शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदी भारत भ्रमणमा आएका विदेशी नेतालाई किन गुजरात लान छुटाउँदैनन् ?

बुधबार, ११ जेठ २०७९, २१ : ५०
बुधबार, ११ जेठ २०७९

भारत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र नरेन्द्र मोदीबीच पहिलो भेटघाट गुजरातको राजधानी अहमदाबादमा भयो । त्यसअघि मोदीले गुजरातकै जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटन समारोहमा मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रियससलाई स्वागत गरेका थिए ।

भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानी प्रधानमन्त्री सिञ्जो आबे र चिनियाँ राष्ट्रपति सी जिन पिङ विभिन्न अवसरमा भारत आउँदा मोदीले तिनलाई गुजरात घुमाए ।  सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि विश्व नेताको गुजरात भ्रमण बढेको छ ।

मोदी अघि विश्व नेता भारत भ्रमणमा आउँदा ताजमहल हेर्न आगरा जान्थे । कोही भारतका व्यापारिक केन्द्र मुम्बई र चेन्नई पनि जान्थे । तर अहिले गुजरातको अहमदाबाद अब कुटनीतिक बैठकको नयाँ केन्द्रको रूपमा विकास हुँदै गएको छ ।

सी जिनपिङबाट सुरु ट्रेण्ड 
२०१४ सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो भारत भ्रमणको क्रममा सबैभन्दा पहिले अहमदावाद गए । र, त्यसपछि मात्रै दिल्ली पुगेका थिए । सन् २०१७ सेप्टेम्बर १३ र १४ मा भारत भ्रमण रहेका जापानी प्रधानमन्त्री शिन्जो आबे पनि अहमदावाद पुगेका थिए ।

सन् २०१८ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि अहमदाबादको भ्रमण गरे । उनी दिल्ली र मुम्बई समेत गए । सन् २०२० फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनकी श्रीमतीसहित दुई दिने भारत भ्रमणमा आएको बेला पहिले अहमदाबाद, त्यसपछि आगरा र अन्तिममा मात्रै दिल्ली गएका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहमदाबाद पुग्ने पछिल्लो नेता भएका छन् ।

भारतमा विदेशी नेताको बदलिएको भ्रमण तालिका 
सन् २०१४ अघि भारत आउने अधिकांश विदेशी राष्ट्रपति र प्रधानमन्त्रीको दिल्ली घुमेर फर्किन्थे । कतिपय देशका राष्ट्रप्रमुख भारतको व्यापारिक राजधानीको हिसाबले मुम्बई पनि जान्थे ।  अपवादमा केही नेता चेन्नई र कोलकाता जान्थे । तर, शीर्ष भेटघाट भने दिल्लीमै हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । 

नरेन्द्र मोदीले विश्वका धेरै राष्ट्र प्रमुखलाई गुजरातमा आमन्त्रण गरिरहेका छन् । नेताको आगमनमा गुजरातमा ‘रोड शो’ आयोजना गरिने गरेको छ । वरिष्ठ राजनीतिक विश्लेषक विनोद शर्माकाअनुसार पहिले भारतका प्रधानमन्त्री विदेशी नेतालाई आफ्नो गृह राज्यमा निम्तो दिँदैनथे । तर, अहिले स्थिति फेरिएको छ । गुजरातका मुख्यमन्त्री हुँदा नरेन्द्र मोदीले विदेशी लगानीकर्तालाई राज्यमा आकर्षित गर्न ‘भाइब्रेन्ट गुजरात’ नाम सम्मेलन आयोजना गर्थे । पछि, भाजपाले गुजरातलाई आफ्नो व्यापारिक मोडेलको रुपमा प्रस्तुत गर्न थाल्यो ।  

गुजरात चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष हेमन्त शाह मोदीले विदेशी नेतालाई गुजरात ल्याउन थालेपछि गुजरातको पहिचान बढेको र राज्यमा लगानी बढेको बताउँछन् ।  जवाहरलाल नेहरू विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक तथा लेखक घनश्याम शाह यो तर्कसँग असहमति जनाउँछन् । 

‘मोदी गुजरातको मुख्यमन्त्री वा भारतको प्रधानमन्त्री नहुँदा पनि गुजरातमा विदेशी लगानी आउने गथ्र्यो । कपडा मिलका कारण अहमदाबादको पहिचान विश्वमा अंकित थियो । गुजरातको व्यापारिक छवि भाजपा सरकार आउनुअघि नै स्थापित भइसकेको थियो,’ घनश्याम शाहले भने ।

राजनीतिक लाभ लिने प्रयास ?
डोनाल्ड ट्रम्प, नेतान्याहु र सिन्जो आबेका लागि गुजरातमा ‘रोड शो’ आयोजना गरिएको थियो, जसको आलोचना पनि भयो । विदेशी नेताको आगमनमा यस्ता कार्यक्रम आयोजना गरेर राजनीतिक लाभ उठाउने प्रयास भइरहेको केही विश्लेषकको भनाइ छ ।

‘संघीय राजनीतिमा हरेक प्रदेशको समान महत्व हुन्छ । एउटा मात्र प्रदेशले महत्व पाएमा त्यसले राम्रो सन्देश दिँदैन । केन्द्र सरारले हरेक राज्यमा विदेशी लगानी आकर्षित गर्न आवश्यक स्रोतमाथि निगरानी राख्नुपर्छ । त्यसपछि वैदेशिक लगानी भित्र्याउने स्वस्थ प्रतिस्पर्धामा भाग लिन देशका प्रत्येक राज्यले समान रुपमा पाउनुपर्छ ,’ राजनीतिक विश्लेषक विनोद शर्मा भन्छन् ।

गुजराती पत्रकार रमेश ओझा यस विषयमा टिप्पणी गर्दै भन्छन्, ‘मोदीले उनका पूर्ववर्ती प्रधानमन्त्रीभन्दा फरक मार्गमा गएर उनको गृहराज्यलाई महत्व दिइरहेका छन् । यसमा एउटा उनको राज्यप्रतिको माया झल्किन्छ । अर्को गुजरात उनका लागि कम्फर्ट जोन पनि हो ।’ -बीबीसीबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप