बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलीले आत्मालोचना गर्दैनन्, तत्काल बाम गठबन्धन हुँदैन’

अरु बरु सिद्धिन सक्छन्, माओवादीचाहिँ सिद्धिन्न : प्रचण्ड
बिहीबार, १२ जेठ २०७९, २० : ३६
बिहीबार, १२ जेठ २०७९

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले २ सय बढी सीट जित्ने दाबी गरेको थियो । तर परिणाम सोचे जति आएन । तैपनि यस नतिजाबाट माओवादी उत्साहित देखिन्छ। रातोपाटी टिम अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटार बिहान पुग्दा प्रचण्ड स्थानीय तहको निर्वाचनबाट सन्तुष्ट देखिन्थे। तर, मधेस प्रदेशमा माओवादी निक्कै खुम्चिएकोमा भने उनी चिन्तित छन्। पार्टीको जनमत राम्रो हुँदाहुँदै गुटबन्दी ग्रसित हुँदा एकले अर्कोलाई निषेध गर्दा मधेसमा राम्रो नतिजा नआएको प्रचण्डको ठहर छ। पार्टी केन्द्रीय समिति बैठक गम्भीर समीक्षा गर्ने भन्दै गुटबन्दी गर्नेलाई कारबाही समेत गर्ने चेतावनी दिएका छन् । 

यता एमालेसँग तत्काल गठबन्धन नहुने भन्दै प्रचण्डले पाँच दलीय गठबन्धनले नै प्रदेश र सङ्घको चुनाव गराउने बताउँछन् । स्थानीय चुनावको नतिजा, गठबन्धन र पार्टी गतिविधिका विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंश:

स्थानीय निर्वाचनमा गठबन्धनलाई मत नदिए देश दुर्घटना हुन्छ भनेर अभिव्यक्ति दिनुभएको थियो । चुनावी परिणामले देश दुर्घटनामा जाने खतरा टर्‍यो कि सम्भावना बाँकी नै छ ?

पहिलो कुरा, गठबन्धनको निर्माण नै देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि भएको हो । विगतमा जसरी संविधान मिचेर पटकपटक सदन विघटन गरियो, त्यो दुर्घटनामा जाने क्रम नै थियो । त्यसलाई रोकियो । त्यही क्रममा गठबन्धन बन्यो । यदि यो गठबन्धन कुनै कारणले कमजोर भयो, टुट्यो भने देश फेरि दुर्घटनामा जाने खतरा छ भनेर मैले सबैलाई सतर्क गराएको मात्र हो । मेरो अभिव्यक्ति कसैप्रति ‘प्रेसर’ बनाउन थिएन । मेरो समग्र भनाइमा सुरुदेखि अन्त्यसम्म हेर्‍यो भने त्यसमा जस्तो टिप्पणी गरियो, त्यस्तो छैन त्यो । त्यो प्रसङ्गलाई मात्र झिकेर ‘कन्फ्युजन’ पार्न खोजियो । तर त्यो कुनै कन्फ्युजन होइन । त्यो मैले देशको राजनीतिलाई नै केन्द्रित गरेर भनेको भन्ने कुरा प्रस्ट छ ।

दोस्रो कुरा, निर्वाचन हुनु ठूलो कुरा हो भन्ने मेरो भनाइ छ । किनभने संसद विघटनको कुराले यो देशमा निर्वाचन हुँदैन थियो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुने वातावरण बनेन भने संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा थियो । स्थानीय तह निर्वाचन मूलभूत रुपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । अब संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने प्रक्रियामा हामी एक कदम अगाडि बढ्यौं । म आज सबैभन्दा खुसी छु ।

अहंकार, दम्भ, संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रवृत्तिलाई नेपाली जनताले राम्रोसँग सबक सिकाए, शिक्षा दिए । शिक्षा लिने वा नलिने एमाले नेतृत्वको कुरा हो । तर यही तरिका हो भने ओरालो लाग्यौ है, अझै पनि संविधान विरोधी प्रवृत्ति रहिराख्यो भने जनताले अझै ठूलो सजाय दिन्छन् भन्ने संकेत देखियो । एमालेको त ओरालो यात्रा सुरु भयो ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले हात पारेको नतिजाप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

नेपालमा शान्ति प्रक्रिया, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र यो सबै प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेको नाताले कसले कति सिट ल्यायो, कति के भयो भन्ने कुराभन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र अझै संस्थागत हुने प्रक्रियामा अगाडि बढ्यो । म त्यसमा खुसी छ । पाँच सय आयो कि दुई सय आयो, त्यो मेरालागि त्यति धेरै सरोकारको विषय होइन । किनकि यो चिन्ताका साथ गत साल हामीले सडकमा ठूलो आन्दोलन गरेका थियौं । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने र देशै ठूलो राजनीतिक दुर्घटनामा पार्ने खतराबाट जोगाएर ल्याइएको हो । यसलाई फेरि एक पटक निर्वाचनमार्फत अनुमोदित गरी स्थानीय तहलाई अझ बलियो बनाउने काम भयो । त्यो ठूलो कुरा हो । त्यसमाथि करिब ५ सय पालिकामा गठबन्धनले जित्नु राम्रो परिणाम हो । त्यो गठबन्धनको पक्षको परिणाम हो ।

एमालेविरुद्ध पाँच दलीय गठबन्धन गर्नुभयो । तर पनि एमाले दोस्रो शक्तिका रुपमा देखियो । साँच्चिकै एमाले बलियो नै रहेछ, हैन त ?

एमालेले हिजो विभिन्न ढंगले संरचना र नेटवर्क बनाएको देखिएकै कुरा हो । तर एमालेको नेतृत्वबाट जसरी देशलाई राजनीतिक रुपले बढो अप्ठ्यारोतिर लाने काम भयो, त्यसका विरुद्धमा गठबन्धन भएको हो । यो सबै प्रक्रिया अहिले मैले ब्याख्या गर्नु परेन । अहिलेको निर्वाचन परिणामले त्यो प्रवृत्ति सही थिएन भन्ने साबित गर्‍यो । एमाले कमजोर भयो । पहिलो थियो,  धेरै माथि थियो । दोस्रोमा झर्‍यो र तल पुग्यो । ६ वटा महानगरपालिकाबाट बाहिरिनुपर्ने परिस्थिति बन्यो ।

त्यस्तो केही हुन्छ भन्ने मलाई लाग्दैन । अलिअलि असन्तुष्टि हुने कुरा निर्वाचनको प्रक्रियामा स्वाभाविक पनि हो । एउटै पार्टीभित्र पनि असन्तुष्टि देखिइराखेका छन् । पार्टीमा बागी भएर, स्वतन्त्र भएर उठ्ने प्रवृत्ति बढी देखियो । त्यो स्थितिमा गठबन्धनमा जाँदा केहीकेही कुरामा तितोमिठो हुने कुरा स्वाभाविक ठान्छु मैले ।

अहंकार, दम्भ, संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रवृत्तिलाई नेपाली जनताले राम्रोसँग सबक सिकाए, शिक्षा दिए । शिक्षा लिने वा नलिने एमाले नेतृत्वको कुरा हो । तर यही तरिका हो भने ओरालो लाग्यौ है, अझै पनि संविधान विरोधी प्रवृत्ति रहिराख्यो भने जनताले अझै ठूलो सजाय दिन्छन् भन्ने संकेत देखियो । एमालेको त ओरालो यात्रा सुरु भयो ।

 काँग्रेस र माओवादी केन्द्रले आफूलाई भोटरमात्र बनाएको भनेर नेकपा एकीकृत समाजवादीले गुनासो गरेको छ । उतातिर उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता भएको छ । गठबन्धनमा कतै गडबडी भइराखेको त छैन ? के हो ?

त्यस्तो केही हुन्छ भन्ने मलाई लाग्दैन । अलिअलि असन्तुष्टि हुने कुरा निर्वाचनको प्रक्रियामा स्वाभाविक पनि हो । एउटै पार्टीभित्र पनि असन्तुष्टि देखिइराखेका छन् । पार्टीमा बागी भएर, स्वतन्त्र भएर उठ्ने प्रवृत्ति बढी देखियो । त्यो स्थितिमा गठबन्धनमा जाँदा केहीकेही कुरामा तितोमिठो हुने कुरा स्वाभाविक ठान्छु मैले ।

निर्वाचनपछि पनि हामी गठबन्धनको बैठक बसेका छौं । नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । बजेटबारे छलफल गरिएको छ । त्यसमा हामी पाँचै पार्टी फेरि एक मत भएरै छलफलमा जुटेका छौँ । अब नेपाली काँग्रेस सबैभन्दा ठूलो भएर आयो । ठाउँठाउँमा नेपाली काँग्रेसको दम्भ देखियो कि भन्ने हामीलाई पनि लागेको छ, नलागेको होइन । माओवादी केन्द्रको प्रभाव भएको ठाउँमा नेपाली काँग्रेस र एमालेले खुलेआम तालमेल गरेर जिल्ला जिल्लामा माओवादीलाई हराउन लागिएको छ । म पनि एकदम राम्रो भयो भन्ने पक्षमा छैन । तर समग्रमा र मूलभूत रुपमा गठबन्धनबाट सबैलाई केही न केही फाइदा पनि भएको छ ।

 समाजवादीका नेताहरुले त भोटरमात्र बनाए भन्नुभयो नि ?

त्यो होइन । उहाँहरुले त्यो अलि बढी नै भन्नुभएको हो । मसँग त्यस्तो कुरा भएको छैन । नेकपा एकीकृत समाजवादी भर्खर बनेको पार्टी हो । समाजवादी पार्टीका लागि सकारात्मक वातावरण बनाउन धेरै मेहनत गरिएको छ । मिडियाबाट बढी भन्न चाहन्न । समाजवादी पार्टी निर्माण गर्न, त्यसलाई अगाडि बढाउन र उहाँहरुले अहंकार र दम्भविरुद्ध गरेको विद्रोहलाई हामीले जोगाउनका लागि धेरै मेहनत गरिएको छ । महानगर र उपमहानगरमा समाजवादी र माओवादीलाई बराबर गरिएको छ । त्यो गर्नेमा माओवादीको मुख्य भूमिका हो । मैले धेरै मेहनत गरेर हो भन्ने मेरो भनाइ छ । यो कुरा माधव नेपाल र समाजवादीका सबै साथीहरुलाई थाहा छ । परिणाम पनि राम्रै आएको छ । त्यो अवस्थामा धेरै चिन्तित हुनुपर्ने कुरा छैन । केही केही कुरा छन् भने समीक्षा गर्ने हो । हामीले गठबन्धनमा समीक्षा गर्ने भनेकै छौं । समीक्षा गरिन्छ । उपेन्द्रजीहरु पनि अन्ततः केही कुरामा छलफल गरेपछि राम्रै ठान्नुहुन्छ भन्ने मलाई लाग्छ । गठबन्धनमा अप्ठ्यारो आउने म कतै देख्दिनँ ।

पार्टीले निर्णय गर्ने कुरा हो । केन्द्रले गलत उम्मेदवार दिँदा जनताले इन्कार गरिदियो । त्यो भोलिका लागि शिक्षा भयो । भोलि त्यो ध्यान दिनुपर्ने कुरा भयो ।

 गठबन्धनमा कतै मेयर जित्ने उपमेयर हार्ने त कतै उपमेयर जित्ने मेयर हार्ने भएको देखियो । गठबन्धनमा कहाँनिर समास्या रहेछ ?

गठबन्धनमा केन्द्रबाट हामीले टुंग्याएको महानगर र उपमहानगरमात्र हो । बाँकी तलै मिलाउन निर्देशन दिएका हौँ । कति उम्मेदवार मिलाएर गरियो वा गरिएन, जनतामा को कति लोकप्रिय थिए वा थिएनन् भन्ने कुरा केन्द्रले देशभरिको मूल्याङ्कन गरेको पनि होइन । गर्न सक्ने कुरा पनि थिएन । हामीले गठबन्धन भाग गरेपछि भाग परेको ठाउँमा मेयर उपमेयरका उम्मेदवार सम्बन्धित पार्टीले बनाउने हो । उसले लोकप्रिय उम्मेदवार दियो कि दिएन ? यो त समीक्षाको विषय हुन्छ । जनताले कसरी हेरेको रहेछ भनेर जाँच्न राम्रो आधार भयो नि ! तपाईंले भनेजस्तै केही ठाउँमा अनौठो पनि देखिएको छ । त्यो पनि जनमत नै हो नि ।

चुनावी तालमेल केन्द्रबाट लाद्दा यस्तो भएको हो भन्ने तर्क पनि आइरहेको छ नि ?

होइन त्यो त । पार्टीले निर्णय गर्ने कुरा हो । केन्द्रले गलत उम्मेदवार दिँदा जनताले इन्कार गरिदियो । त्यो भोलिका लागि शिक्षा भयो । भोलि त्यो ध्यान दिनुपर्ने कुरा भयो ।

 काठमाडौंदेखि धरान, धरानदेखि धनगढीसम्म स्वतन्त्र उम्मेदवारले जितेका छन् । यसको संकेत के हो खासमा ?

यसलाई हामीले राम्रो शिक्षाका रुपमा लिने कुरा ठीक छ । तर यो उत्पात भयो भनेकोजस्तो मलाई लाग्दैन । केही अपवाद छोडेर ती पार्टीकै हुन्, बागी भने पनि स्वतन्त्र भने पनि । पार्टीले एउटा निर्णय गर्‍यो तर पार्टीकै तल्लो तहले संस्थागत रुपमै स्वतन्त्र उठाएर जिताउन लागिपरेको छ । तपाईंहरुले हेर्नुभयो भने उदाहरणका लागि जनकपुर, कालिकोट हेर्नुस् । कालिकोटमा एउटा स्वतन्त्रले जित्नु भएको छ । मैले त्यहाँ पार्टीलाई सोध्दा पार्टीले सल्लाह गरेरै स्वतन्त्र उठ्न भनेको छ । जस्तै धनगढीको प्रमुखमा स्वतन्त्रबाटै उम्मेदवार हुनुभएको हो तर उहाँ पार्टीकै नेता हो । उहाँले पार्टीकै भोटले जितेको हो । सबै अचम्म भयो भन्ने म ठान्दिनँ । पार्टीहरु नै छन् । मत पार्टीहरुकै हो । केही ठाउँमा नयाँ भएको छ, जस्तो काठमाडौंमा । काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु । त्यो पार्टीहरुका लागि पनि सकारात्मक नै हो । वालेनले सबै पार्टीलाई सन्देश दिनुभएको छ । त्यस अर्थमा पनि उहाँलाई बधाइ भन्न चाहन्छु ।

 एमाले नेताहरुले स्थानीय निर्वाचनले डिजास्टार हुन थाल्यो भन्नुभएको छ । योसँगै फेरि वाम गठबन्धनको चर्चा सुरु भएको छ । यो चुनावी परिणामले एमालेसँग सहकार्य वा एकतामा जाने सम्भावना छ कि छैन ?

वाम गठबन्धन र कम्युनिस्टको एकता गरेर देशमा स्थायित्व र विकास हुन्छ भन्ने मान्यताबाट मैले प्रस्ताव गरेर अगाडि बढेको सबैलाई थाहा छ । तर लिडरसीप भनेको बढो गम्भीर कुरा हो । लिडरसीप गलत हुँदा दुर्घटना हुँदो रहेछ भन्ने देखिहाल्यौं । हामीले जे सोचेर एकता गरेको हो, त्यो भएन । त्यो प्रवृत्ति परास्त नभइकन तुरन्त वाम गठबन्धन वा एकता हुने म देख्दिनँ । अहिलेको निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएर कमी कमजोरी सच्याएर जाने खालको भयो भने भोलिका दिनमा वाम गठबन्धन हुँदैन भन्न सकिँदैन । स्थानीय निर्वाचनको परिणामपछि तछाड र मछाड गरेर फेरि गठबन्धन हुने म देख्दिनँ ।

 केपी ओली एमालेको नेतृत्वमा हुँदासम्म गठबन्धन सम्भव छैन त्यसो भए ?

हामीले पहिले दुर्घटनाको कुरा गरियो नि ! त्यो त ओलीजीबाटै सबै कुरा भएको त हो । या त ओलीजीले गल्ती भयो मबाट भनेर सार्वजनिक रुपमा भन्ने र आफू रुपान्तरण हुने कुरा जनतालाई विश्वास दिलाउने वातावरण मिल्यो भने त्यसले एउटा हुने हो । तर त्यस्तो हुने म देख्दिनँ । उहाँलाई बाहिरबाट धेरै वर्षबाट चिनेकै हो । साढे तीन वर्ष एउटै पार्टी कमिटीमा बसेर, दुई वटा अध्यक्ष भएर नजिकबाट मैले जे हेरेँ, उहाँ आत्मालोचना गर्ने मान्छे होइन । उहाँले गर्नुहुन्न । उहाँको प्रयोग असफल भयो । एक्लै पार्टीलाई लिएर देखाइदिन्छु भन्ने कुरा पटकपटक तोडिएको छ । बालुवाटारबाट बालकोट जाने परिस्थिति उहाँकै अहंकारले बन्यो । सातै प्रदेश सरकारबाट ‘आउट’ हुने उहाँकै अहंकारले बनेको हो । राष्ट्रियसभाको चुनाव हेर्नुस् । उहाँकै अहंकारले ‘आउट’ नै भयो भने पनि हुन्छ । बार एसोशिएसन हेर्नुस् । ‘आउट’ नै हुने अवस्था बन्यो । अन्ततः अहिले स्थानीय चुनावमा आएर राम्रैसँग उहाँको अहंकारमाथि जनताले जवाफ दिएका छन् ।

यही गठबन्धन जान्छ । त्यसमा कोही द्विविधामा पर्नु हुँदैन । एमालेकै नेताहरुले वाम गठबन्धनको कुनै सम्भावना छैन, एमाले संघ र प्रदेशको चुनावमा एक्लै जान्छ भनेर सार्वजनिक रुपमा बोलिराख्नु भएको छ ।

 तपाईंकै पार्टीका नेताहरुले अहिले काँग्रेससँग तालमेल भयो, फेरि संघ र प्रदेशको चुनावमा एमालेसँगै तालमेल हुने हो कि भन्ने आशंका गरेका छन्, के त्यस्तो अवस्था हुन्छ ?

यो प्रदेश र संघको चुनावसम्म संविधान विरोधी, लोकतन्त्र विरोधी, निरंकुश प्रवृत्ति, अंहकार र दम्भले भरिएको प्रवृत्ति परास्त भएको देखिने र रुपान्तरण भएको देखिने स्थतिमा एउटा स्थिति हुन सक्छ । त्यो भोलि हुन सक्छ । त्यसका लागि अहिले नै भन्न उचित हुँदैन । म आफै वाम गठबन्धन पक्षधर हुँ । त्यो कुरा गहिरोगरी भन्दै छु । अहिले नै ओलीजीसँग सहकार्य वा तालमेल हुने स्थिति देख्दिनँ ।

 त्यसो भए यही गठबन्धन संघ र प्रदेशको चुनावसम्म जान्छ ?

यही गठबन्धन जान्छ । त्यसमा कोही द्विविधामा पर्नु हुँदैन । एमालेकै नेताहरुले वाम गठबन्धनको कुनै सम्भावना छैन, एमाले संघ र प्रदेशको चुनावमा एक्लै जान्छ भनेर सार्वजनिक रुपमा बोलिराख्नु भएको छ । त्यसैमा स्पष्ट छ, एमाले आफै पनि तयार छैन । हामी यही गठबन्धनलाई अगाडि लिएर जाने पक्षमा छौं । म तत्काल वाम गठबन्धनको सम्भावना देख्दिनँ ।

फेरि माओवादीकै नेताहरुले एमालेका नेताहरुसँग भेटघाट र छलफल जारी राखेका छन् नि ?

भेटघाट भइ नै राख्छ । भेटघाट राजनीतिक दलहरूको बिचमा चलिराख्छ । हामी हिजो जनयुद्ध हुँदा त भेट्थ्यौँ । अहिले नभेट्ने भन्ने हुँदैन । भेटघाट कुराकानी भइराखेको छ तर, ज–जसले जे–जे भने पनि अहिले यो गठबन्धन टुट्दैन । अहिले नै वाम गठबन्धन हुँदैन ।

 गठबन्धनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुको राय सुझाव के के छन् ?

गठबन्धनप्रति काँग्रेसको संस्थापन पक्ष वा देउवाजी गम्भीर हुनुहुन्छ । उहाँ गठबन्धनलाई लिएर जानुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । उहाँका अभिव्यक्तिहरुले त्यसलाई देखाई पनि राखेको छ । उहाँ गठबन्धनलाई कमजोर पार्न चाहनु हुन्न । तर, काँग्रेस पार्टी अलि भिन्न छ । अरु वामपन्थी पार्टीजस्तो होइन । त्यहाँभित्र यति धेरै अराजकता छ कि माथिबाट भनेर पनि हुँदैन । पार्टीले कारवाही गरेर पनि हुँदैन । फेरि कारवाही गरेका मान्छेले चुनाव जित्छन् । त्यस्तो वामपन्थीमा कमै देख्न पाइन्छ । त्यो खालको पार्टी हो । तर, नेतृत्वले भनेपछि अन्ततः नेतृत्वको कुरा लागु हुन्छ । शेरबहादुरजीले बेलाबेला भन्नुहुन्छ– स्थिति यस्तो छ । पार्टीकै ठूलाठूला नेताहरु गठबन्धनकै विरोधमा बोल्दै हिँडेका छन् । उम्मेदवारी आ–आफ्नै ढंगले दिएका छन् । त्यसो हुँदा ८२ प्रतिशत केन्द्रीय समिति र पार्टी मसँग छ । माथिबाट भनेरमात्रै केही हुँदैन भन्नु हुन्छ ।

अखिर शेरबहादुरजीले भनेकोजस्तै भयो । जति उफ्रे पनि त्यसले खासै असर गरेन । त्यसो हुँदा काँग्रेस नेतृत्व गठबन्धनको पक्षमा छ, गठबन्धनलाई बचाएर लाने पक्षमा छ ।

गठबन्धनमा माधव नेपालको असन्तुष्टी धेरै देखिन्छ, त्यसले असर गर्छ कि गर्दैन ?

गर्दैन । माधवजीसँग मेरो लगातार कुरा भइराखेको छ । केही कुरा छन्, नभएको होइन । समीक्षा गर्ने कुरामा अझ बढी माओवादीले गर्नुपर्ने देखिएको छ । संस्थागत रुपमा काँग्रेस र एमाले मिलेर माओवादीलाई धेरै हराउन कोसिस गरेका जिल्लाका जिल्ला छन् । त्यसमा माओवादी चिन्तित छ । भोलिका दिनमा यस्ता कमी कमजोरी सच्याउनु पर्छ भन्ने कुरामा माधवजीसँगै म पनि छु । हामी सबै हुन्छौं । काँग्रेसले पनि भनिराखेको छ ।

गठबन्धनभन्दा बाहिर तालमेल गरेमा कारवाही गर्ने कुरा थियो, के कारवाही गर्नुहुन्छ ?

त्यो बारेमा छलफल चलिराख्या छ । शेरबहादुरजीले त्यस्तो गर्नेलाई कारवाही गर्छु भनिराख्नु भएको छ । हामी समीक्षा बैठक बस्छौँ । त्यसपछि थाहा हुन्छ ।

अहिलेको सन्दर्भमा के भन्न चाहन्छु भने माओवादी कहिल्यै सिद्धिदैन । अरु बरु सिद्धिन सक्छन् । माओवादीचाहिँ सिद्धिन्न ।

तत्कालीन नेकपा डिजास्टरपछि एमाले नेताहरुले माओवादीमाथि निर्मम टिप्पणी गर्दै माओवादी गुगलमा मात्रै भेटिने दाबी गरेका थिए । माओवादीका पनि शीर्ष नेताहरुको एमाले प्रवेशले त्यसलाई बल पुर्‍यायो । यसका बाबजुद गठबन्धनले स्थानीय चुनावबाट माओवादीको ‘रेस्क्यू’ भएको देखिन्छ । तर यो ढंगको ‘रेस्क्यु’ले माओवादी कहिलेसम्म जोगिन्छ ?

पहिलो कुरा, माओवादीको बारेमा मानिसहरुले थरीथरीका टिप्पणी गरेका छन् । त्यसमध्येको एउटा टिप्पणी तपाईंले भन्याजस्तो अब माओवादी गुगलमा मात्रै भेटिन्छ र सिद्धिन्छ भन्ने एउटा प्रवृत्ति छ, त्यो एउटा खालका मान्छेले भन्ने गर्थे । तर, जनताले के देखाए भने ‘होइन, माओवादी एउटा शक्ति हो । माओवादी एउटा राजनीतिमा आवश्यक छ । यो परिवर्तनको बाहक हो’ भन्ने देखियो । यो चुनावले गरेको संकेत देश सञ्चालनको चाबी माओवादीकै हातमा हुनुपर्छ भनेर दिएको जस्तो ठानेको छु । जनताले देश सञ्चालन गर्न हामीलाई दिएका छन् । माओवादी गुगलमा मात्रै भेटिन्छ भन्नेहरुका लागि योभन्दा ठूलो जवाफ अरु केही हुनै सक्दैन ।

हुन त हामीलाई ठुलाठुला संस्था भनेका, ठुलाठुला पावर सेन्टरहरुले ३० पालिकाभन्दा बढी जित्दैन भन्ने रिपोर्ट बनाएको हेरेको छु । माओवादीले ५० स्थानीय तह जित्यो भने ठुलो कुरा हो भनेको रिपोर्ट पढेको छु । एमालेका नेताहरुले बोलेकै थिए । यो माओवादी सिद्धियो भनेका थिए । देशको राजनीति, यो प्रणाली र यो संविधान माओवादीकै कारण आयो । त्यस कारण माओवादीलाई यो देश सञ्चालन गर्ने चाबी दिइराख्नुपर्छ भनेर जनताले माया गरे । पहिलाको भन्दा अहिले बढाएरै दिए ।

अहिलेको सन्दर्भमा के भन्न चाहन्छु भने माओवादी कहिल्यै सिद्धिदैन । अरु बरु सिद्धिन सक्छन् । माओवादीचाहिँ सिद्धिन्न । अहिले सबै मिलेर षड्यन्त्र गरेर, अनेक गरेर माओवादीलाई कमजोर बनाए पनि माओवादी सिद्धिदैन । फेरि जनता र युवाहरुले चिहानबाट खोतलेर ती हजारौं सहिदहरु, ती हजारौं बेपत्ताहरु, यति ठूलो परिवर्तन माओवादीले गर्दा भयो भनेर माओवादी हुन्छन् । हेर्नुहोला, जसरी पृथ्वीनाराण शाह सिद्धिन्नन् नि, २ सय वर्ष होस् कि ३ सय वर्ष होस्, सम्झिराख्नुपर्छ नेपाली जनताले । कोहीले पोजेटिभ हेर्लान्, कोहीले नेगेटिभ हेर्लान् तर पृथ्वीनारायणको चर्चा भइराख्छ । राजतन्त्र छैन, त्यही पनि पृथ्वीनारायण शाहको कुरा आइहाल्छ ।

माओवादी पनि नेपाली समाजमा सयौं वर्षसम्म रहने पार्टी हो । अरु पार्टी भन्न सकिँदैन, माओवादी रहिरहन्छ । यति ठूलो विद्रोह, यति ठूलो परिवर्तनको बाहक शक्ति सबै मिलेर मिनिमाइज गरेर, निचोरेर, बद्नाम गरेर, षड्यन्त्र गरेर कमजोर पार्न खोजिए पनि फेरि अर्को पुस्ता आउँछ र त्यसलाई उचालेर लान्छ । तर खुसीको कुरा, अहिले नै जनताले कमजोर हुन दिएनन् । माओवादीका केही कमजोरी भएका छन् । अहिलेको निर्वाचनमा राम्रो समीक्षा गर्नुपर्छ । त्यसो गरियो र माओवादीले आफ्ना केही कमजोरी सच्यायो भने यो छिट्टै देशको पहिलो पार्टी बन्ने सम्भावना छ । त्यो हुने माओवादीमात्रै हो भन्ने लाग्छ ।

हामीभित्रैको गुटबन्दी, अराजकता लगायत थुप्रै कुरा छन् । जस्तो हामीले ५० प्रतिशत जितेका पालिका गुमायौँ । पहिला जितेका ५० प्रतिशत गुमाउने भनेको सानो कुरा होइन । त्यो गम्भीर समीक्षाको विषय छ । पहिला जितेका एक/दुई पालिका यताउता हुन सक्छ । साथीहरुले राम्रो काम नगरेर जनतामा लोकप्रियता घटेको हुन सक्छ । जसले ठिकै काम गरेका थिए, राष्ट्रिय रुपमै त्यो पालिका नम्बर ५ मा पुगेका थिए । अरुले पनि मूल्यांकन गरेका थिए, राम्रै काम भएको छ भन्ने थियो । त्यहाँ पनि हारियो । भनेपछि कहीँ न कहीँ कमजोरी छ पार्टीभित्र भन्ने हो ।

हाम्रो हिसाब के थियो भने यदि मधेसमा हामीले पहिला जितेका पालिका कायम गरेको भए हामी दोस्रो शक्ति बन्ने सम्भावना प्रचुर थियो । हामीले संख्या हेर्दा हामी धेरै सिटमा पुग्ने र एमाले ‘डाउन साइज’ हुने र हामी दोस्रो हुने ठाउँ थियो । तर, दुर्भाग्य के भयो भने हामीले जितेका ५० प्रतिशत पालिका गुमायौँ । फेरि नयाँ जितेका छौं । समग्रमा हामी ‘प्लस’मा गएका छौं तर, ठोसमा गइयो भने पालिका–पालिका हेर्दा हामीले गम्भीर समीक्षा गरेर पार्टी निर्माणतिर लागियो भने, ती कमजोरी सच्यायो भने भोलिका दिनमा यो पार्टी नै हो फेरि ‘नम्बर वान’ पार्टी बन्ने सम्भावना भएको । वैचारिक, राजनीतिक, संगठनिक, र जनताको माया सबै दृष्टिकोणले माओवादी राम्रो भएर आइदिए हुन्थ्यो भन्ने चाहना छ । त्यो अहिलेको निर्वाचनले पनि देखाएको छ ।

 तपाईंले अहिले पनि भन्नु भयो, मधेसमा पहिलेको भन्दा कम सिट आयो भनेर । खास माओवादीले मधेसमा हार्नुका फ्याक्टरहरु के के रहेछन् ?

अहिले हामी समीक्षाकै प्रक्रियामा छौं । मधेसमा कमजोर हुनु पार्टीभित्रको गुटबन्दी  हो । सिधा भन्दा पार्टीकै नेताहरु र केन्द्रीय समितिकै साथीहरु एकले अर्कोलाई हराउन लागेको देख्या छ । हामी त्यसको गम्भीर छानबिन गर्छौं । हामी कारबाही गर्ने प्रक्रियामा जान्छौं, नगई पनि हुँदैन । पार्टीभित्रको गुटबन्दी र अराजकताले नै मधेसमा पाएको सिट पनि गुमाएका छौं । पार्टीका कुन कुन गुट भन्ने अहिले भन्न मिल्दैन । भन्न उचित पनि हुँदैन । हाम्रो पार्टीमा आन्तरिक समीक्षा हुँदैछ । छलफल हुँदैछ ।

 कतिपयले प्रभु साह फ्याक्टर पनि हो भन्ने गरेका छन्, त्यसलाई कति मान्न सकिन्छ ?

त्यो होइन । त्यति ठूलो फ्याक्टर होइन । रौतहटमा त्यसको असर देखियो नै, त्यो पनि प्रभु साहले गर्दा भएको होइन । हाम्रै साथीहरुको अन्तरविरोधका कारणले भएको हो ।

 माओवादीबाट एमाले प्रवेश गरेका नेताबाट यति धेरै हौसियो कि एमालेमा यत्रा ठुलाठुला नेता ल्याएपछि माओवादी अब गुगलमा हेर्ने बनाइन्छ भनेर उनीहरुलाई देखाएर भन्या थिए तर, उनीहरुको हैसियत के रहेछ ? यस्तालाई ल्याएर एमाले बर्बाद भयो भनेर एमालेकै नेताहरुले भन्न थालेका छन् ।

 मधेसको गुटबन्दी तपाईंलाई पहिले पनि थाहा थियो, तपाईंले समयमै निराकरण गर्न नसक्दा पार्टीको यस्तो नतिजा आयो भन्ने छ नि ?

त्यो पनि एउटा ‘एङ्गल’ हो । त्यो पनि भन्न सकिन्छ तर, मेरो बुझाई त्यस्तो छैन । मैले हुन सक्ने जति त्यसलाई सन्तुलनमा राख्न धेरै कोसिस गरेको हो तर, मधेसमा सफल हुन सकिएन । मैलेमात्रै निराकरण गरेर हुन सक्ने स्थिति थिएन । त्यहाँको कमिटीले गर्ने कुरा थियो । गर्दै पनि थियौं । यसै कारणले त्यहाँको बारेमा गम्भीर समीक्षा गरेर कारवाही गर्नुपर्छ । लिडरसिपबाट कमजोरी भएको छ भने स्वीकार गर्नुपर्छ तर तलबाट कमजोरी भएको छ भने कमजोरी स्वीकार गरेर लानुपर्छ । त्यही हो मधेसको निष्कर्ष भन्ने छ ।

माओवादीमा किन यति धेरै असन्तुष्टि छ ? जिल्ला, प्रदेश र केन्द्रीय समिति सबैतिर असन्तुष्टि छ । माओवादीमा आत्मविश्वास हराएको जस्तो किन भएको हो ?

त्यो आमप्रवृत्ति छैन । त्यस्तो छ । त्यो माओवादीमा मात्रै छैन नि ! चर्चा माओवादीको मात्रै हुन्छ । काँग्रेसमा हेर्नुस्, कति धेरै छ ? एमालेभित्र भुसको आगो जस्तो भएर बस्या रहेछ । आम प्रवृत्तिको रुपमा माओवादीमा देखा परेको छ तर, माओवादीमा छ, अरुमा छैन भन्ने होइन । एकथरीले माओवादीमा मात्रै छ भन्नेगरी ब्याख्या गर्छन् । माओवादीलाई, परिवर्तनको बाहक शक्तिलाई कसरी कमजोर पार्ने भन्ने कारणले एउटा प्रचार हुन्छ । माओवादीभित्र पनि केही न केही समस्या देखा परेका छन् । त्यसकारण त्यसलाई सच्याउन सकिन्छ । हिजो हामी नेकपा हुँदा तीन वर्ष माओवादीको रुपमा अभ्यास गरिएन । अर्कै रुपमा काम गरेको हुनाले अस्तव्यस्त भयो ।

अर्को कुरा, माओवादीबाट एमाले प्रवेश गरेका नेताबाट यति धेरै हौसियो कि एमालेमा यत्रा ठुलाठुला नेता ल्याएपछि माओवादी अब गुगलमा हेर्ने बनाइन्छ भनेर उनीहरुलाई देखाएर भन्या थिए तर, उनीहरुको हैसियत के रहेछ ? यस्तालाई ल्याएर एमाले बर्बाद भयो भनेर एमालेकै नेताहरुले भन्न थालेका छन् ।

 माओवादीलाई चाहिँ यसले घाटा लाग्या छ भन्ने हो ?

मलाई त्यस्तो लाग्या छैन । उहाँहरु सही ढंगले बसिदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्ने नै भयो तर, उहाँहरु एमालेमा गएर माओवादी आन्दोलनको विरासतमा, यो आन्दोलनको सार तत्वमा, यसको मुल पक्षमा केही भयो भन्ने लाग्दैन । यसले झन् सुदृढ गर्न र शुद्धीकरण गर्न मद्दत पुग्यो ।

 हामी सच्चियौं भनेर उनीहरु आउन चाहेमा माओवादीमा आउने बाटो खुला छ कि छैन ?

त्यो हिजो पनि पार्टी विभाजन गरेर गएका साथीहरु, मलाई सत्तो सरापै गरेका थिए । गालीले नपुगेर मार्नै पर्छ भनेर लागेका साथीहरुलाई पार्टीमा ल्याएँ । पार्टीमा स्वागत गरिएको छ । एकता गरिएको छ । ठुलोठुलो जिम्मेवारी दिएको छु । मेरो हकमा अरुको भन्दा विल्कुल फरक छ । म पूर्वाग्रह राख्ने, संकिर्ण ढंगले सोच्ने विल्कुल गर्दिनँ । कोही राम्रो मनले सच्चिएर आउँछु भन्यो भने त्यस्तालाई ठाउँ दिनुपर्छ भन्ने छ तर, कोही गलत दृष्टिकोण, गलत विचार, गलत मान्यतातिर जान्छ भने ‘एक्सपोज’ गर्ने, खण्डन र आलोचना गर्ने जनताले गर्छन् । अहिले जनताले गरेर देखाए । प्रभुले रौतहटमा एकदुई पालिका जोगाउनु बाहेक अरुको के हैसियत भयो ? त्यो स्पष्ट देखियो । यसले एमालेलाई कति क्षति भएको छ भन्ने बल्ल एमालेका नेताहरुले विस्तारै बुझ्दै छन् ।

स्थानीय चुनावसम्म तपाईंले सुन्नुभयो होला नि, विप्लवका प्रवक्ता भन्नेले कालिकोटमा भनेको । सबै एकातिर भए पनि म एक्लै चुनाव जित्छु । फेरि भन्न पनि कसरी सकेको हो ? तर, जिरो भयो ।

चुनाव प्रचारप्रसारको क्रममा तपाईंले माओवादी मुल घर हो, सबै माओवादी आन्दोलन एक ठाउँमा केन्द्रित हुनुपर्छ र धेरै समूहहरु एकतामा आउन खोजेका छन् भन्नु भएको थियो । कहाँ पुग्यो त्यो प्रक्रिया ?

मैले माओवादी विरासतका, माओवादी पृष्ठभूमिका सबै समूह र व्यक्तिहरु एक ठाउँमा केन्द्रित हुनुपर्छ । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन, यो परिवर्तनको रक्षा र परिमार्जन गर्न पनि माओवादी विरासतका एक ठाउँमा केन्द्रित हुनुपर्छ भनेको थिएँ । यो एउटा कुरा हो । माओवादी मात्रै एक हुनुपर्छ भन्ने पनि होइन । कम्युनिस्ट आन्दोलनलाई नै एकतावद्ध गर्नुपर्छ । माओवादीबाहेकलाई पनि एकतावद्ध गर्ने कोसिस गर्नुपर्छ ।

अहिलेको निर्वाचन प्रक्रियामा धेरै साथीहरु एकतामा जोडिनुभयो । जो विभाजित भएर विप्लवजीसँग जानु भएको थियो, वैद्यजीसँग भएका, बाबुरामजीसँग भएका करिव करिव फर्किसक्नु भएको छ । पूर्वदेखि पश्चिमसम्म एकतामा जोडिनेको लहर देखियो । यो निर्वाचनले माओवादी केन्द्र बाहेक अरु कोही रहेन । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र बाहेक अरुले माओवादी हौं भनेर जनतामा जान सक्ने स्थिति भएन । उनीहरुको केही प्रभाव भएन, सिद्धियो । अस्तिसम्म थियो ।

स्थानीय चुनावसम्म तपाईंले सुन्नुभयो होला नि, विप्लवका प्रवक्ता भन्नेले कालिकोटमा भनेको । सबै एकातिर भए पनि म एक्लै चुनाव जित्छु । फेरि भन्न पनि कसरी सकेको हो ? तर, जिरो भयो । अन्त पनि गरे नि ! एमालेसँग मिलेर हुन्छ कि ! काँग्रेससँग मिलेर हुन्छ कि माओवादी हराउन लागे । यस्तो देख्दा बडो दुःख पनि लाग्छ, चिन्ता पनि लाग्छ । के भएका होला साथीहरु ! काँग्रेस, एमालेसँग मिलेर माओवादी हराएर क्रान्तिकारी हौं भन्ने हुने । प्रचण्डले गल्ती गर्‍यो, हामी क्रान्ति गर्छौं भन्नेहरुचाहिँ काँग्रेस र एमालेसँग मिलेर माओवादी हराउने !

अब माओवादी हौँ भन्ने पहिचान रहेन । वैद्यजी विचरा लेख्ने पढ्ने हो । त्यही गरिराख्नु भएको छ । नेपालको राजनीतिमा उहाँले चलाएर केही हुँदैन भन्ने स्थापित भयो । बाबुरामजीले विद्वान भएको हुनाले मैले कुनै तरिकाले हिजोको विरासतलाई बोक्छु भन्नुहुन्थ्यो, त्यो पनि छैन । बरु सबै माओवादी केन्द्रसँग केन्द्रित भएको देख्छु । अब कुनै माओवादी छैन, माओवादी केन्द्रमात्रै छ । प्रचण्डलाई हरेक दृष्टिकोणले सिध्याउन खोजियो तर, प्रचण्ड सिद्धिँदैन । अहिले पनि सिद्धिएन । बरु आन्दोलनको केन्द्रविन्दुमा मलाई जनताले राखे । म केन्द्रमा भएको एमालेलाई मन पर्ने कुरा भएन । काँग्रेसको एउटा पक्षलाई मन पर्दैन । अरुलाई पनि मन पर्दैन । रोल्पा, रुकुम, कालिकोट उति बेलादेखि आधार इलाका टिपिकल ठाउँमा सबै मिलेर माओवादी सिध्याउन खोजे तर जनताले सिद्धिन दिएनन् ।

पदाधिकारीसहित केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिको चुनावपछि गरौँला भन्ने जे गरियो, ठिकै गरियो । बाहिरबाट हेर्दा गर्न सकेनन् भन्ने भयो । बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ पनि । त्यो हामीले गरेको सर्वसम्मत निर्णय हो ।

 तर महाधिवेशन भएको ६ महिना भइसक्यो, केन्द्रीय कमिटी टुङ्गो लगाउनु भएको छैन । स्थायी समिति, पोलिटब्यूरो टुङ्गो लाग्या छैन । जनवर्गीय संगठनको उस्तै हालत छ । महाधिवेशनबाट पूर्णता दिनेगरी जिम्मेवारी लिनुभयो तर टुङ्गो लगाउन सक्नु भएको छैन । ती सबै अपूर्ण कमिटीले कहिले पूर्णता पाउँछन् ?

अब सबै कमिटीको टुङ्गो लगाइन्छ । महाधिवेशनमा विचार राजनीतिमा गम्भीर बहस र छलफल गरेर सर्वसम्मत टुङ्गो लगाएको पार्टी हाम्रोमात्रै हो । विचार र राजनीतिमा बहस गरेर त्यति धेरै प्रतिनिधिले एक मतले पारित गर्ने माओवादी पार्टी हो । पहिला वैचारिक राजनीतिक रुपमा हेर्नुस् । संगठनात्मक रुपमा केन्द्रीय समिति बन्यो, सर्वसम्मत ढङ्गले बनाउनेमा महाधिवेशन माओवादीको हो । अरुको गाईजात्रा हामीले देखेका छौं । सर्वसम्मत ढंगले अध्यक्ष टुङ्गो लगायौँ ।

अरु चुन्ने कुरामा गृहकार्य गर्दैछौं । अरुले गरेकोजस्तै गर्न सकिन्थ्यो । तुरुन्तै चुनाव गराएको भए टुङ्गिहाल्थ्यो । टुङ्गो लगाउन के गाह्रो छ र ? तर, हामी काँग्रेस, एमाले होइनौं । हामी माओवादी हौं । त्यसकारण माओवादी भिन्न हुनुपर्छ भन्दा कतिपय परिस्थितिले ढिलो भएको छ।

 तर, पार्टी सँगाल्ने भन्दा रेल्लियो नि ?

एउटा रेल्लियो भन्ने छ तर, सँगालियो भन्नुस् । परिणामले ठिकै गरिएछ भन्ने भयो । यो भन्दा अर्को गरेको भए झन् नराम्रो हुन सक्ने थियो । पदाधिकारीसहित केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिको चुनावपछि गरौँला भन्ने जे गरियो, ठिकै गरियो । बाहिरबाट हेर्दा गर्न सकेनन् भन्ने भयो । बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ पनि । त्यो हामीले गरेको सर्वसम्मत निर्णय हो । अहिले नगरौं, चुनावपछि गरौंला भन्नेमा कसैको विमति थिएन । त्यस्तो गर्ने पार्टी माओवादी हो । बाहिर जसरी भन्ने गरिन्छ, होच्याएर, हेपेर भन्न खोजिन्छ त्यस्तो हाम्रो होइन ।

 अब कमिटीलाई कहिले पूर्णता दिनुहुन्छ?

अहिले बजेटको कुरा छ । उता प्रदेश र पालिकाको बजेट भन्ने छ । बजेटको प्रक्रिया सकिएपछि अब केन्द्रीय समितिको बैठक जेठ २० गते बस्दैछौं । त्यतिबेला पदाधिकारीको गृहकार्य गरिसक्ने भन्ने छ । हाम्रो कोसिस सकेसम्म सर्वसम्मत बनाउने नै भन्ने छ । सर्वसम्मत बनाउनै सकिएन भने अन्तिम विकल्प चुनाव नै हो । हामीले प्रदेश र पालिकामा चुनाव गरेका छौं । सहज ढंगले टुङ्गिएको छ ।

 बजेटपछि मन्त्रिपरिषद हेरफेर हुने हो ?

अब विभिन्न प्रदेश सरकारका विषयमा चर्चाहरु छन् । छलफलहरु पनि चलेका छन् । संघमा औपचारिक ढंगले सरकार पुनर्गठनका बारेमा चर्चा गरेका छैनौं । मलाई थाहा छैन, प्रधानमन्त्रीले कसरी सोच्नु भएको छ ? यो विषयमा प्रवेश गरेर छलफल पनि गरेका छैनौं । हाम्रो कुरो तत्काल मन्त्री हेरफेर गर्ने पक्षमा छैनौं । धेरै केही गर्ने पक्षमा छैनौं । फेरि संघ र प्रदेशको चुनाव नजिकै आइहाल्यो । अरु पार्टीले मन्त्री हेरफेर गर्न चाहेमा परिस्थिति बन्न पनि सक्छ । म हुँदै हुँदैन भन्न सक्दिन । मैले त्यो सम्भावना कम देखेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप