शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म त त्यसै भाग्यमानी

आफ्नो रेकर्ड आफैले ब्रेक
बिहीबार, १२ जेठ २०७९, ०८ : ३२
बिहीबार, १२ जेठ २०७९

सुरुमा मैले सगरमाथा आरोहणको कुरा गर्दा कसैले पत्याएन । यसले गफ दियो भन्ने धेरै थिए, तर मैले सगरमाथा चढेर देखाएँ । काठमाडौंबाट निस्किएदेखि नफर्किदासम्म  आरोहणको यात्रा एकदमै सुखद रह्यो । मसँग जति पनि शेर्पा साथीहरु थिए । तिनीहरुको साथ कहिलै बिर्सन सक्दिन । सबैले राम्रो सोचका साथ सहयोग गर्नुभयो । 

अहिले म एकदमै खुसी छु । आरोहण यात्रा सोचेभन्दा पनि राम्रो भयो । भगवान्को कृपाले स्वास्थ्यमा कुनै समस्या देखिएन । यात्रा गाह्रो महसुस पनि भएन तर सहज पनि रहेन । हिमाल आरोहणको सफलता भनेको शिखरमा पुग्नु मात्र होइन, त्यहाँबाट सकुशल फर्किनु अर्काे चुनौती रहेछ । भगवान (चोमोलोमा) को कृपा ममा रह्यो । म र मेरो टीमले यात्रा पुरा गरेर सकुशल फर्कियौँ ।

शिखरमा पुगेपछि भने एकछिन त म अकमक्क भएँ । दिमाग पुरै खाली जस्तो भयो । के गर्ने, के नगर्ने केही सोच्न सकिन । बिस्तारै मेरो टीमका साथीहरुले पनि आरोहण पुरा गर्नुभयो । त्यसपछि सामूहिक फोटो खिचियो । अनि बल्ल लाग्यो, मैले त सर्वोच्च शिखर पो चुमे ।

हामी नेपालीको शिर, शान, अभिमान हो सगरमाथा । त्यसको चुचुरोमा पाइला टेक्ने अवसर मैले पाएँ । नेपाली हुनुमा जति गर्व लाग्छ, शिखरमा पुग्दा झनै गर्वले छाती फुल्दो रहेछ । शिखरमा पुगेपछि किन किन मैले मन थाम्नै सकिन । म रोएँ । शिखर मेरो कल्पना बाहिरको बिषय थियो । सगरमाथा चुम्ने इच्छा धेरैको हुन्छ । तर पुरा कमैले गर्छन् । जिन्दगीको उकाली ओराली चढ्दाको अनुभवले विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि चढ्न सफल भइयो । 

शिखर चुम्दै गर्दा उज्यालो हँुदै गरेको समय थियो । त्यसैले चुचुरोबाट सूर्याेदय नियालें, आफू भन्दा तल रहेका बादल, हिमाल र तिब्बत देख्न पाउँदा मन फुरुंग भयो । त्यसरी शिखरबाट चारैतिर हेर्न पाउँछु भन्ने जीवनमा कल्पनै थिएन । त्यहाँबाट जता पनि मैले नियालें, सबै तल ससानो फुच्चे देखिए । अनौठो आनन्द महसुस भयो, जुन शब्दमा बयान गर्न सक्दिन ।

शिखर चढ्दै गर्दा कुनै पल आरोहण गर्न सक्दिन भन्ने धेरैलाई लाग्दो रहेछ । तर, मलाई त्यस्तो भएन । सबैले सपोर्ट गर्छन् भन्ने विश्वास थियो । यात्राको क्रममा आफ्नो क्याम्पका मात्र होइन, भेटिएका साथीभाई पनि एकदमै हौसला दिने पाएँ । यो सिजनमा सगरमाथा चढ्ने करिव ८० प्रतिसतसँग मैले फोटा समेत खिच्न भ्याएँ ।

आफ्नो रेकर्ड आफैले ब्रेक 

सगरमाथा चढ्नुको पछाडिको केही कारण मध्येको एक ६ हजार ५ सय ७४ मिटरको उचाईमा कन्सर्ट गर्नु पनि थियो । चढ्ने क्रममा त्यो उचाईमा कन्सर्ट गरेको मैले फर्किदा    ७ हजार ९ सय मिटरको उचाईमा अर्काे कन्सर्ट गरेँ । दुबै ठाउँमा मैले आधा, आधा घन्टा कन्सर्ट गरेको थिएँ ।

उक्त कन्सर्टको भिडियो केही दिनमा सार्वजनिक हुन्छ होला । कन्सर्टमा मैले आफ्नो कमर्सियल रुपमा चलेका गीत गाएँ । जसमा ‘मेरो नेपाल’, ‘पर्खाइमा’, ‘तिमीलाई देखेर’, ‘हल्ला चलेछ’, ‘उभो उभो खासा, ‘ओइ नाना’, ‘हिमालले डाक्यो मलाई’, ‘पहाडले सम्झ्यो’ लगायत गीत थिए । त्यस्तै, हिमाल, कलासंस्कृति र प्रकृति जोगाउनु पर्छ भन्ने सन्देशमूलक गीतका पनि गाएँ ।

जहाँ अक्सिन लगाएर बस्नुपर्ने हुन्छ, त्यो ठाउँमा आधा घन्टा कन्सर्ट मेरा लागि सहज थिएन । सगरमाथा चढ्न आँट गरेको मैले त्यो उचाईमा गाउने अर्काे आँट देखाएँ । सगरमाथा चढ्दा खेरी बनाएको कन्सर्टको आफ्नो रेकर्ड फर्किदा आफैले ब्रेक गरे ।

इतिहास रच्न सफल 

सगरमाथा आरोहणबाट फर्किएपछि चारैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । आफन्त, शुभचिन्तकलगायत सबैबाट राम्रो प्रतिक्रिया र बधाई आइरहेको छ । आफन्त सबैले ‘हाम्रो इच्छा पुरा गर्यो, नाम राख्यो’ भनेर गर्व गरेका छन् । जलवायु परिवर्तनको असरको सन्देश दिन म सफल त भएँ नै, भगवान्को रुपका बाबाआमा र देवीको रुपका चेलीबेटी सगरमाथा आरोहणबाट खुसी पार्न सफल भएँ ।

आरोहणबाट फर्किदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बाजागाजा, फूलमालासहित अबिर जात्राको भब्य स्वागत र सम्मान भयो । मिडियाकर्मी, साथी, फ्यान, सुरक्षाकर्मी लगायत सबैको तर्फबाट बधाई पाइयो ।
मैले जीवनमा कहिलै सोचेको थिइनँ । मेरो लागि पनि कसैले र्याली गर्छन्, नेपालको झण्डा ओढाएर फूलमालाको बर्षाउँछन् । शिखर आरोहणको माध्यबाट कलाकारको हैसियतले र जिम्मेवार नागरिकको हिसावले केही गर्न सकें भन्ने लाग्छ । इतिहास रच्न सफल भएँ । मेरो सगरमाथा यात्राको क्रमका अनुभवका केही गीत बन्छन् अब । बृत्तचित्र आउँछ ।

२ हजार रुख रोप्छु

सगरमाथा आरोहणको सबै खर्च मेरो ब्यक्तिगत थियो । आरोहण अगाडि एक स्पोन्सर पाएको थिएँ । ‘आरोहणबाट फर्किएपछि फेरि जानुहुन्छ ?’ भनेर प्रश्न गर्छन् । फेरि जान्छु भनेर अहिले भन्न सक्दिन । सगरमाथाले बोलायो र समयले साथ दियो भने हुन सक्छ । शिखर आरोहण मार्फत् जलवायु परिवर्तनको सन्देश दिनुको अलावा पर्यापर्यटन, ट्राभलिङ कम्युनिटी र सांगीतिक कम्युनिटीलाई एकसाथ जोड्नु पनि मेरो अर्काे उद्देश्य थियो । त्यसमा म सफल भएँ । 

हामी गीतसंगीतमा हिमाल, पहाड, तराईका कुरा गर्छौ । नेपालको पर्यटन प्रवद्र्धन गर्नु जिम्मेवार नागरिकको हिसावले मेरो दायित्व पनि हो । यसले एक हिसावले एकताको सन्देश पनि दिन्छ, अहिले र भावी पुस्ताका लागि समेत । आरोहणको क्रममा मैले केही अर्थ संकलन पनि गरेको छु । केही समयपछि २ हजार रुख रोप्दैछु । त्यसका लागि सरकारसँग सहकार्य हुनेछ । अन्त्यमा मेरो शिखर आरोहणका टिम, संयोजन गर्ने ‘इमाजिन नेपाल’लाई धेरै धेरै धन्यवाद ।

गायक राजु लामासँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजु लामा
राजु लामा
लेखकबाट थप