बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : ११५७ वडाको अध्यक्षमा ५ जनामात्रै महिला !

बुधबार, ११ जेठ २०७९, २१ : २२
बुधबार, ११ जेठ २०७९

प्रदेश १ को ११५७ वडामध्ये ५ वडाध्यक्ष मात्रै महिलाले जितेका छन् । अन्य ११५२ जना पुरुष वडाध्यक्षमा निर्वाचित भएका छन् ।  राजनीतिक नेतृत्वमा महिला सहभागिताको सुनिश्चितताका लागि भन्दै संविधान र कानुनमै व्यवस्था गरिएको छ । तर, राजनीतिक दलको उदासीनताका कारण व्यवहारमा संविधान र कानुनका प्रावधानहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो । 

प्रदेश १ मा ०७४ सालको निर्वाचनमा १० जना महिलाहरु वडाध्यक्षमा निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा १३६ जना महिलाहरु वडाध्यक्षको उम्मेदवार बनेका थिए । त्यसमध्ये अत्यन्तै कम ५ जनामात्रै महिलाहरु वडाको नेतृत्व लिन सफल भएका हुन् । 

वडाको नेतृत्व लिन सफल भएका महिलाहरु सबै एमालेका उम्मेदवार हुन् । तेह्रथुमको म्याङलुङ ७ मा तारा कार्की गुरुङ निर्वाचित भएकी छन् । उनले ४९५ मत ल्याउँदा काँग्रेसका राजन गुरुङले ४०३ मत ल्याएका थिए । यस्तै धनकुटाको  पाख्रिबास ९ को वडाध्यक्षमा निर्वाचित सम्झना आले पनि एमालेकी उम्मेदवार हुन् । उनले ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धनबहादुर तामाङ मोक्तानले ५४० मत ल्याएका हुन् । 

यस्तै मोरङको उर्लाबारी ७ मा पनि उर्मिला थापा वडाध्यक्षमा निर्वाचित भएकी छन् । उनले विपक्षी काँग्रेसका वीरबल थापालाई भारी मतले पराजित गरेकी हुन् । उर्मिलाले १ हजार ४ सय ५५ मत ल्याउँदा वीरबलले १ हजार १ सय ४४ मत ल्याएका छन् । मोरङकै बेलबारी ७ को वडाध्यक्षमा सुनिता चौधरी निर्वाचित भएकी छिन् । उनले भने– माओवादीका विन्देश चौधरीलाई पराजित गरेकी हुन् । विन्देशले ८५७ मत ल्याउँदा सुनिताले ८९७ मत ल्याएकी छिन् । 

सोलुखुम्बुको महाकुलुङ ४ मा पनि सरस्वती कुलुङ निर्वाचित भएकी छन् । उनले काँग्रेसका विशाल कुलुङ राईलाई हराएकी हुन् । सरस्वतीले ३१८ मत ल्याउँदा विशालले २ सय ७९ मत ल्याएका छन् ।  वडाध्यक्षमा उठेका प्रदेश १ का अन्य १९ जना महिलाले दोस्रो र २७ जना महिलाले तेस्रो स्थान ल्याएका छन् । 

०७४ सालमा १० जना महिलाले वडाध्यक्षमा जितेका थिए । जसमा ताप्लेजुङमा २, पाँचथरमा २, झापामा ३, संखुवासभा, उदयपुर र ओखलढुंगामा १/१ जना थिए । ०७४ सालमा वडाध्यक्षका महिला उम्मेदवार संख्या १७४ जना थियो । यस पटक दलहरूको कन्जुस्याइका कारण महिला उम्मेदवारको संख्यामा पनि कमी आएको देखियो ।

प्रदेश १ मा ६ जना महिला पालिका प्रमुखमा र ९९ जना महिला पालिकाको उपप्रमुखमा जितेका छन् । ०७४ सालमा पालिका प्रमुखमा १ जना महिलाले जितेको थियो भने १३१ पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप