
सेन्ट लरेन्स यौन दुर्व्यवहार प्रकरण : आन्दोलन रोकेर पठनपाठन सुचारु गर्ने सहमति
फि मिनाहाको कुरा प्रिन्सिपलले नभएर आरोपी शिक्षकले भनेको पीडितकी आमाको बयान

आफ्नै शिक्षकबाट यौन दुर्व्यवहारमा परेकी नाबालिकाका अभिभावक, कलेज प्रशासन र विद्यार्थीले बिहीबारदेखि पठनपाठन सुचारु गर्ने सहमति गरेका छन् । बुधबार प्रहरी वृत्त गौशालामा पीडित परिवार, विद्यार्थी र कलेज प्रशासनले आन्दोलन रोकी पठनपाठन सुचारु गर्ने सहमति गरेका हुन् ।
आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि सोमबारबाट मित्रपार्कमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थी र उनीहरुका अभिभावकले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलविरुद्ध आन्दोलन गरिरहेका छन् । विद्यार्थीले कलेजमा समेत तोडफोड गरेपछि प्रहरीले कलेजमा सुरक्षा दिइरहेको छ । यता आरोपी दुवै शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
कोअर्डिनेटर अधिकारीबाट नाबालिगहरु पटकपटक यौन दुर्व्यवहार र यौन हिंसाको शिकार बनेको भन्दै जेठ १० गते मंगलबारबाट उक्त कलेजका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । पठनपाठन नै छाडेर विद्यार्थीहरु आन्दोलनमा आएपछि विद्यार्थीको पढाई बिग्रने भन्दै कलेज प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक बसेर पठनपाठनलाई सुचारु बनाउने सहमति गरेका हुन् ।
आरोपित शिक्षकलाई कानुनी कारवाहीका लागि आवश्यक सबै सहयोग गर्ने भनी कलेज प्रशासनले प्रतिवद्धता जनाएपछि पीडित नाबालिगका परिवार र विद्यार्थीले पठनपाठनलाई सुचारु गराउने सहमति गरेका हुन् । सहमतिपछि एक पीडित नाबालिगकी आमाले आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई आन्दोलन छाडी कक्षाकोठामा जान र आरोपितलाई कानुनी कारवाहीमा लैजाने गरी दबाव दिन आग्रह गरेकी थिइन् ।
पीडितकी आमाले भनिन् ‘प्रिन्सिपलले फि मिनाहा गरिदिन्छु भनेका होइनन् ।’
मंगलबार साँझ रातोपाटीसँग कुराकानी गर्दै पीडित नाबालिगकी आमाले कलेज प्रशासन वा प्रिन्सिपलले फि मिनाहा गरिदिन्छु भनी आएको समाचारमा सत्यता नभएको र त्यहाँ बुझाईमा फरक परेको बताइन् । उनले भनिन्, ‘जब नानीले कलेजमा यस विषयमा कम्प्लेन गरिन् र कानुनी कारवाहीको कुरा उठाइन्, आरोपित शिक्षकले बाहिर हल्ला नगर्न बरु फि मिनाहा गरिदिने कुरा गरेका रहेछन् । नानीले त्यो कुरा मलाई भनेपछि मैले के फि मिनाहा गरेर अपराधीलाई उन्मुक्ति दिन खोजेको हो भनेर अध्यक्ष सरसँग कुरा गरेको थिएँ । अध्यक्ष सरले पनि अहिले गाह्रो भए पछि दिनुहोस् भनेका हुन् तर फि मिनाहा गर्ने कुरा भएको होइन । मैले त्यही कुरा छोरीलाई गरेको थिएँ, छोरीले गलत बुझेर साथीहरुलाई त्यही कुरा बताएकी रहिछिन् । खासमा कलेज प्रशासनले फि मिनाहा गरिदिने तर हल्ला नगर्ने भनेका होइनन्, आरोपित शिक्षकले चाहिँ भनेका हुन् ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ