शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ : उपप्रमुख तथा उपाध्यक्षमा पनि ठगिए महिला

बुधबार, ११ जेठ २०७९, १५ : ०३
बुधबार, ११ जेठ २०७९

विराटनगर । प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ । उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनु अघि प्राप्त विवरण अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके ।

प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या ०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको सङ्ख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् ।

तथ्याङ्क अनुसार ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाम र झापामा ३÷३, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा २, सुनसरीमा १, सोलुखुम्बुमा २, खोटाङमा ७, ओखलढुंगामा ३ र उदयपुरमा ३ जना पुरुष उपप्रमुख र उपाध्यक्षमा जितेका छन् ।

०७४ सालको निर्वाचनमा ६ जनामात्रै पुरुष उपप्रमुख तथा उपाध्यक्ष थिए । जसमा झापाको कमल गाउँपालिकामा वेनु प्रसाद सिवाकोटी, गौरीगञ्जमा दिपिन्द्र थापा, हल्दीबारीमा डम्बर बहादुर गिरी, ताप्जेलुङको फुङ्लिङमा बमबहादुर भट्टराई, सिदिङ्वामा जीवनकुमार ताम्लिङ र पाँचथरको तुम्वेवामा धनप्रसाद साँवा छन् । अन्य १४ जिल्लाको १३१ पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए ।

पालिका हाँक्ने ६ महिला

यस पटक प्रदेश १ का ६ स्थानीय तहले महिला नेतृत्व पाएका छन् । २०७४ को निर्वाचनबाट प्रदेशभरिमा झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले एकमात्र महिला नेतृत्वका रूपमा थिइन् । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी पवित्रा महतारा निर्वाचित भएकी छन् । यसअघि उपमेयर रहेकी उनले काँग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गरेकी हुन् ।

प्रसाईले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मतमात्र पाए । यस्तै, झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली काँग्रेसकी ४५ वर्षीय फूलवती राजवंशी विजयी भएकी छन् । उनले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

मोरङको कानेपोखरीमा नेकपा एमालेकी राजमती इङ्नाम नेपाली काँग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएकी छन् । उता, सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा काँग्रेसकी मीनादेवी कार्की विजयी भएकी छन् । उनले १ हजार २६० मतसहित नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गरेकी हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा ४० वर्षीया विमला राई निर्वाचित भएकी छन् । नेपाली काँग्रेसकी उम्मेदवार राईले एमालेका खडेन्द्र राईलाई पराजित गरेकी हुन् । यस्तै खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन् । उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गरेकी हुन् ।

पहिलो र दोस्रो पदमा महिला र पुरुष कति निर्वाचित भए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप