शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

बुधबार, ११ जेठ २०७९, १७ : २९
बुधबार, ११ जेठ २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा काँग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले  जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न आग्रह गरे ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारे । गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उनले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए ।

काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले नवनिर्वाचितलाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, काँग्रेस बागलुङका सभापति जित शेरचन लगायतले जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्न सकिने कामलगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप