हैसियत फरक

पार्टी राजनीति नै गरेका र पार्टीले अन्याय गरेको कारण बागी बनेर राजनीतिमा आएका र स्वतन्त्र उम्मेदवार बनेर जितेका, विगत पनि राजनीतिक पृष्ठभूमि भएकाको हकमा यो सामान्य नै मान्न सकिन्छ । देशभर वडा तहसम्म बग्रेल्ती बागीले बाजी मरेका छन् । जस्तो जनकपुरमा काँग्रेसका बागी मनोज साहको जित, धनगढीमा गोपी हमाल लगायत देशभर जित्नेको जित सामान्य अपवाद हो ।

पार्टीका बागीको जितले सन्देश दिन्छ नै तर विशिष्ट अर्थको सन्देश स्वतन्त्र पृष्ठभूमिबाट आएका र राजनीतिक पार्टीमा नलागेका व्यक्तिको जितले संवहन गर्छ । कतिपय बागी गठबन्धनसँग छन्, जहाँ उसको पार्टीको प्रत्यक्ष सहयोग, समर्थन र पार्टी कार्यकर्ता लागेर जिताएका छन् । यस प्रकारको विजय जहाँ जसको भए पनि त्यो प्राविधिक रुपमा र चिन्हको कारण मात्र पार्टीको नभएको हो । सारमा पार्टीको विजय भन्न सकिन्छ । तसर्थ पार्टीमा विद्रोह गरेर विजय बनेकाको हैसियत बालेन र हर्कको भन्दा पृथक हो । दलीय पृष्ठभूमि भएका राजनीतिमा सदैव क्रियाशील व्यक्तिको जित नितान्त स्वतन्त्र बनेका व्यक्तिको जितसँग तुलनीय हुन्न ।

दललाई जनताले दिएको सबक 

अहिले राजनीति नयाँ चरण र मोडमा पुगेको सङ्केत देखिन्छ । कि दल सप्रिनु पर्छ कि अर्कोले देश सपार्ने जिम्मा लिन्छ । नयाँ चरण सिकाई र व्यवस्थापनको मोड यही हो । स्वतन्त्र उम्मेद्वारको जित दलीय व्यवस्थाप्रति नाकमा बजाइएको बलियो मुक्का हो । जनताको यो आक्रोश नेताप्रतिको वितृष्णाको रूपमा मात्रै प्रकट भएको छ । दल बिग्रन लागे भनेर सचेत गराएको जस्तो देखिन्छ । यदि दल सुध्रिन सकेनन् भने यो आक्रोशको झिल्को ज्वालामुखी बनेर व्यवस्था पोल्न अग्रसर नहोला भन्न सकिन्न ।

जनतामा निहित अनन्त शक्तिले नै व्यवस्था परिवर्तन भएको ताजा इतिहास र उदाहरण छन् हामीसँग । नेताको खल्तीको मान्छे मात्रै उमेद्वार बन्ने पार्टीको विधिभन्दा पर गएर उमेद्वार खोज्ने जिम्मुवाल तन्त्रविरुद्ध जनताको स्वाभाविक आक्रोश र विद्रोहले बागीलाई अनुमोदन गरेको छ । दलहरूको जसो गरे पनि हामी ठुला, हामी नै प्राधिकार प्राप्त शक्ति भन्ने भ्रम च्यात्न पनि बालेनहरूको ‘लौरो’ ठडिनु आवश्यक थियो ।

खर्चिलो चुनाव र विरासतको राजनीति  

दलको आन्तरिक चुनाव र प्रतिनिधि चुनिन समेत अथाह धनराशी खर्च गर्ने परिपाटी भएको र चुनाव निर्धनको लागि होइन भन्ने सन्देश गएको छ । यस्तो बेला बालेन र हर्कले करिब दुई लाख खर्च भएको प्रारम्भिक टिपोट गराएका छन् । उनीहरूको प्रचार शैलीले यो कुराको पुष्टि पनि गरेको छ । झन हर्कको एकल प्रयास र चुनौती सबैले देखेको सत्य हो । हर्कले अग्र्यानिक उमेद्वारको उपमा पाएका छन् भने बालेन शालीन हस्तक्षेपमा माहिर खेलाडी भनेर रुचाइएका व्यक्ति पर्छन् । यी दुई उमेद्वारको विजयले दिने सन्देश एकै छ कि चुनाव जित्न जनताको भीड होइन, विश्वास र समर्थन भए पुग्छ । विरासतमा भन्दा व्यक्तिमा निहित योग्यता जनताको रुचिमा पर्छ । धन दौलत, हैकम र विरासत मात्रै चुनाव जित्ने अचुक अश्त्र होइन, चुनाव जित्न जनताको मनमा बस्नुपर्छ ।

सहरका साझा समस्या

जनताको वाहवाही बटुल्न सामान्य कामबाट थालनी गर्नुपर्छ । प्रायः सहरहरूको समस्या र प्रकृति एकै हुन्छ । काठमाडौँ र धरानका दुवै मेयरका पनि चटके सपना र आश्वासन छैन, झिल्के नारा र नाटकीय योजना छैन । केवल व्यवस्थापनसँग सम्बन्धित योजना र कामहरू छन् । सहरमा हत्तपत्त दिसापिसाब गर्ने ठाउँ पाइन्न । फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, साइकल लेन, धुवाधुलो, फुटपाथ, खानेपानी, व्यवस्थित तरकारी बजार, सार्वजनिक यातातात, प्रतिक्षालय, सार्वजनिक पार्क छैनन् सहरमा । ऐतिहासिक सम्पदाहरूको संरक्षणसहित भ्रष्टाचार, ढिलासुस्ती र सुशासन सहरले आफ्नो सभ्यता र अस्तित्व जीवित देखाउन प्राथमिकीकरण गर्ने विषय र क्षेत्र हुन् ।

यसका अतिरिक्त केन्द्रीय सरकारसँग समन्वय गरी जनताको शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषय पनि विशेष उल्लेख्य बनाउनु पर्ने देखिन्छ । जित्न जति सजिलो छ, कार्यकाल त्यति सहज छैन । स्वतन्त्र उमेदवारका पनि बाध्यता, सीमा शक्ति र बन्देज दुवै हुन्छन् । चुनौतीका अनेक पहाड छन्, दलीय जन्जिरमा रहेको कर्मचारी तन्त्र छ । समस्या र जनताका चाहनाका अतृप्त चाङ छन् । यद्धपि खुला र पारदर्शी नीति हुँदा त्यसलाई समर्थन गर्ने नागरिक पनि छन् । दलीय षड्यन्त्र चिर्दै जनता जागरुक बनाइ स्वतन्त्र, निष्पक्ष र जनपक्षीय निर्णय गरेर उपलब्ध साधन र स्रोत परिचालित गरी व्यवस्थापन चुस्त राखेमा समस्या सामान्य बन्छन् । समस्या साँघुरिंदै जान्छन्, सत्प्रयासको नतिजा राम्रै आउँछ । 

अहिलेलाई शुभकामना मात्रै

घोषणा पत्र र प्रतिबद्धता पत्र कार्यान्वयन गरेको दिन जनताले बधाई दिनेछन् । अहिले यथेष्ट शुभकामनासहित आफ्नो भाग्य र भविष्य लेख्ने हक दिएर पठाएका छन् । कथंकदाचित  विश्वासमा घात गरे पुरस्कार दिन जान्नेले दण्ड पनि दिन जान्दछन् नै । काठमाडौं र धरानका जनताले दलको रैती बन्न इन्कार गरे । तसर्थ रैतीबाट नागरिक बन्ने साहस र सामर्थ्यलाई खास र विशेष  बधाई ।

देशका मुख्य मुख्य दुई सहरबाट दललाई ‘लौरो’ देखाउनु पक्कै पनि परिवर्तनको सङ्केत हो । काठमाडौं र धरानले विकास, अवधारणा र कार्यान्वयनमा अगुवाइ गरे सर्वत्र त्यसको अनुशरण हुनेछ । रैतीको नागरिक बन्ने अभिलाषामा आशाको उज्यालो पलाउनेछ । दलहरूलाई सुध्रिन मौका मिल्नेछ ।

हुन त सत्ता अन्धो हुन्छ, सत्तामा गएपछि व्यक्तिले आफ्नो धरातल भुलेको धेरै देखिएको छ । सत्तामा पुग्नेको वरपर पुग्ने सल्लाहकार विज्ञ समूहले असल मान्छेलाई कमसल बनाएको पाइन्छ । त्यसैले सहयोगी विज्ञ र सचिवालय छनौट विजितहरूको लागि सबैभन्दा पेचिलो र सङ्कटको विषय बन्छ । असल मान्छे चिन्न र चुन्न सक्नुपर्छ । जनताले गर्ने मूल्याङ्कन र दिने नम्बरमा बालेन र हर्क राई लगायतको आगामी राजनीतिक भविष्य र मार्ग तय हुनेछ । जनताले देखेको आशाको उज्यालो निराशाको तुवाँलोमा रूपान्तरण कदापि स्वीकार्य हुन्न । जित जिम्मेवारीको भारी हो,  अहंकारको भकारी होइन । 

लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल/पीएचडी अनुसन्धाता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जिव कार्की
सञ्जिव कार्की
लेखकबाट थप