बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकका सञ्चालक सदस्यद्वयले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार, १२ जेठ २०७९, १९ : ४५
बिहीबार, १२ जेठ २०७९

नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँहरूलाई शपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयानुसार शिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । शिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।

शिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्तराज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।
 
सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप