बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमूल परिवर्तनको प्रसंग र माओवादी

बुधबार, ११ जेठ २०७९, १४ : ०९
बुधबार, ११ जेठ २०७९

जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ –सिमोन

म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै मैले गाउँमा क्लबको नेतृत्व गर्ने अवसर पाएँ । समय क्रमसँगै मैले राष्ट्रिय युवा संगठन नेपाल, युवा महासंघ, सार्क युथ फेडेरेशन, सुशासन महांसघ, सुशासन महाअभियानलगायत आजसम्म आइपुग्दा झण्डै आधा दर्जन राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाको नेतृत्व गर्ने अवसर पाएँ । हाल म वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगका क्षेत्रमा काम गर्ने अल्टरनेटिभ फाउण्डेशनको नेतृत्व गरिरहेको छु ।

म यहाँसम्म आइपुग्दा सरकारका नीति निर्माणदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको छु । लेखनमा पनि रुचि राख्ने मेरा ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’ नामक् दुई पुस्तक प्रकाशित छन् । वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगबाट आएको निश्कर्षलाई पुस्तक, लेख–रचनामार्फत् पाठकमा पुर्याउने रुचि त छँदैछ, राजनीतिक पार्टीमार्फत् आम नागरिक र देशको पक्षमा काम गर्ने पनि मेरो रहर छ । मेरो जीवनको अन्तिम गन्तव्य भनेको वैज्ञानिक संस्कार र समाज निर्माणमार्फत् मानवजातिको समान अग्रगतिमा योगदान गर्नु हो ।

मेरो विचारमा जीवन अप्रकाशित पुस्तक हो, यसको निरन्तर सम्पादन गर्नुपर्छ । यो के हामीले कहिले आफ्नो बुझाई, चेतना र जीवन–व्यवहारको सम्पादन गर्ने कोशिस गर्यौं ? कि हामीले समाजबाट पाएको र सुनेको ज्ञानलाई नै चेतनाको अन्तिम स्रोत बनायौं ? के हजारौं वर्ष पहिले निर्माण भएको ज्ञानलाई आजको पुस्ताले पनि बोकिरहेर सम्पादित पुस्तक जस्तो उत्कृष्ट जीवन पाइएला वा पाइएको छ ? मलाई लाग्दैन, पाइएको छ ! त्यसकारण, उत्कृष्ट जीवनका लागि पुरानो चेतनामा कैची चलाउनु पर्छ । गलत चेतनाले भरिएका पानाहरुलाई जलाई दिनुपर्छ । जीवनलाई जहाँको त्यही राखिराख्ने मुल्य–मान्यता र परम्परामाथि निर्ममतापूर्वक जाइलाग्नु पर्छ । तब बल्ल नयाँ, सफल र उत्कृष्ट जीवन पाइन्छ, अनि मात्र मानव भएर जन्मनुको सार्थकता हुन्छ ।

म कट्टर हिन्दू परिवारमा जन्मिएको मान्छे हुनुका नाताले कुनै वेला म पनि धार्मिक थिएँ । आफ्नो धर्म–संस्कृतिविरुद्ध बोल्नेमाथि जाइ लाग्थे । मान्छेका दुःख, सामाजिक विभेद र अन्याय, लैगिंक हिंसा आदि कुरा मेरो नजरमा पर्दैनथ्यो । पर्थ्यौ त केवल धर्म–संस्कृति, परम्परा, रितिरिवाज र मूल्यहरु । त्यसकारण, मलाई परिवर्तनको प्राकृतिक नियम, सामाजिक न्यायको अनिवार्यता, नेपाली समाज निर्माणको ज्ञानको स्रोतलगायत सामाजिक मूल्य–मान्यता बुझ्न धेरै वर्ष लाग्यो । ‘देश किन बनेन’ पुस्तक लेखनमा अग्रसर भएसँगै सामाजिक, आर्थिक र राजनीतिक लगायत विविध क्षेत्रको अध्ययनमा लागे । तब मात्र मलाई अवगत भयो, हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला, गरिब, दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ ।

मलाई आज पनि याद छ, हाम्रो गाउँघरमा अलिक झुत्रोमुत्रो लगाएर जुङ्रुङ्ग भएर हिँड्न बाध्य गरिब महिलालाई कथित बोक्सीको आरोप लगाएको । म पनि त्यस्ता महिलालाई त्यसवेला बोक्सी नै देख्थे, यसकारण कि मलाई मेरो समाजले बोक्सीको हुलिया त्यस्तै वताएको थियो ।

पुस्तक लेखन कार्यले मेरो चेतनामा आमूल परिवर्तन ल्याइदियो । म कट्टर धार्मिक र परम्परावादी मान्छे, क्रान्तिकारी हुन पुगें । क्रान्तिकारी हुनु भनेको मूलतः परिवर्तनकारी अर्थात् अग्रगमनकारी हुनु हो । अर्को अर्थमा परम्परा, रुढिवादी र अन्धविश्वासी नहुनु हो । तर, हामीकहाँ परिवर्तनकारी हुनु भनेको हत्यारो हुनु हो, जस्तो जर्वजस्त भाष्य निर्माण गर्न खोजिन्छ । परिवर्तनकारी हुनुको अर्थ समानता र बराबरीको पक्षमा दृढतापूर्वक उभिनु हो । समानता र बराबरीको मुद्दा माओवादी आन्दोलनले स्थापित गरेको हो । त्यसकारण, म माओवादी हुन पुगे । माओवादी भएकोमा मलाई गर्व छ । किनकि, वैज्ञानिक दृष्टिकोण, परिवर्तन, मानव जातिको अग्रगतिको अर्को नाम नै माओवादी हो । तर, पुरानो चेतनाले नयाँ कुरालाई हेर्दा यहाँ कतिपय मानिस माओवादी आन्दोलनलाई दुत्कार्छन, जुन ठूलो दृष्टिदोष हो । 

एकैछिन माओवादीलगायत केही परिवर्तनकारी आन्दोलनलाई अर्को ढंगले हेरौं त । मानौं, प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन नभएको भए अहिले के हुन्थ्यो होला ? स्पष्ट छ, देशमा हिन्दू राजतन्त्र भइरहन्थ्यो । महिला, मधेशी, दलित, थारू, अल्पसंख्यक, गरिब आदिले हीनताको जीवन बाँचिरहेका हुन्थे । वीपी र पुष्पलालजस्ता परिवर्तनकारीहरुको जन्मले अत्याचारी राणा शासनको अन्त्य भयो भने प्रचण्डजस्ता नेताको जन्मले सामन्ती राजतन्त्रको मात्र अन्त्य गरेन, रैतीजस्तै बाँचिरहेका नेपालीलाई वास्तवमै नागरिकलाई बनायो ।

शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन, परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ । ग्यालिलियो ग्यालिली र चार्ल्स डार्बिनजस्ता वैज्ञानिकलाई मानवजातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन, समाजको विश्वास विरुद्ध बोल्ने समाज भँडुवा देखिन्छ । परिवर्तनकारीलाई दुत्कार्ने मानिस लक्ष्यविहीन हुन्छ । उसको जीवनको गन्तव्य नै हुँदैन । गन्तव्य नभएपछि गति हुने कुरै भएन । त्यसकारण, उसको दुर्गति हुन्छ । अर्थात्, आम मानिसको भन्दा फरक प्रगति हुँदैन । भलै, त्यस्ता मानिसको पनि एउटा लक्ष्यचाहिँ हुन्छ ! त्यो हो, मरेपछि कथित स्वर्ग पुग्ने ।

यथास्थितिवादी मानिसले सत्यतथ्यलाई अस्वीकार गर्छ र पहिलेदेखि मानी आएको कुरा छोड्न सक्दैन । यस्तोलाई मनोवैज्ञानिकले ‘पुष्टीकरण पूर्वाग्रह’ भएको मानिस भन्दछन् । यो मनोविज्ञान नै प्रायः मानिसको दुर्गतिको कारक हो । पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न, सोच्न अर्थात् गन्तब्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रहबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन, हत्यारो नै देख्छ ।

जो हामी परिवर्तनकारी मानिसको विरोध गर्छौ, यसको अर्थ तपाईं महिलाले पुरुष बराबर अधिकार पाउनै हुँदैन भन्ने मान्छे हो ? के तपाईं मधेशीलाई भारतीय देख्ने मान्छे हो ? के तपाईं दलित कुनै फरक प्रजातिको मानिस नभएर हिन्दू धर्मको उपज हो भन्ने थाहा नपाएको मानिस हो ? के तपाईं मानवताको पक्षधर हैन ? तपाईं स्थायी शान्ति र देश विकास हुनुपर्छ भन्ने मान्छे हैन ? यदि हैन भने तपाईं यो धर्तिका लागि आवश्यक मान्छे नै हैन ।

अन्तमा, मानव जातिको अग्रगतिका लागि हरेक नागरिक आफै परिवर्तनकारी हुनुपर्छ । परिवर्तनकारी हुन नसके पनि परिवर्तनकारीलाई मल्जल गर्नु पर्छ, उत्साहित र प्रोत्साहित गर्नुपर्छ । परिवर्तनकारीलाई दुत्कारेर परिवर्तन रोकिन्छ ? रोकिएको भए आजको भव्य र सान्दार जीवन हामीले देख्न पाउँथ्यो ? पक्कै पनि पाउँदैनथ्यौं । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको निर्देशक बन्नबाट रोकेको भए नेपालबाट यति चाँडै लोड्सेडिङको अन्त्य हुँदैनथ्यो । ठिक त्यस्तै हो, परिवर्तनको कुरा पनि । त्यसकारण, हामी सबै परिवर्तनकारी भएर हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि योगदान गर्ने कि ?

हाइलाइटः

शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन, परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चार्ल्स डार्बिनजस्ता वैज्ञानिकलाई मानवजातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन, समाजको विश्वास विरुद्ध बोल्ने समाज भँडुवा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश विकल्प
प्रकाश विकल्प
लेखकबाट थप