शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको हो : सञ्चारमन्त्री कार्की

बुधबार, ११ जेठ २०७९, १७ : १३
बुधबार, ११ जेठ २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् । बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको पनि स्पष्ट पारेका हुन् । 

मन्त्री कार्कीले नेपालमा ऊर्जाको उत्पादन बढिरहेकाले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए । उनले आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री कार्कीले भने, ‘हामी आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्नेछौँ । त्यस दिशामा सरकारको ध्यान गएको छ । त्यस दिशामा सरकारको कदम अघि बढेको कुरा हो ।’

फरक प्रसङ्गमा मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यकताभित्र पर्ने बताए । उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए।

मन्त्री कार्कीले भने, ‘हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित गर्ने दिशामा सरकारको सोच छ । नागरिक विधेयक नआउँदा नागरिकताको समस्याबाट हाम्रो समाज कुन किसिमको समस्यामा गुज्रिरहेको छ, त्यसको अनुभूति मलाई पनि छ । नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर यो समस्याबाट देशलाई हामीले मुक्त गराउन जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप