नीति तथा कार्यक्रममाथि छलफल : कसले के भने ?
संघीय संसदको राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरू प्रस्तुत गरेका हुन् ।
छलफलमा बोल्दै संयुक्त संशोधनकर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) हुँ भन्नुपर्ने हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘हामीले धेरै राम्रो कार्यक्रम ल्याउँछ भन्ने लागेको थियो । तर पूर्ववर्ती सरकारले ल्याएको राम्रो काम पनि ल्याउन सकेन । १३५ वटा बुँदामा केही बुँदा हामीले वस्तुगत आधार भनेको के हो ? म प्रश्न गर्न चाहन्छु, के त्यो भनेको सबै काँग्रेस, माओवादी र एकीकृत समाजवादी बन्नुपर्ने भन्ने हो ? यस्ता कतिपय कुराहरुले नीति तथा कार्यक्रममा राखिएको छ ।’
त्यस्तै संयुक्त संशोधन कर्ता शेखरकुमार सिंहले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा आउँदा सप्तरीमा आउन नसकेको गुनासो गरे । उनले बुँदा ६० मा इनरुवादेखि बेली भन्सारसम्मको अन्दाजी १४ किलोमिटर सडकलाई बिस्तार तथा पुनः निर्माण गर्नुपर्ने मा नीति कार्यक्रममा नै नहुनु दुःखद् भएको बताए ।
त्यस्तै संयुक्त संशोधन कर्ता भगवती न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताइन् । उनले आफैँले ल्याएको नीति तथा कार्यक्रममा पनि सत्ता पक्षकै सांसदहरु उत्साहित नरहेकोले सरकार गलत ढंगले हिँडिरहेको आरोप लगाए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नीति तथा कार्यक्रमको बुँदा ७२ मा एक घर एक धारा पु¥याउने बुँदा रहेको तर ४ लाख ६६ हजार मात्रै भनिएकाले त्यतिमा मात्रै सिमित किन हो भन्ने प्रश्न गरिन् । उनले खानेपानी उच्च र मध्यम जस्ता कुराहरु गरिएकोले त्यसलाई सच्याउन माग गरे । सरकारले नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा मिचिएका क्षेत्रलाई फर्काउने कुरा नगरेको बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताइन् । उनले नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, आय, असमानता, सुशासनका कुराहरुलाई जोड दिएको बताइन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको सहारामा बनाइएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा अघिल्लो सरकारले रेलका कुरा गर्दा खिल्ली उडाएपनि अहिले त्यसलाई प्राथमिकता दिएकोमा खुशी लागेको धारणा राखे ।
त्यस्तै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले उद्योगधन्दा र जडिबुटीको क्षेत्रलाई जोड दिनुपर्ने बताए । उनले नीति तथा कार्यक्रममा आदिवासी र जनजातिको कुरा उठाउन सरकारले कञ्जुस्याइँ गरेको आरोप लगाए ।
उनले भने, ‘सही र सकारात्मक छ । जुन क्षेत्रमा प्राथमिकता दिनुपर्ने विषय छुट्याएको छ । प्रतिगामी सरकारले जस्तो सनकका भरमा यो वर्ष त्यस्तो कार्यक्रम ल्याएको छैन । त्यसलाई रोक्ने किसिमबाट यो आएको छ । उद्योगधन्दामा जोड दिनुपर्छ, जडिबुटीलाई छोएको छैन, आदिवासी जनजाति परेका छैन । यो शब्दप्रति किन कञ्जुस्याइँ गरिएको हो ।’
त्यस्तै राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुसालले अघिल्लो सरकारले बाँडेका सपना जस्तो नभइ सपना चिर्ने गरेर नीति तथा कार्यक्र आएको बताए । उनले सरकारले नयाँ उद्योग खोल्ने नीति कार्यक्रम नल्याएको, कृषि उपजमा उद्योग खोल्ने नीति नबनाएको, जडिबुटीको खेती, प्रशोधन गर्ने उद्योगहरु खोल्न ध्यान नदिएको बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले अहिलेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य,रोजगारीलाई समेटेर आएको बताए । उनले सरकारले सुदूरपश्चिम क्षेत्रमा नीति तथा कार्यक्रममा लापरबाही गरेको बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले मिथिला भूमिलाई मिथिला कृषि नमूना क्षेत्र घोषणा गरेर सिंचाईको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारको नीति तथा कार्यक्रममा बाली बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले ठूला शहरमा भएका फोहोरबाट मोहोर निकाल्न सक्ने गरी नीति ल्याउनुपर्ने बताए ।
त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताए । उनले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुर भनिएपनि भनिएजस्तो नभएको बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगारी लगायत समग्र क्षेत्रलाई समेटेको भन्दै समर्थन गरे ।
त्यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले बाँके जिल्लामा कृषिको प्रचुर सम्भावना रहेको भन्दै नीति तथा कार्यक्रममा बाँके जिल्लामा कृषि विश्व विद्यालय खोल्न माग गरे । उनले निजी विद्यालयले शिक्षाको नाममा गरिरहेको व्यापारीकरणलाई निरीक्षण गर्नुपर्ने उनको माग छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले नीति तथा कार्यक्रम विगतको भन्दा प्रगतिशील भएको दाबी गरिन् । उनले यो नीति कार्यान्वयन भए समुन्नत नेपालको कल्पना पूरा हुने बताइन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले केही मन्त्रालयहरुले वडा तहका कामलाई पनि आफ्नो अधिनमा राख्नु दुखद् भएको बताए । उनले नीति तथा कार्यक्रममा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता नदिएको गुनासो गरे । उनले सरकारले हरेक वर्ष नीति अनुसार काम नगर्दा विमानस्थल तुहिएर जान्छ कि भन्ने डर पैदा भएको बताए ।
त्यस्तै राष्ट्रिय सभामा सदस्य तुलसाकुमारी दाहालले नीति तथा कार्यक्रम जनताको चाहना र आवश्यकता विपरित भएको बताइन् । त्यस्तै सदस्य भुवनबहादुर सुनुवार, नन्दा चपाईं, प्रकाश पन्त, गंगाकुमारी बेलवासे लगायतले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए । राष्ट्रिय सभाको बैठक सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले शुक्रवार ११ बजेका लागि पुनः बोलाइएको छ ।