सरकारलाई एमालेको प्रश्न : शान्ति प्रक्रियामाथि इमोस्नल ब्ल्याकमेल किन ?
नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखापरेको दावी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सूचना दिएको दावी गरेका हुन् ।
‘मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका छन् । नेपालको राष्ट्रिय हित के हो, नेपाल कहाँनेर उभिनुपर्ने हो ?’, ज्ञवालीको प्रश्न छ । उनले नीति तथा कार्यक्रमको बुँदा नं ७, ७७ र १३९ मा हाम्रो मित्र राष्ट्रसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सुचना दिइएको बताए । उनले भारतसँग सीमा समस्याहरु कायम रहेको तथा लिपुलेक, लिम्पियाधुरा, कालापानी भूभागलाई नेपालको सदनले हाम्रो हो भनेर संवैधानिक र कानुनी हिसावले स्पष्ट पारिसकेको अवस्थामा त्यसलाई वार्ताबाट फिर्ता ल्याउनुपर्ने भएपनि त्यसबारे दस्तावेजले केही नबोलेको बताए ।
‘सरकार समस्या नभएको चीनसँगको सीमा समस्याको बारेमा कार्यदल बनाउँछ । गलत सुचनाहरु दिन्छ । न त्यो कार्यदलको प्रतिवेदन सार्वजनिक गर्छ ? न यसबारेमा उठेका प्रश्नहरुको जवाफ दिन्छ ?’ज्ञवालीको प्रश्न छ । उनले उर्जा उत्पादनबारे प्राकृतिक स्रोतमाथिको अक्षिण अधिकारमा प्रश्न उठ्दा समेत सरकारले स्पस्ट नपारेको र बीआरआई सम्झौतामा एक शब्द उल्लेख नगरेको भन्दै एक चीन नीति विपरित हुनेगरी शरणार्थी शिविरमा विदेशी मन्त्रीलाई घुम्न दिएको आरोप लगाए । ‘शरणार्थी विषयलाई भूराजनीतिक विषय बनाउँदै हुनुहुन्छ । यसरी नेपालको परराष्ट्र नीति खलबल्याउने प्रयासले हामी कहाँ पुग्छौ ? कसरी राष्ट्रिय हितको पक्षमा सरकार अघि बढेको हुन्छ ?’, ज्ञवालीले भने,
‘शान्ति प्रकृयामाथि इमोस्नल ब्ल्याकमेल ।’
नेता ज्ञवालीले सरकारले शान्ति प्रकृयालाई इमोस्नल ब्ल्याकमेल टुल्सको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । ‘नीति तथा कार्यक्रमको १३४ नम्बर बुँदामा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने भनिएको छ । के ले रोकेको छ ?’, ज्ञवालीले सभामुखमार्फत सरकारलाई प्रश्न गरे । उनले भने, ‘यो विषयलाई तपाईहरुले किन सधैंभरी बार्गेनिङ टुल्सको रुपमा प्रयोग गर्न चाहनुहुन्छ ?’ उनले गठबन्धनका एकजना नेताले आफ्ना कार्यकर्ताहरूलाई एमसीसी पास गराउनुपर्यो भने गठबन्धनको औचित्य पुष्टि गराउनुपर्यो भने, रुखमा भोट हाल्न लगाउनुपर्यो भने, र यो गरिएन भने त शान्ति प्रकृया भत्किन्छ । फेरि हामीलाई हेग लाने षडयन्त्र हुन्छ भनेर सधैंभरी एक खालको इमोस्नल ब्ल्याकमेल गरिरहेको बताए । ‘शान्ति प्रकृयाजस्तो संवेदनशील विषयलाई यसरी राजनीतिक टुल्सको रुपमा प्रयोग गर्न हुन्छ ?’ज्ञवालीको प्रश्न छ ।
उनले नीति तथा कार्यक्रमको १३१ नम्बर बुँदाप्रति पनि आपत्ति जनाए । जुन बुँदामा अन्य मुलुकसँग सुरक्षा जानकारी आदानप्रदान गर्ने उल्लेख छ । त्यसप्रति आपत्ति जनाउदै ज्ञवालीले प्रश्न गरे, ‘हामी कुनै सुरक्षा छातामा जान लागेको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
कम्युनिस्ट पार्टीको बैठकमा गाडीको लाम, तस्बिरहरू
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)