अब नेपाल कहिले आउँछन् सलमान ?
बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरि सरेको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको टुर अन्तिम समयमा आएर आयोजक पक्षले स्थगित गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको समय भएकोले कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको थियो ।
कार्यक्रम स्थगित भएसँगै अब सलमानको टुर नेपालमा नहुने र आयोजकले फेरि पनि सर्वसाधारणको पैसा उठाएर खाएको चर्चा हुन थालेको छ । के अब सलमानको कार्यक्रम हुँदैन त ? सलमानको कार्यक्रम अहिले केही समयलाई मात्र स्थगित गरिएको आयोजक मध्येका एक शिव सुवेदीले बताए । ‘अहिले समय अनुकूल र टिकट पनि राम्रो बिक्री नभएकोले कार्यक्रम सारेका हौं’ सुवेदीले भने, ‘सलमान र बलिउड टिमसँग नयाँ मितिका लागि कुराकानी भइरहेको छ ।’ छिट्टै कार्यक्रमको नयाँ मिति सार्वजनिक हुने सुवेदीले सुनाए । उनले थपे, ‘सकभर दशै अगाडि गर्ने कोसिसमा छौ । केही दिनमै निर्णय हुन्छ ।’
प्रोडक्सन सामान फिर्ता
ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रूपको पार्टनरशिप रहेको कार्यक्रमको तयारी करिब सकिएको थियो । बलिउडबाट २८ ट्रक नेपाल भित्रिसकेको थियो । त्यसमा कार्यक्रममा बज्ने साउन सिस्टमदेखि स्टेजसम्म रहेका थिए । जसमा खर्च डेढ करोड रहेको थियो । नेपाल आएका उक्त सामान फिर्ता भएको शिव सुवेदीले जानकारी दिए । ‘अब कार्यक्रम कहिले हुन्छ निश्चित छैन’ सुवेदीले भने, ‘प्रोडक्सन टिमको सामान राखेर अहिले फाइदा छैन भनेर फिर्ता गरिदियौ’ ।
जम्मा ७ लाखको टिकट बिक्री
सलमानको ‘दबंग टुर रिलोडेड’ अहिलेसम्म दुई पटक स्थगित भएको छ । हरेकपटक पैसा उठाएर अन्तिम समयमा कार्यक्रम स्थगित गर्ने गरेको आरोप आयोजकमाथि छ । त्यो आरोप लाग्नु स्वभाविक पनि हो । तर आरोपमा सत्यता नरहेको आयोजक शिव सुवेदी बताउँछन् ।
हामीलाई करोडौं उठाएर कार्यक्रम स्थगित गरेको आरोप लाग्नसक्छ । तर हाम्रो ६, ७ लाखको मात्र टिकट बिक्री भएको छ’ सुवेदीले भने ‘हामीले टिकट डिजिटल प्लेटफर्म प्रभु टेक्नोलोजी मार्फत बिक्री गरेका छौ । कसैलाई विश्वास लाग्दैन भने हेर्न सकिन्छ ।’ टिकट निरन्तरता दिन चाहनेले अर्काे कार्यक्रममा यसै टिकटबाट सहभागी जनाउन सक्ने र निरन्तरता गर्न नचाहनेले आफ्नो टिकटको पैसा फिर्ता लिन सक्ने सुवेदीको भनाई रहेको छ ।
को–को आउँदै थिए कलाकार ?
कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा, ज्याकलिन फर्नाडिज सहितको जम्बो टिम नेपाल आउने तयारी थियो । तीमध्ये पछिल्लो समय अभिनेत्री ज्याकलिन फर्नाडिज माथि लागेको एक मुद्दाका कारण उनको ठाउँमा प्रजा हेगेडे टिममा सहभागी भएकी थिइन् । ज्याकलिनलाई भारत सरकारले देश छोड्न प्रतिबन्ध लगाएको छ ।
सलमानसहित बलिउडको कलाकार टिमलाई आयोजकले ४ करोड बढी खर्च गरेर ल्याउन लागेको हो । कलाकार टिमलाई दिनुपर्ने रकमको ७५ प्रतिशत रकम भुक्तानी भइसकेको आयोजक शिव सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार