बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतीय माओवादीको आधार इलाका छत्तिसगढको यात्रा स्मरण

मङ्गलबार, १३ असार २०७४, ११ : ४६
मङ्गलबार, १३ असार २०७४

हामी दुईजना गौतम भट्टाचार्य र म सन् २०११ को अगस्ट महिनामा भारतीय राजधानी दिल्लीबाट झण्डै छ सय माइल दुरी रेलबाट पार गरी भारतको मध्यप्रदेश प्रान्तको जबलपुर पुग्दा बिहानको आठ बजेको थियो । मेरो साथी गौतम अलि धेरै बोल्नुपर्ने तर हक्की स्वभावको ३१ वर्षे बङ्गाली ठिटो थियो ।

हुन त हामी यात्रामा तीनजना निस्किन खोजेका थियौँ । अर्को एक जना साथी लतिका भटनागरले भने हिँड्नु भन्दा दुई दिन अगाडि मात्र आफू स्वास्थ्यको कारण जान नसक्ने बताएपछि गौतम र म मात्रै भयौँ । उद्देश्य के थियो भने एक सालअघि मात्र सन् २०१० को फरबरीदेखि जुन महिनासम्म भारतीय माओवादीले करिब पाँच छवटा  लगातार रुपमा सरकारी फौजका साथै विभिन्न गैह्रफौजी आक्रमण गरेर भारतीय शासन व्यवस्था र शासक वर्गलाई ठूलो चुनैती पेश गरेका थिए । एक्कासि यत्रा ठूलाठूला आक्रमण छोटो छोटो समयको अन्तरालमा गर्न सक्नु अपत्यारिला कुरा पनि थिए । 


लगभग हरेक साँझ जवाहरलाल नेहरु विश्व विद्यालयको गङ्गा ढावामा भेट्दा, नेहरु मेमोरियल पुस्तकालय तीनमूर्तिको क्यान्टिनमा गफिँदा या कनाटप्लेसस्थित मानसिंह प्लेसको कफी हाउसमा कफी र बिँडी खाँदै गर्दा होस् दक्षिण एसियाली क्षेत्रीय मुक्तिका कुरा  गथ्र्याैँ । यस भेकमा भारतीय हेगेमनी कसरी कम गर्न सकिन्छ ? बढ्दो अतिवाद र सामाजिक असुरक्षाका बग्रेल्ती घरेलु मुद्दामा लगभग राज्यविहीनताको अपजस भोगिरहेको भारत किन आफ्ना छिमेकी मुलुकलाई चैनले बाँच्न दिइरहेको छैन ? आदि जस्ता भारत स्वतन्त्र भएदेखि नै मगज कोक्याउने अनुत्तरित प्रश्नका गाँठाहरु पहिल्याउँदै बित्थे । त्यस्ता भेटघाटमा प्रायजसो नेपालमा माओवादीले अपनाएको राजनीतिक उपायहरु निकै चर्चामा हुन्थे । म आफै भूमिगत जीवन बिताएर नेपालमा भएका माओवादी आन्दोलनमा एउटा सक्रिय कार्यकर्ता भएर काम गरेको हुनाले मलाई मेरा भारतीय मित्रहरुले मैले भोगेका कुराहरु बारे रुचिसाथ सुन्ने गर्थें । त्यस क्रममा कहिलेकाहीँ मलाई भारतीय माओवादीले गर्दै गरेका गतिविधि अनौठा र असज लाग्थे । त्यसमा मैले सोध्ने हरेक कुरा अपरिपक्व हुन्थ्यो र दिल्लीमा भेटिने भारतीय माओवादीको दिल्ली ब्युरो सदस्य दाबी गर्ने जेएनयू र दिल्ली विश्वविद्यालयका विद्यार्थी साथीहरुले मलाई भारतको माओवादी अति प्रभावित क्षेत्र घोषित राज्यहरु झारखण्ड र छत्तिसगढका विभिन्न जिल्ला घुमेर स्थिति बुझ्न चुनौती दिइरहन्थे ।   


तिखो र प्रखर राजनीतिक चेतना भएकी स्पष्ट वक्ता लतिका दिल्ली विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रमा विद्यावारिधिकी छात्रा थिइन् । विभिन्न राज्यबाट आएका भारतीय विद्यार्थीहरुको भिडमा गौतम भट्टाचार्य र लतिका भटनागर मेरा असल मित्र थिए । मैले एकचोटि झारखण्ड या वस्तर पुगेर आऊँ भनी यी दुई मित्रसँग प्रस्ताव राखेँ । लतिकाले त हुन्छ भनिहाली तर गौतमले अर्को दिन निर्णय गर्ने भनी सोच्ने समय माग्यो । दुई तीन दिनमा भ्रमण तय भयो । आवश्यक तयारी पनि सकियो । तर लतिका जान असमर्थ भए पनि हामी दुई तम्सियौँ ।     


दिनभर स्थानीय पत्रपत्रिकामा प्रकाशित माओवादी गतिविधिबारे केही समाचार खोजी गर्दै बित्यो त्यस दिन ।  जबलपुरबाट  अब हामी छत्तिसगढको रायपुर हुँदै पहिले नारायणपुर पुग्ने निधो गरी जबलपुर बास बस्यौँ । भोलिपल्ट दन्तेवाडा, छत्तिसगढ घर भई हाल जबलपुर बस्तै माओवादी गतिविधिलाई मद्दत गर्दै आएको गौतमले चिनेको मुरिया जनजातिको कबिरा भन्ने एक जना स्थानीय माओवादी साथी रहेछ । उसैलाई गाइड बनाएर हामी रायपुरतिर लाग्यौँ । लगभग सात घण्टा लामो यात्रापछि साँझपख रायपुर पुगियो । रायपुरमा गौतमको साथी कबिराका आफन्तहरु फलफूल दोकान गरी बस्दारहेछन् । तिनका घर खेती दन्तेवाडामा पनि रहेछ । रायपुरबाट अब हामी जानुपर्ने भो नारायणपुर । धमतरी, काँकेर, कोन्डागाउँ हुँदै नारायणपुर पुगियो । नारायणपुर त्यतिञ्जेल पूरै सरकारी सैन्य शिविर झैँ देखिन्थ्यो । सरकारी खर्चमा सलवा जुडुम नामक माओवादी प्रतिकार समूहहरु हरेक कज्बै पिच्छे गठन गरिएका थिए । तिनैका सुराँकीहरु रायपुरदेखि नै हामीलाई सङ्केत गर्दै पच्छ्याउँदै आएको कुरा कबिराले हामीलाई जानकारी दियो । हामी नारायणपुर पुग्ने मान्छे काँकेरमै ओर्लेर अर्को गाडी खोज्नुपरेको थियो । सबैका हातमा मोबाइल फोन भएकाले पनि सूचना छिटो प्रसार हुन्थ्यो । 


गौतम फुस्रो कालो वर्ण थियो भने कबिरा चिल्लो कालो रङको थियो । काँकेरमा ओर्लिएर एउटा चिया पसलामा बस्दा मलाई एक स्थानीयले “एह भाइसाब नई आई ए एस अफ्सर लगता है”, भनेर गौतमसँग भनेको सुनेँ । दिखाने में इतना चिकना है, गढवाली चेहरा है, भन्दैथ्यो । मेरो अनुहारको रङ र वण ले अलि अप्ठ्यारो पार्ला कि भनेर गौतमले मलाई झस्क्याउँथ्यो । “देखो पौडियाल तुम्हारा रङ गोरा है इसिलिए बचके रहना” भनी ठट्टा गरिरहन्थ्यो ।


त्यतिकैमा हामी एउटा कालो जिपमा चढी नारायणपुरतिर लाग्यौँ । नारायणपुरको सुलङ्गामा हाम्रो बासको निधो भयो ।  अभुज मरिया, धुर्वा, मुरिया, हल्बा र गोन्ड आदिवासी जनजातिको बाहुल्यता रहेको त्यस भेकमा स्थानीय विकासका पूर्वाधार, शिक्षा, जनस्वास्थ्यको बन्दोवस्त, सामाजिक सुरक्षा र रोजगारी आदिको अत्यन्त दयनीय स्थिति पाइयो ।  त्यस रात कबिराले हामीलाई छत्तिसगढी परिकार खुर्मा, आमत र डुब्किकडी खुवायो । अबको बाटो भने बढो कठिन थियो । नारायणपुरको एक दिने बसाइका क्रममा दैनिक भाष्करका स्थानीय पत्रकार सुभाषितको सौजन्यतामा नारायणपुर आक्रमणबारे सम्पूर्ण जानकारी हासिल भयो ।  


नारायणपुरबाट कोन्डागाउँ हुँदै हामी जगदलपुर जानुपर्ने थियो । जगदलपुरमा दन्तेश्वरी मन्दिर हेर्नजाने राम्रो बहाना पनि भयो हामीलाई, त्यसपछि हाम्रो यात्रा दन्तेवाडातिर मोडियो । मनसुन सकिए पनि आकाशमा बादल अझै लेसारिएकै देखिन्थ्यो । जगदलपुरबाट दन्तेवाडा पुग्दा दिउँसोको १२ बजेको थियो । त्यसै दिन त्यहाँको जोनल कमिटीको सदस्य कमरेड विकल्पसँग भेट्ने कार्यक्रम कबिराले तय गरेको रहेछ । गौतमले बङ्गाली भाषामा के के भन्यो कुन्नि मलाई एकजना महिला छापामारको साथ लगाएर झिसमिसे साँझमा जङ्गलको बाटो लगभग दुई घण्टा हिँडाएर एउटा खुला स्थानमा पुर्याइयो ।   


ती महिला छापामार भारतको पश्चिम बङ्गाल राज्यको लालगढ नजिकैको बिनपुर गाउँकी रहिछिन् । मलाई गाइड गर्ने बङ्गाली छापामार गङ्गा थिइन् । गौतमले मेरो बारेमा भनेको रहेछ “यो नेपालको माओवादी कार्यकर्ता हो । यो भारतको माओवादी आन्दोलन बारे बुझ्न आएको हो । हामीसँगै दिल्लीमा रिसर्च गर्दैछ ।”  
एकैछिनमा गौतम र कबिरा पनि त्यसै स्थानमा ल्याइए । एउटा सानो झिप्झिपे टर्चलाइट र अनुमानका भरमा दन्डकारण्य क्षेत्रको वनका बीचमा आफूलाई पाउँदा म त्यसैत्यसै निस्सासिएको थिएँ । हामीलाई एउटा पालले बेरेको छाप्रो जस्तो लाग्ने ओसरा भित्र लगियो । त्यहाँ पहिले नै बीस बाइस जना मेरै उमेर समूहका लाग्ने युवा युवतीहरु देखिन्थे । तिनका बीचमा एकजना मन्द स्वरमा सत्तारुढ कङ्ग्रेस र यसको प्रगतिशील गठबन्धनद्वारा भएका राज्य आतङ्क र दमनका विरुद्ध माओवादी आन्दोलनको अडान र महत्वबारे बताइरहेका थिए । ती व्यक्ति रहेछन् कमरेड विकल्प । भारतीय कम्प्र्याडोर बुर्जुवा, क्रोनी क्यापिटिस्म, सामन्ती राज्यसत्ताका भारतीय दलाल पुँजीपति वर्ग, भनसुन र नातावाद कृपावादमा अल्झेको पुँजीवाद आदि सबैमा सबैखाले मोर्चाबाट आक्रमण नगरी आन्दोलन सफल नहुने कुरा बारम्बार दोहोर्याउँथे ।


लगभग एक घण्टा कुरेपछि विकल्पले मतिर इसारा गरेर  बोलाए । मअघि बढेँ । नेपालबारे उनले मलाई केही बताउन भने । मैले शान्ति प्रकृया बारे कुरा राखेँ । विकल्पसँग मैले तिहाड जेलमा कोबाड गान्धीसँग भएका छोटो कुराकानी बारे पनि बताएँ । उनले भने तात्कालीन भाकपा माओवादीका प्रवक्ता कमरेड आजादले नेकपा माओवादीलाई लेखेको खुला पत्रमा माओवादी आन्दोलनका बीसौं शताब्दीमा भियतनाम, इन्डोनेसिया, चिले र फिलिपिन्समा भएकै कमजोरी दोहोर्याउँदै गएको पनि बताए ।  


विकल्पको तेलुगु लवजको अङ्ग्रेजी र हिन्दी त्यति राम्रोसित बुझिँदैनथ्यो । तैपनि जति सक्दो धेरै कुरा थाहा पाउनुपर्ने मेरो बाध्यताले मैले उनले जे भने पनि सुनिरहेंँ । आजादलाई भारतीय सुरक्षा फौजले हत्या गरेपछि नेकपा माओवादीले कुनै संवेदनशीलता पनि व्यक्त नगरेको, नेपाली जनयुद्धमा भारतीय छापामारले गरेको योगदानलाई कुनै कदर सम्मान पनि नदिएको गुनासो गरे । 


सन् २०१० का ठूला फौजी कारवाहीपछि सरकारी पक्षबाट सोचेको भन्दा बढी अप्रेसनहरु भएका थिए । छातीकै कुरो गर्दा हामीले अत्यन्त योग्य छापामार र कमाण्डरहरु गुमायौँ । म र मेरो सांङ्ठनिक हैसियत थाहा पाएपछि उनी भन्दै थिए,  “के अब नेपालमा जनयुद्ध सकियो त ? सक्नु हुन्छ भने तपाईंँहरु जस्ता साथीहरु पुनर्गठित भएर तत्काल छापामार सङ्घर्षमा जानसक्नु पर्छ । भारतमा भन्दा राम्रो  सफलता हासिल गर्न सकिन्छ ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका पौड्याल
मातृका पौड्याल

लेखक नेकपा माओवादी केन्द्र, विदेश विभाग सदस्य एवम् परराष्ट्र मामिलाका अध्येता हुनुहुन्छ ।
 

लेखकबाट थप