बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चार माध्यममा पहिलो पटक आईपीओ जारी गर्दै 'जनता टेलिभिजन'

बिहीबार, १२ जेठ २०७९, २१ : ५०
बिहीबार, १२ जेठ २०७९

निजी सञ्चार माध्यमहरुमा पहिलो पटक सेयर (आईपीओ) जारी गर्ने मिडिया जनता टेलिभिजन बन्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा नै प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको हो । 

बिहीबार जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सेयर निष्कासन गर्ने सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग  सम्झौता गरेको छ । सम्झौतापत्रमा जनता प्रसारणका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा.विजयकुमार पौडेल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै अध्यक्ष पौडेलले जनता टेलिभिजन आईपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताए । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उदेश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने बताए ।

यस्तै ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ढकालले नेपालको शेयर बजारमा मिडिया क्षेत्रको आईपीओ पहिलोपटक जारी हुन लागेकोमा खुशी व्यक्त गर्दै यसले नेपालको सेयरबजारमा नयाँ प्लेटफर्म भित्रिने र सर्वसाधारण शेयर लगानीकर्ताहरूले समेत नयाँपनको अनुभूति गर्न पाउने बताए । साथै निश्चित प्रवृत्तिका कम्पनीहरुको शेयर कारोबार राष्ट्र बैंक वा अन्य निकायको एउटा निर्णयले सबै तरंगित हुने गरेको अवस्थामा पब्लिक मिडियामा गरिने शेयर लगानीले नयाँ मानक स्थापना गर्न समेत सक्ने उनले विश्वास व्यक्त गरे ।

झण्डै १२ सयभन्दा बढी सर्वसाधारण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डट कम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप