बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । गत चैत ८ गते बसेको प्रदेशसभा बैठक पछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
करिव ६४ दिनपछि बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठक आज बस्ने तय भएको हो । प्रदेशसभामा आज दुई वटा बैठकहरू संचालन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । बैठकमा पेश हुने कार्य सूचीका बारेमा बिहिबार नै छलफल भइसकेको उनले बताए ।
उनका अनुसार आज बस्ने प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिने कार्य सूची रहेको छ । सोही बैठकमा नै संसद अवरुद्ध भएका बेला सरकारको काम संचालनको लागि ल्याएको ५ वटा अध्यादेश पेश हुनेछन् । सरकार संचालनको क्रममा ल्याएका अध्यादेशहरू संसदमा पेश गरेर पास गर्नुपर्ने व्यवस्था रहेको छ ।
बैठकमा प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री नीमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ ।
त्यसैगरी प्रदेशसभाको आज बस्ने दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तयार गरेको प्रि बजेट पेश गर्ने कार्य सूची रहेको छ । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको नीति कार्यक्रम र बजेटका विषयहरु समेटेर तयार पारेको प्रि बजेटको प्रस्ताव पेश गर्ने छन् । त्यसमाथिको छलफल भने अर्को बैठकमा हुने जनाइएको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ १६ गते हुने सदनमा पेश गर्ने तय गरेको छ । जेठ १६ गते दिउँसो २ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सोही दिन बस्ने प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रम सदनमा टेबल गर्ने र जेठ १७ गतेको बैठकमा प्रस्ताव माथि छलफल गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो