शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तालमेल गरेर बेकारै भयो कि भन्ने भ्रमबाट मुक्त हुनुस् : धनराज गुरुङ

‘कसको अधिकार के छ भनेर साथीहरुले संविधान नै पढ्नु भएन’
बिहीबार, १२ जेठ २०७९, ०९ : ४८
बिहीबार, १२ जेठ २०७९

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तहको निर्वाचनमार्फत नेपाली काँग्रेसले कम्तीमा ५१ प्रतिशत स्थानीय तह जित्ने लक्ष्य राखे पनि त्यो पूरा हुन नसकेको बताएका छन् । यद्यपि, काँग्रेसका लागि स्थानीय तह निर्वाचनको नतिजा सकारात्मक नै रहेको बताए ।

टिकट वितरण र तालमेल गर्दा भएको प्राविधिक ‘इरर’ले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकिए पनि चुनावी परिणामले सत्ता गठबन्धनलाई उत्साहित नै बनाएको उनको भनाइ छ । संघ र प्रदेशको निर्वाचनमा भने सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने कि नगर्ने भन्नेबारे अहिले नै भनिहाल्न आवश्यक नरहेको उनले बताए ।  स्थानीय तह निर्वाचनको परिणाम र आगामी रणनीतिका विषयमा केन्द्रित रहेर काँग्रेस उपसभापति गुरुङसँग रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको संवादको सम्पादित अंश–
 
स्थानीय निर्वाचनको नतिजालाई काँग्रेसले कसरी हेरेको छ ? तपाईंहरुको प्रारम्भिक समीक्षा के छ ?
काँग्रेसका लागि स्थानीय तह निर्वाचनको नतिजा सकारात्मक आएको छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । परिणाम अपेक्षा अनुसारको भएन तर सकारात्मक छ ।
 
काँग्रेसको अपेक्षा कस्तो थियो र ?
हाम्रो अपेक्षा कम्तीमा ५१ प्रतिशत अर्थात् थोरैमा पनि ३७७ स्थानीय तह जित्ने हो । हामीले ३७७ स्थानीय तह जित्ने आँकलन र अपेक्षा गरेका थियौँ । अपेक्षाकृत नतिजा नआउनुमा हामीबाटै केही कमी कमजोरी भयो । टिकट वितरणमा पनि केही कमी कमजोरी भएका छन् । त्यसपछि अरु कुरामा पनि कमी कमजोरी भए । केही तालमेलमा पनि कमी कमजोरी भए । तालमेलबाट केही ठाउँमा लाभ पनि भयो, केही ठाउँमा नोक्सान पनि भयो । सबै पक्षलाई हेर्दा हामी केही न केही ठाउँमा चुकेकाले गर्दा अपेक्षाकृत नजिता आएन । तर पनि हामी उत्साहित नै छौं । परिणामलाई सकारात्मक रुपमा लिएका छौं ।

सत्ता गठबन्धनसँगको चुनावी तालमेल नगरेको भए काँग्रेस एक्लैले अहिलेको परिणाम प्राप्त गर्थ्यो ?
त्यसरी पनि नहेरौँ । कतिपय ठाउँमा तालमेल गर्दा प्राविधिक ‘इरर’ भइदियो । रुख, कलम, हसिया हतौँडा र छाता चुनाव चिह्न खोज्ने कुरा एकदमै अस्तव्यस्त भयो । हामीले हाम्रो मतदातालाई राम्रोसँग प्रशिक्षित पनि गर्न सकेनौँ । धेरै मत बदर भएको छ ।

हामी तालमेलकै पक्षमा उभिएका थियौं । तालमेल गर्नुहुँदैन भन्ने वैचारिक कोणबाट मेरो अडान थियो र अहिले पनि छ । बहुलवादमा आधारित संसदीय पद्धतिमा आ आफ्नो कार्यक्रम लिएर जनताको बीचमा जाने नै हो ।

कतिपय ठाउँमा प्राप्त मतभन्दा पनि बदर मत बढी भएको अवस्था आयो । यो तालमेलबाट उब्जिएको प्राविधिक ‘इरर’ हो । त्यसैले धेरै ठाउँमा समस्या भएको हो । राजनीतिक ‘इरर’ कम भएपनि प्राविधिक ‘इरर’ बढी भयो । यसले हामीलाई घाटा भयो । विशेष गरी वडा सदस्यमा तालेमल गर्दा एउटै दलको चुनाव चिह्न लिएको ठाउँमा जितिएको अवस्था छ । तर हाम्रो पहिचान मेटिन्छ भनेर आफ्नै चुनाव चिह्न लिँदा काँग्रेस पनि हारेको छ । सिधै रुखमा मत हाल्न पाउँदा वडाध्यक्ष जित्यो । तर सदस्यहरु खोज्न थाल्दा कता रुख भनेको थियो, कता कता हँसिया हथौडा भनेको थियो भनेर झुक्किँदा हारेको अवस्था छ । वडा अध्यक्ष जितेर ४ वडा सदस्य रहेको अवस्था छ । पालिकाहरुमा पनि त्यो समस्या देखियो । त्यसैले तालमेलको प्राविधिक पक्षबाट ठूलो ‘इरर’ भएको छ । तालमेलबाट घाटा भयो भन्न खोजेको होइन प्राविधिक पाटो सुधार्न जरुरत देखेँ ।

तर गठबन्धन सहयात्री दलहरुले काँग्रेसको शेखर कोइराला समूह गठबन्धनको खिलाफमा उभिँदा अपेक्षाकृत नजिता नआएको आरोप लगाइरहेका छन् नि ?
म त त्यस्तो देख्दिनँ । झलनाथ खनालले यस्तो कुरा गर्नुभएको मैले पनि सुनेँ । उहाँले ओलीसँग पो सजिलो हुन्छ भन्ने कुरा पनि गर्नुभयो । उहाँजस्तो मान्छेले हडबडाएर बोल्नु हुन्नथ्यो भन्ने मलाई लाग्छ । आत्तिनु हुन्न नि ! राजनीति भनेको निरन्तर बगिरहने नदी जस्तो हुनुपर्छ खहरे खोला जस्तो गडगडाएर आउने र सुक्नेको के अर्थ छ र ? त्यसैले राजनीतिमा शालिनता र धैर्यता मान्छेले गुमाउनु हुँदैन ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावी तालमेलको पक्षमा उभ्याएको तर तपाईंहरुको समूह विपक्षमा उभिएको त साँचो हो नि ?
हामी तालमेलकै पक्षमा उभिएका थियौं । तालमेल गर्नुहुँदैन भन्ने वैचारिक कोणबाट मेरो अडान थियो र अहिले पनि छ । बहुलवादमा आधारित संसदीय पद्धतिमा आ आफ्नो कार्यक्रम लिएर जनताको बीचमा जाने नै हो । अहिले आ आफ्नो घोषणापत्र जारी गरेर पाँच दलीय गठबन्धन गरौं । उता ओलीले ९ दलीय गठबन्धन गर्नुभयो । त्यसैले वैचारिक रुपमा म तालेमलको विपक्षमा छु । तर पार्टीको केन्द्रीय कार्यसमितिले तालमेलको निर्णय गरेपछि त्यसलाई शिरोधार्य गरेर हामी तालमेलको पक्षमा उभिएकै हो ।

गठबन्धनको संयुक्त चुनावी सभामा जानुहुँदैन भनेर नगएको होइन । तपाईंहरुले भन्दा हो कि क्या हो भन्ने देखिन्छ । तर त्यस्तो होइन । काँग्रेस एउटै छ । तपाईंहरु जबरजस्त गुटगुटमा छुट्याउनुहुन्छ ।

 
त्यसो भए गठबन्धनको संयुक्त चुनावी सभामा तपाईंहरुको समूह सहभागी किन नभएको ? तपाईंहरु पार्टीको निर्णय मान्न माध्य भए पनि चुनावी तालेमललाई सफल बनाउन नलागेको कुरा त छर्लंगै देखियो । अहिले हामी गठबन्धनकै पक्षमा उभिएको थियौं भनेर हुन्छ ?
काँग्रेसबाट चुनावी सभाको संयोजन मैले नै गरेको हो । सुरुमा पार्टीको आयोजनामा विराटनगर, चितवन, पोखरा, बुटवल, जनकपुर, तुलसीपुर, तनहुँ, धनगढी र डेडल्धुरामा चुनावी सभा गर्ने निर्णय भएको हो । पछि साथीहरुको माग बमोजिम अवस्था हेरेर गठबन्धनलाई पनि सँगै लिएर जान संयुक्त सभा गर्नु भनेर भनियो ।

त्यहाँ तपाईंहरु किन देखिनु भएन ?
विराटनगरको चुनावी सभामा शेखर कोइराला हुनुहुन्थ्यो ।

विराटनगरमै रहेका शेखर कोइराला त्यहाँको चुनावी सभामा देखिनुले अर्थ राख्छ र ? उहाँ चितवनमा बोलाउँदा पनि आउनु भएन । तालमेलमा तपाईंहरुबाट बेइमानी भएन भनेर विश्वास गर्न सकिन्छ र ?
खाली देखिएन भन्ने कुरा होइन । हामीले ठाउँ अनुसार पदाधिकारीलाई पठाएका थियौं । हामी आफै गएर उभिनु पर्थ्यो त ?

पार्टीले कार्यक्रम तय गर्दा वक्ताका रुपमा नाम राखिएका तपाईं र महामन्त्री गगन थापाले कुनै संयुक्त सभा शेयर गर्नु भयो त ?
धेरै ठाउँमा कार्यक्रम हुँदा जान नसकिएको हो । बुटवलको कार्यक्रममा गगन थापाजी जाने कुरा थियो । तर उहाँ कार्यक्रममा धेरै व्यस्त हुनुभयो । हेलिकप्टर बिना बुटवल जान सम्भव छैन भन्नुभयो । सभापतिसँग जाने अवस्था छैन । म जाने भए त हेलिकप्टरै लिनुपर्ने भयो दाइ भन्नुभयो । मैले पनि सक्नुहुन्छ भने यताको कार्यक्रम घटाएर पनि जानुस् । पार्टीले हेलिकप्टरको व्यवस्था गर्न सक्दैन । तपाईं आफै व्यवस्था गर्नुस् भनेको थिएँ ।

उहाँको पूर्व निर्धारित कार्यक्रमका कारण जान सम्भव नभएको हो । गठबन्धनको संयुक्त चुनावी सभामा जानुहुँदैन भनेर नगएको होइन । तपाईंहरुले भन्दा हो कि क्या हो भन्ने देखिन्छ । तर त्यस्तो होइन । काँग्रेस एउटै छ । तपाईंहरु जबरजस्त गुटगुटमा छुट्याउनुहुन्छ ।


 
तपाईंहरुको व्यवहार त्यस्तै देखिँदा प्रश्न उठ्दैन त ?
धनराज गुरुङले कसैलाई यो यता, त्यो गुटको भनेर खटाएको होइन । काँग्रेसका महामन्त्री र सहमहामन्त्री भनेर उपसभापतिले खटाइरहेको हो । यसलाई यसरी बुझ्नुस् न । खाली गुटको कुरा गर्नुहुन्छ ।
 
तपाईंकै कारण एमालेलाई साइजमा राख्ने गठबन्धनको मिसन पूरा हुन सकेन भन्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष छ । यसलाई स्वीकार्नु हुन्छ कि हुन्न ?
त्यो होइन । मलाई यस्ता मनगढन्ते कुरा गर्न आउँदैन । काँग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार नै परिचालित भएका हौं ।
 
एकीकृत समाजवादीका नेताहरुले आफूहरुलाई भोटरमात्र बनाएको आरोप लगाएका छन् । यो तालमेलले काँग्रेसलाई मात्र फाइदा भयो, हैन ?
मेरो अनुरोध छ नेताहरुले आत्तिनु हुन्न । आवेगमा आएर बोल्नु हुँदैन । नेतामा धैर्यता र सहनशीलता हुनुपर्छ । एमालेबाट छुटिएर भर्खर भर्खर स्थापना भएको उहाँहरुको एकीकृत समाजवादी । जसपाले क्षेत्रीयतालाई नै प्राथमिकता दिएको छ । उहाँहरुले राम्रै नजिता ल्याउनु भएको छ । तर काँग्रेस तालमेलकै कारण मात्र ठूलो बनेको हो भन्ने भ्रम नपालिदिन मेरो अनुरोध छ । किनभने नेपाली काँग्रेसले इतिहासमा एक्लै दुई तिहाइ बहुमतको सरकार बनाएको छ । बहुमतको सरकार त काँग्रेस ०४८ र ५६ मा पनि बनाउन सफल भएको थियो । काँग्रेस आफ्नो खुट्टाले टेकेर दौडनै सक्दैन भन्ने भ्रम नपालिदिन अनुरोध गर्न चाहन्छु । तालमेल गरेर बेकारै भयो कि भन्ने लागिरहेको छ भन्ने भ्रमबाट पनि मुक्त हुन आग्रह छ । तालमेलका कारण कोही हार्‍यो, कोही जित्यो भन्ने बेकारको कुरा हो । यहाँ त काठमाडौं जस्तो ठाउँमा स्वतन्त्रले जितेको अवस्था छ । धरान र धनगढीजस्तो सहरमा स्वतन्त्र उम्मेदवार जितेको अवस्था छ । हामीले यसलाई पनि सँगै राखेर हेर्नुपर्छ । तालमेल गरेर हामी भोटरमात्र भयौं भन्ने हिनताबोध गर्नुभन्दा अहिलेको राजनीतिक हलचललाई बढी गम्भीर भएर हेरियो भने त्यो भ्रमबाट मुक्त भइन्छ । नत्र काँग्रेसले ३२५ सिट जित्ने, हामी जम्मा २०–२५ मा भन्ने आफूप्रतिको हिनताबोध हुन्छ । एकपल्ट आँखा उघारेर नेपाली राजनीतिमा नयाँ परिदृश्यलाई नियाल्ने र विश्लेषण गर्ने हो भने भ्रमबाट मुक्त भइन्छ ।

दलको विकल्पभन्दा पनि नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्नुपर्छ भन्ने चेतना नेपाली जनतामा खुलेको म देख्छु । यो दलको विरुद्धको कुरा होइन । तर सच्चिनुपर्छ ।

केही मुख्य सहरमा जबरजस्त ढंगले स्वतन्त्र उम्मेदवारको उदय भएको छ । यसले दिन खोजेको सन्देश के हो ?
हामीले व्यवस्था बदल्यौं । तर नेपाली जनताको अवस्था बदल्न नसकेकै हो । त्यो हामीले स्वीकार गर्नुपर्छ । नेपाली राजनीतिमा सुशासन स्थापित गर्न नसकेकै हो । त्यसैले नेपाली जनताले एक पटक ‘थ्रेट’ गरेको हो । ल है ! दलहरु सच्चिनुपर्छ, दलका नेताहरु सच्चिनुपर्छ । नसच्चिने भए अबको बाटो अर्कै हुन सक्छ भन्ने एउटा ‘थ्रेट’ हो । यसलाई स्वीकार गरेर कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नका लागि एउटा पाठ पनि हो ।
 
त्यो ठाउँमा पार्टीहरुले कमजोर उम्मेदवार उठाउँदा स्वतन्त्रले चुनाव जिते कि राजनीतिक दलको विकल्प खोज्नुपर्छ भन्ने जनतामा चेतनाको वृद्धि भयो ?
दलको विकल्पभन्दा पनि नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्नुपर्छ भन्ने चेतना नेपाली जनतामा खुलेको म देख्छु । यो दलको विरुद्धको कुरा होइन । तर सच्चिनुपर्छ ।


 
यसबाट काँग्रेसले के पाठ सिक्छ ?
आगामी दिनमा आफूलाई सच्याएर अगाडि बढ्ने हो । सच्याउने भनेको भन्दा जनजीविकाका सवालमा काम गर्नुपर्छ । चुप लागेर बस्नु हुँदैन । पहिलो कुरा त जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार होइन । यहाँ त हामी भ्रष्टाचारको दलदलमा फसिराखेका छौं । अब हामी सुशासन स्थापनामा अग्रसर हुनुपर्छ ।स्थानीय निर्वाचन सकिएको छ । सिंहदरबारको अधिकार गाउँ गाउँ जाँदा सिंदरबारको सबै भ्रष्टाचार गाउँ गाउँ पुगेको छ । पालिका–पालिकामा बेरुजुको चाङ छ । यसलाई सच्याउनुपर्छ ।

सत्ता साझेदार दल यहाँबाट भागेर जाने ठाउँ छैन । संविधान र व्यवस्था बचाउन एक ठाउँमा आएका थियौं । अब यहाँबाट अन्त जाने सोच कुनै दलमा भएको मैले देखेको छैन ।

स्थानीय तहमा काँग्रेसले करिब ४५ प्रतिशत पालिका जितेर पहिलो बनेको छ । स्थानीय सरकारलाई जनजीविकासँग जोड्न र सुशासन कायम गर्न कुन के रणनीति बनाइ राख्नु भएको छ ?
हाम्रा साथीहरु दैनिक जनजिवनसँग जोडिने काममा एक दिन पनि ढिला गर्न पाउनुहुन्न । विगत पाँच वर्षमा भ्रष्टाचारको कुरा धेरै आए । काँग्रेसले जितेको ठाउँमा भ्रष्टाचारको गन्ध आउन दिनुहुँदैन । हामीले सल्लाह गरिरहेका छौं । पालिका प्रमुख तथा उपप्रमुखलाई बोलाएर संविधानले दिएको अधिकार प्रयोग गर्न र सुशासन कायम गरेर अगाडि बढ्न हामीले निर्देशनात्मक प्रशिक्षण दिन्छौं । यहाँ त पाएको अधिकार पनि प्रयोग गर्न जानेका छैनन् । कति ठाउँमा अधिकारको विषयमा प्रमुख र उपप्रमुख झगडा गरेर बसेको देखियो । यसअघि एउटा पार्टीका प्रमुख र उपप्रमुखको बोलचाल बन्द भएको पनि सुनियो । कसको अधिकार के छ भनेर साथीहरुले संविधान नै पढ्नु भएन । यी सबै कुरामा उहाँहरुलाई प्रशिक्षण दिइन्छ ।
 
स्थानीय निर्वाचनको नतिजालाई लिएर सत्ता गठबन्धनमा हलचल आउने विश्लेषण भइरहेको छ । गठबन्धन केही गडबड हुने देखिएको हो ?
म त्यस्तो केही देख्दिनँ । म पटकै देख्दिनँ । सत्ता साझेदार दल यहाँबाट भागेर जाने ठाउँ छैन । संविधान र व्यवस्था बचाउन एक ठाउँमा आएका थियौं । अब यहाँबाट अन्त जाने सोच कुनै दलमा भएको मैले देखेको छैन । गठबन्धन भत्किन्छ भन्ने अनुमान भन्नुस् वा विश्लेषण त्यो गलत हो ।


 
काँग्रेसले प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धनलाई सँगै लिएर जान्छ ?
संघ र प्रदेशको निर्वाचनबारे मैले सोचेको छैन । हामीले चुनावमात्र सोच्दैनौं । चुनाव र जित–हारको कुरामात्र गर्ने मान्छे नेता हुन सक्दैन । नेताले जनताको सुख दुःखको कुरा सोच्नुपर्छ । आम निर्वाचनका लागि हामीसँग थुप्रै समय छ । अहिले हामी स्थानीय सरकारलाई जनताको सेवामा कसरी जोड्ने भन्ने सोचिरहेका छौं । स्थानीय तहका निर्वाचित साथीहरुलाई कसरी परिचालित गर्ने, कसरी सुशासन कायम गर्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ ।
 
काँग्रेसले पत्रकार सम्मेलन नै गरेर स्थानीय निर्वाचनबाट आम निर्वाचनमा गठबन्धन गरेर जाने मजबुत आधार तयार भएको दाबी गरेको छ । तपाईंलाई बोल्न किन अप्ठ्यारो ? कि संघमा पनि गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा हो ?
प्रवक्ताजीले भन्नु भएको छ । तर अहिले नै त्यो कुरा गर्न हतारो हुन्छ । सत्ता गठबन्धन चलिरहन्छ । चुनावी तालमेल त्यतिबेला कथाले जे माग्छ त्यही हुन्छ ।
 
स्थानीय निर्वाचनको नतिजाले आम निर्वाचनमा काँग्रेस कसैसँग तालमेल बिना नै निर्वाचनमा जानुपर्छ भन्ने देखिएको हो ? तपाईंको बुझाई के छ ?
संघको सन्दर्भमा अहिले किन बोल्ने ? अहिले बोल्न आवश्यक नै छैन । अब त काम गर्ने हो । अबको ६ महिना हाम्रा जनप्रतिनिधिलाई काम गराउने बेला हो । अहिले अर्को चुनावको चिन्ता गर्न थाल्यौँ भने हामी कहिल्यै सुध्रिदैनौं । हामी सुध्रिने कुरा पनि गर्दैछौं । स्वतन्त्र उम्मेदवारको जितले हामीमाथि थ्रेट दिएको छ । हामी फेरि नसुध्रिने कुरा किन गर्ने ? अब चुनावभन्दा पनि सुशासनको चिन्ता गर्नुपर्छ । हिजो हामीले वडाध्यक्ष भनेको त डोजर अध्यक्ष हो भन्ने सबैभन्दा बढी सुन्यौं । अब डोजर अध्यक्षलाई साँच्चिकै वडाध्यक्ष हो । तपाईंहरुकै सेवक हो भन्ने बनाउनु छ । गाउँपालिका र नगरपालिका प्रमुखलाई पनि त्यही बनाउनु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप