‘कस्मोपोलिटन’ काठमाडौँमा ‘कस्मेटिक पोलिटिक्स’को प्रभाव
काठमाडौँ मेट्रोपोलिटन सिटी अर्थात् काठमाडौँ महानगरको यसपालिको चुनावको मतगणनाको प्रवृत्तिलाई विश्लेषण गर्दा एक अनौठो तथा रोचक परिदृश्य हाम्रो सामु देखा पर्छ । अब विगतका जस्तो त्याग, तपस्या, अनुभव, राजनैतिक सिद्धान्त, राजनैतिक विरासत, राजनैतिक सुझबुझले मात्र मतदाता आकर्षित गर्न नसकिने निष्कर्ष देखिएको छ । एकजना चतुर कलाकारले स्टेजमा आफूलाई कसरी प्रस्तुत गर्दछ, त्यसै गरी उम्मेदवारले पनि मतदातासामु आफूलाई आकर्षक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्ने रहेछ । बजार अर्थतन्त्रमा जसरी राम्रो प्याकेजिङमा ढालिएको सामान पिठो भए पनि बिक्छ, तर आकर्षक प्याकेजिङको अभावमा चामल पनि बिक्दो रहेनछ भन्ने कुरा राजधानीको स्थानीय चुनावमा हाल निस्कँदै गरेको नतिजाले साबित गरिदिएको छ ।
मेयर पदमा दुई ठूल्ठूला पार्टीका प्रत्याशीहरूलाई नराम्ररी चक्मा दिएर जीत हासिल गरेका बालेन साहको पहिरन, हिँडाइ, बोलाइ, चस्मा ढल्काइ, हाउभाउ आदिलाई हेर्दा अब उप्रान्त उम्मेदवारले उनीबाट धेरै कुरा सिक्नुपर्ने देखिएको छ । उनले सुरुदेखि नै एकै प्रकारको पहिरन लगाएका छन्, गगल्स ढल्काउँदै आँखाको भावलाई रहस्यको पर्दाले ढाकेका छन् भने उनको शालीन जवाफ अनि स्टेजम्यानेज्ड जस्तो देखिने व्यवहारको एकरुपतालाई हेर्दा उनले मतदाताको मन जित्न महिनौँदेखि मिहेनत गर्दै आएको कुरा स्पष्ट हुन्छ । यसलाई ‘कस्मोपोलिटन’ काठमाडौँमा ‘कस्मेटिक पोलिटिक्स’को प्रभावका रूपमा लिन सकिन्छ ।
अन्य उम्मेदवारहरू, चाहे ठूला राजनैतिक पार्टीका हुन् वा साना अथवा स्वतन्त्र, तिनीहरूको बोलीचाली, व्यवहार, पहिरन, हिँडाइमा वालेनको जस्तो एकरुपता देखिँदैन । अब मतदाताले उम्मेदवारबाट कस्तो ‘इमेज’ खोजेका छन् र कस्तो ‘फ्लेभर’ उनीहरुले चाहेका छन्, त्यसको पनि हेक्का राख्नुपर्ने देखिएको छ । वालेनले लामो गृहकार्य गरेर काठमाडौँका युवा मतदाताहरूले खोजेको जस्तो ‘इमेज विल्डअप’ गर्न सफल भएका छन् भने उनीहरुले चाहे जस्तो ‘फ्लेभर’ पनि पस्कन उनी सक्षम साबित भए ।
चुनावको समयमा उम्मेदवारले आफूलाई प्रभावकारी रूपमा मार्केटिङ गर्नु कति जरुरी छ भन्ने कुरा यस परिघटनाले दर्साउँछ । अब काठमाडौँ जस्तो ‘मेट्रोपोलिटन कल्चर’ विकास भएको सहरमा आउँदा चुनावमा ठूला पार्टीहरूले आफ्नो चुनाव अभियानको शैलीमा यसैअनुरूप परिमार्जन गर्दै जान नसके उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने देखिएको छ ।
अनि सोसियल मिडियाको उत्कृष्ट प्रयोगले पनि निर्वाचनमा ठूलै महत्त्व राख्दो रहेछ । वालेनले जस्तो आकर्षक सोसियल मिडियाको प्रयोग अरु कुनै उम्मेदवारले गरेको देखिएन । उनले प्रचार अभियानमा कसैलाई गालीगलौज पनि गरेनन्, कुनै ठूला वाचा, कबुल पनि गरेनन्, न त उनले राजनैतिक भाषण नै छाँटे अथवा सिद्धान्तका कुरा गरे । तर पनि मतदाताको ध्यानाकर्षण गर्न सक्षम भएका छन् ।
विगतमा चुनिएका मेयरहरूले के कस्ता घोषणापत्र सार्वजनिक गरेका थिए र तीमध्ये कति पूरा भए अथवा कति पूरा भएनन्, त्यसको लेखाजोखा न मतदाताले गर्ने गरेका छन् न अन्य कुनै जिम्मेवार निकायले । यस्तो अवस्थामा अब बन्ने मेयरका पनि आश्वासन तथा वाचाहरूले भविष्यमा केही अर्थ राख्ला भनी कसरी विश्वास गर्ने ?
काठमाडौँका मतदाता अलि भावुक स्वभावका छन् । उनीहरू यति वेफूर्सदी छन् कि उम्मेदवारको प्रोफाइल हेर्न समेत भ्याउँदैनन् । उनीहरू उम्मेदवारको अनुभव र योग्यता, कार्यक्रम र योजना भन्दा उनीहरूको प्रस्तुतीकरण, अभिव्यक्तिकरण, लवाइ, खवाइ, बोलाइ आदि हाउभाउलाई महत्त्व र मूल्य दिन्छन् । त्यसैले कुनै बखत स्वतन्त्र वामपन्थीका रूपमा उम्मेदवारी दिने पद्मरत्न तुलाधरले रोएर पनि सर्वाधिक भोट बटुलेका थिए । अनि, अहिले एमालेका तर्फबाट उठेकी सुनिता डंगोलले हाँसेर, हँसाएर नै मतदाताको मन जितेकी छिन् र विजयपथमा निरन्तर अघि बढ्दै छिन् । यसै प्रसंगमा वालेनले चाहिँ गाएरै भोट तान्न सफल भएको निष्कर्ष निकाल्नु अतिशयोक्ति नहोला ।
अर्कोतर्फ एमालेबाट उम्मेदवार बनेका केशव स्थापित सबैभन्दा बढी विवादास्पद उम्मेदवार हुन् । उनका विगतका दुई मेयर कार्यकाल ‘मी टु’का कारणले मात्र नभई अपारदर्शी ठेक्कापट्टा वितरण तथा घरहरू जथाभाबी भत्काउनाका कारण पनि विवादमा पर्ने गरेको थियो । तर उनले चुनाव प्रचारका क्रममा त्यो विवादास्पद व्यक्तित्वलाई नै भोट बटुल्ने रणनीति बनाए । उनले खुलेआम भनेका थिए, ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ र ?’
हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलामाथि थिचोमिचो गरिएका घटनाहरू सामान्य हुँदा रहेछन् भन्ने कुरा राजधानीका मतदाताले त्यसलाई बेवास्ता गरी कतिपय वडामा उनलाई नै सर्वाधिक मत दिनाले प्रष्ट भएको छ । विवादमा आउनुको एउटा फाइदा के हुन्छ भने धेरै भन्दा धेरै मानिसले चिन्नु । त्यसरी धेरै भन्दा धेरै मानिसले चिन्दा त्यसमा कतिपय उसका विरोधी हुन्छन् भने कतिपय समर्थक पनि हुन्छन् । जे होस्, स्थापितले विवादमा तानिएकै कारण केही भोट अवश्य बढाउन सफलता पाएका छन् र यदि वालेनले उनको भोट नकाटेका भए उनको स्थिति निश्चय पनि अहिलेको भन्दा सुदृढ हुने थियो ।
काठमाडौँका सामान्य मतदाताहरू साह्रै सरल र निरस खालको चुनावी अभियानबाट आकर्षित नहुने कुरा पनि पुष्टि भएको छ । चुनावी अभियानमा आफ्ना विचार र कार्यक्रम सरल ढङ्गले राख्दै महानगरलाई महान् घर बनाउँछु भन्ने प्रतिष्ठित सिंह परिवारको विरासत बोकेकी नेपाली काँग्रेसकी मेयरका दाबेदार सिर्जना सिंहले पनि अपेक्षाअनुरूप स्थानीय चुनावमा भोट तान्न सकिनन् । अर्कातिर सडक विस्तार विरोधी अभियानका सक्रिय अभियन्ता, विवादास्पद गुठी विधेयकको विरोधीका रूपमा चिनिएका एवं जात्रा, पर्व, संस्कृति संरक्षण सम्बन्धी अभियन्ता रहेका सुमन सायमी पनि केही चर्चामा त आए । तर, चमत्कारिक भाषणकलाको अभावका कारण र वालेनले जस्तो ‘फ्लेभर’ मतदातासमक्ष पस्किन नसक्दा त्यति भोट तान्न सफल भएनन् ।
कुनै वखत भानुभक्तले इन्द्रको वगैंचा अमरावतीका रूपमा वर्णन गरेको काठमाडौँमा अहिले एक प्रकारको कस्मोपोलिटन कल्चर अर्थात् महानगरीय संस्कृतिको विकास भैरहेछ । यहाँको जीवन पद्धति पनि ‘अल्ट्रा मोडर्न’ अनि पहिले भन्दा अलि जटिल बन्दै गइरहेको छ । त्यसै पनि देशका सातै प्रदेश र ७७ वटै जिल्लाका बासिन्दाहरुको आवत–जावत हुने यो सहर देशका अन्यसहरहरु भन्दा भिन्नै परिवेश र वातावरणले गिजोलिएको छ । यहाँका रैथाने बासिन्दाहरु अल्पमतमा परिसकेको अवस्थामा अब यो झन्झन् जटिल र ‘आइसोलेटेड’ वा एकाकी बन्दै गइरहेको अवस्था छ ।
विगत २५÷३० वर्षमा महानगरको नेतृत्वको जिम्मा पाएकाहरूले यदि आफ्नो जिम्मेवारी इमानदारीका साथ निभाएको भए, यो महानगरी यस्तरी अव्यवस्थित, अस्तव्यस्त र भताभुङ्ग अवस्थामा पुग्ने थिएन होला । अहिले महानगरमा समस्यै, समस्याको डङ्गुर छ । सडक हेर्यो खाल्टा, खुल्टी मात्र नभई अस्तव्यस्त पनि छन् भने खानेपानी र ढल निकासको समस्या यहाँका जल्दावल्दा समस्यामा पर्छन् । फोहोरमैला धुँवा, धुलो, ध्वनिको समस्या जस्ताका तस्तै छन् । पाइला, पाइलामा भ्रष्टाचारको गन्ध आउँछ यहांका सरकारी कार्यालयहरुमा । भूकम्पमा भत्केका कतिपय घरहरू अझै मर्मत, सम्भारलाई पर्खँदै टेकोमा अडेका छन् भने यहाँका सयौँ मन्दिर, पाटीपौवा, पोखरी आदि संरक्षण र सम्वद्र्धनको पर्खाइमा छन् । त्यस्तै युवा वेरोजगारी, लागूपदार्थ, असुरक्षा आदि विभिन्न समस्याले गिजोलिएको छ यो राजधानी सहर ।
अब मेट्रोपोलिटन सिटी काठमाडौँका मतदाताले आफूले चुनेका प्रतिनिधिहरूबाट कतिको सन्तुष्टि प्राप्त गर्न सक्लान् वा नसक्लान् त्यो भविष्यको गर्भमा छ । विभिन्न रणनीतिहरू अख्तियार गरी राजधानीका मतदाताहरूको मन चोर्न सफल रहेका उम्मेदवारहरू ती मतदाताहरूको इच्छा, आकाङ्क्षालाई आत्मसात् गर्न सक्छन् वा सक्दैनन्, तिनीहरू राजधानीको मुहार फेर्न सफल हुन्छन् वा हुँदैनन् त्यो त समयले नै मात्र बताउन सक्छ ।
राजनीतिमा एकजना व्यक्तिले जतिसुकै ठूला कुरा गरे तापनि मतदाताहरूलाई आफ्नो करिस्मेटिक व्यक्तित्वले केही समय प्रभावित गरे तापनि विना कुशल नेतृत्व, विना टिमवर्क र व्यवस्थापकीय दक्षताको अभावमा ठूलो परिवर्तन सम्भव छैन । हामीले के सोच्न पर्छ भने विना सिद्धान्तको राजनीति र विना टीमवर्क केवल एक व्यक्तिको प्रभाव र प्रतिभा मात्रले अस्तव्यस्त महानगरमा फिल्मी शैलीले ठोस परिवर्तनको आशा गर्नु कतै मनको लड्डु घ्युसित खाने कल्पना जस्तो त हुँदैन ? धेरै कुरा समयको अन्तरालले छर्लंग पार्दै लाने नै छ ।
अन्त्यमा, एउटा प्रश्न गर्नैपर्ने हुन्छ, ‘कस्मेटिक’ राजनीतिक प्रचारवाजीको प्रभावमा परेका हामी ‘कस्मोपोलिटन’का निवासीहरूले जसलाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार सुम्पियौँ । अब तिनी आफूले गरेका वाचा, कवुल, प्रतिवद्धताअनुसार योजनाहरू कार्यान्वयन गर्नमा कतै चुकेछन् भने के ती जनप्रतिनिधिहरूमाथि आवश्यक दबाब दिने वा फिर्ता बोलाउने कुनै प्रणाली हामीसँग छ त ?