सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षकले चाहेमा ‘परिवर्तन’ गर्न सकिने रहेछ

बुधबार, ११ जेठ २०७९, ११ : ५१
बुधबार, ११ जेठ २०७९

महामारीका कारण अघिल्लो शैक्षिक सत्र मुस्किलले ६ महिना चल्यो । एकातिर वार्षिक परीक्षा नजिकिँदै थियो भने अर्कोतिर सारा दुनियाँ भयभित बनाउँदै कोभिडको दोस्रो लहर फैलिँदै थियो । चारैतिर फेरि मृत्युको सन्त्रास फैलिदै थियो । यस्तैमा पनि तालिम केन्द्र तुलसीपुरले वैशाख ५ गतेदेखि माध्यमिक तह नेपाली विषय शिक्षकका लागि पेसागत तालिमको आयोजना गर्यो ।  दाङ, बाँके, बर्दिया, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान जिल्लाका गरी जम्मा २५ जना शिक्षकले तालिममा भाग लियौँ । तालिम निकै उत्साहबर्द्धक रूपमा चलिरहेको थियो । सातौँ ÷आठौँ दिन बित्दा नबित्दै महामारीको हाहाकार फैलिन थाल्यो ।  बन्दाबन्दी हुने सूचना पुनः प्रसारण हुन थाले । टाढाका शिक्षक साथीहरू निकै आत्तिन थाल्नुभयो । दस दिने तालिम नवौँ दिनमा हतार हतार सकेर हामी आआफ्नो बाटो लाग्यौँ । नभन्दै भोलिपल्टदेखि देशभर ‘लकडाउन’ सुरु भयो ।

 विद्यालय ठप्प भए । बालबालिका सबै घरमै बन्द । शिक्षक बिलखबन्द । अभिभावक त्रस्त । सरकारले निर्देशन दियो, आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल तयार गर !’ त्यसै गरियो । एसईईको नतिजा सार्वजनिक भयो । सबै आश्चर्यचकित । दुई वर्षदेखि पढाइलेखाइ लथालिङ्ग छ।  तैपनि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको आँकडा झन्डै नौ हजार थियो । जबकि महामारी अघिको सामान्य अवस्थामा यो संख्या मुस्किलले चार÷पाँच जनामा सीमित हुन्थ्यो । कतिपयले चासो, चिन्ता र कौतुहलता पनि व्यक्त गरे । जसले साँच्चिकै चासो राख्नुपर्ने उसले भने ‘बाल मतलब’ गरिदियो ।  

जताततै मृत्युको समाचार । सबै निराश, हतास, उदास र छटपटी । टेलिभिजन खोल्यो, ‘सर’ सिकिस्त । रेडियो खोल्यो, विद्यार्थीको मृत्यु, । फेसबुक हेर्यो, ‘मिस’ भेन्टिलेटरमा । म्यासेन्जर खोल्यो, ‘सर बित्नुभो !’ सर्वत्र हाहाकार । 

समय बित्दै गयो । विस्तारै मृत्युको कालो छाया च्यातेर मानिसहरूले बाहिर चियाउन थाले । डरको ढिस्कोमा टेकेर आशाका पखेटा चलाउन थाले । सहरी इलाकाका केही सम्पन्न र प्रविधिमा पहुँच भएका विद्यालयहरूले अनलाइन कक्षाको प्रचार र अभ्यास गर्दै थिए । ग्रामीण, दुर्गम तथा विपन्न अवस्थाका सामुदायिक विद्यालयहरू भने मूकदर्शक भएर टुलुटुलु हेर्न विवश थिए । कतिपय विद्यालयहरूले अनेक प्रकारका विकल्पको अभ्यास गर्ने प्रयास गरे । सफल र फलदायी हुन सकेनन् ।

सरकारले असारमा सङ्क्षिप्त कार्यविधिसहित निर्देशन जारी गर्यो । आवश्यक पूर्वाधार र प्रविधि विनाको फगत निर्देशन कार्यान्वयन हुन सम्भव थिएन, तुहेर गयो । पुनः भदौ अन्तिम सातातिर पाठ्यक्रम समायोजन सहितको वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्न विस्तृत निर्देशिका जारी गर्यो । त्यसैलाई पछ्याउँदै विद्यालयहरू क्रमशः चल्मलाउन थाले । कतै वैकल्पिक माध्यम, कतै नियमित कक्षा सञ्चालन । आआफ्नो विशिष्ट अवस्थाअनुसार सिकाइ क्रियाकलाप शङ्खेकिराझैँ  घस्रिन थाल्यो ।

उता म भने आफ्नै शिक्षण कर्मको चिन्तन–मननमा ध्यानमग्न थिएँ ।  औँला भाँच्दै यसो गन्ती गर्छु । शिक्षण पेसामा लागेको पनि झन्डै २४ वर्ष भएछ । सुरुवाती दिनमा ‘म राम्रो पढाउँछु’ भन्ने आत्मविश्वास थियो । यद्यपि अहिलेसम्म पनि मेरो शिक्षण क्रियाकलापप्रति कसैले गुनासो गरेको मैले सुनेको छैन । म नियमित पठनपाठनबाहेक अतिरिक्त क्रियाकलापमा निकै चासो राख्ने शिक्षक भएकोले पनि मेरो मूल शिक्षण कार्यलाई खासै टिप्पणी नगरेका हुन् कि भन्ने पनि लाग्छ अचेल । 

म प्रारम्भमा कानुन विषय पढेर शिक्षणमा लागेको थिएँ । पछि सङ्काय परिवर्तन गरी मानविकीतिर गएँ । त्यति बेलासम्म पनि मलाई के लाग्थ्यो भने “मैले निकै राम्रोसँग पढाइरहेको छु ।’ पछि म शिक्षा सङ्कायमा प्रवेश गरेँ । जब शिक्षा शास्त्रको अध्ययन गर्दै गएँ, अनि वर्षौदेखि गर्दै आएको आफ्नै कार्यको पुनरावलोकन गर्न थालेँ । अहँ, आफ्नै काम आफैँलाई चित्त बुझ्न छाड्यो । कक्षाकोठामा जान्छु । के के नमिलेझैँ लाग्छ । पूरा घण्टी बिताएर फर्किन्छु, अहँ चित्त बुझ्दै बुझ्दैन । म विचलित हुन थालेँ । बेचैनी बढ्न थाल्यो । परीक्षा आउँछ, आफैँले बनाएको प्रश्नपत्र शिक्षा शास्त्रको कसीमा राखेर हेर्छु, मिल्दै मिल्दैन । उत्तरपुस्तिका जाँच्छु, नतिजा विश्लेषण गर्छु, अहँ चित्त बुझाउने ठाउँ कतै भेटिदैन । म भित्रभित्रै निकै बेचैन थिएँ तर बाहिर काम यथावत् चलिरह्यो । यस्तै पाराले केही वर्ष गुज्रिए ।

२०६९ सालमा म रुकुम (पूर्व) महत गाउँको जनजागृति माविमा कार्यरत थिएँ । १७ वर्षपछि शिक्षक सेवा आयोगले विज्ञापन खोल्यो । पहिलोपल्ट ख्याल ख्याल सम्झिएँ, तयारी पुगेन । म नराम्ररी गुल्टिएँ । मेरो नाम विस्थापित शिक्षकको सूचीमा पर्यो । फेरि राहत शिक्षकमा पुनस्थापित भएँ । पूर्वको महतबाट सरुवा भएर पश्चिमको चौतारा पुगेँ । एक महिना नबित्दै फेरि त्रिपुरा माविमा पठाइयो । विवश भएर जताजता लखेट्छन्, उतैउतै पुगियो ।  मेरो अहङ्कार धुलोपिठो भयो । मेरो भ्रमको पर्दा ध्वार्रै च्यातियो । समयले मलाई मिथ्याको मझेरीबाट यथार्थको आँगनमा थचारिदियो । आयोगले मेरो खास ‘पाइन’ सम्झाइदियो ।

मैले हरेस खाइन । धुलो टकटकाउँदै फेरि उठेँ । २०७२ मा पुनः विज्ञापन खुल्यो । वैशाख १२ को भूकम्पले देश थरहरी थियो । मानिसहरू त्राहिमाम् । म भने ‘अर्जुनदृष्टि’ लिएर गुप्तवास थिएँ । चारैतिर कोलाहल सन्त्रास थियो । म भने गुप्त कोठाभित्र तपस्यामा लीन थिएँ । घरपरिवार डराउने गरी म अध्ययनमा एकोहोरिएको थिएँ । परीक्षाको समय आयो । लिखित दिएँ, अन्तर्वार्ता दिएँ । मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका १५ जिल्लाका १४४४ प्रतिस्पर्धीमध्ये म दोस्रो भएँ । अन्ततः दीपेन्द्र मावि मानपुर, दाङमा मेरो पोस्टिङ भयो ।

मेरा सामु दुई ओटा चुनौती खडा भएको मैले महसुस गरेँ । पहिलो मैले आयोगको परीक्षामा हासिल गरेको उत्कृष्टतालाई कक्षाकोठामा सावित गरेर देखाउन सक्नुपर्ने थियो । दोस्रो शिक्षक सेवा आयोगको निष्पक्षता र विश्वसनीयतालाई पुष्टि गर्दै गरिमा उचो बनाउनु थियो । म उपायको खोजीमा थिएँ । यस विद्यालयमा काम गर्न थालेको एक वर्षपछि ‘अनुशासन, लगनशील, कर्तव्यनिष्ठ र अतिरिक्त क्रियाकलापमा विशेष योगदान पुर्याएको’ भन्दै विद्यालयले ‘वर्षको उत्कृष्ट शिक्षक’ भनेर पुरस्कारसहित सम्मान् गर्यो । तर मलाई आफ्नै कामप्रति सन्तुष्टि मिलिरहेको थिएन ।

उपायकै खोजीको क्रममा मैले गिजुभाइको पुस्तक ‘दिवास्वप्न’  फेला पारेँ । त्यो पुस्तकले मलाई भित्रैदेखि हल्लाइदियो । म अरू पुस्तकको खोजीमा लागेँ । त्यस क्रममा मैले तेत्सुको कुरोयानागीको ‘तोत्तोचान’जोन हल्टको ‘असफल स्कुल’, खगराज बरालको सिकाइ शैली, ओशोको ‘शिक्षामा क्रान्ति’, प्राडा विद्यानाथ कोइरालाको ‘शिक्षामा रुपान्तरण’, शिक्षामा ‘सोचान्तरण’ मारिया मन्टेश्वरीको जीवनी, जितबहादुर शाहका शैक्षिक गन्तव्य, शिक्षा र सिर्जना आदि पुस्तक खरिद गरेँ र अध्ययनलाई निरन्तरता दिएँ ।

साथीभाइहरूको सुझावअनुसार ‘थ्री इडियट’, ‘तारे जमिन पर’, ‘रामार्जुन’, ‘हिच्की’, ‘सुपर थर्टी’, चक एण्ड डस्टर’, ‘म्याडम गीता रानी’ लगायतका हिन्दी फिल्म पनि हेरेँ । यी पुस्तक, फिल्म, शिक्षक मासिक लगायतका पत्रपत्रिका, विभिन्न शैक्षिक अभियानका भिडियो र समाचारहरूको अध्ययनपश्चात मैले अठोट गरेँ कि,अब मैले सिकाउने शैली बदल्नै पर्दछ ।’

अठोट त गरेँ तर कसरी कहाँबाट सुरु गर्ने ! केही मेलोमेसो पाउन सकिन । यस्तैमा कोभिडको हाहाकार फैलियो देशै ठप्प । लकडाउनमा हामीले आफ्नै घर बनायौँ । घरमा इन्टरनेट जडान गरियो । अब इन्टरनेटको सहज पहुँच भएपछि म आफ्नो उपायको खोजीमा लागेँ । विभिन्न वेवसाइट र युट्युबमा खोजी खोजी आफूलाई चाहिने कुरा हेर्न र पढ्न थालेँ । अन्तमा मैले खोजेको कुरा प्राप्त गरेरै छाडेँ । मलाई आयोगले चुनौती खडा गरिदियो, पुस्तकहरूले ऊर्जा प्रदान गरे र भर्चुअल कक्षाका भिडियोहरूले मार्गदर्शन गरिदिए । तर पहिलो वर्ष कोरोना महामारीले गर्दा मैले चाहेर पनि कक्षा कोठामा प्रयोग गर्न पाइन ।

दोस्रो वर्ष वार्षिक परीक्षा सकिदा नसकिँदै पुनः लकडाउन भयो । विद्यालय बन्द भए । म आफ्नो लक्ष्य र उद्देश्यमा एकोहोरिसकेको थिएँ । पहिलो वर्ष कुनै एउटा कक्षालाई नमुनाको रूपमा प्रयोग गर्ने मनासायले कक्षा नौलाई छनोट गरेँ । लकडाउनको अवधिभर प्रत्येक पाठका शिक्षण सिकाइ योजनासहित डिजिटल शिक्षण सिकाइ सामग्री तयार गरेँ । हरेक पाठसँग सम्बन्धित मल्टिमिडियायुक्त पावरप्वाइन्ट स्लाइडहरू तयार गरेँ । परियोजना कार्यका खाका तयार गरेँ । एकाइ परीक्षाका लागि प्रश्नपत्र निर्माण गरेँ । मूल्याङ्कन फारामका एक्सेल सिट तयार गरेँ । विद्यार्थीको दैनिक उपस्थितिको अभिलेख राख्न अटोमेटेड डिजिटल हाजिरीको डिजाइन फाइल तयार गरेर राखेँ । कुन विधाको पाठलाई कसरी सिकाउने होला भन्ने विस्तृत चिन्तन मनन गरिरहेँ । लकडाउनभरि मेरो सारा समय त्यसमै बित्यो ।  

भदौ अन्तिम साता विद्यालय खुले । म योजनासहित कक्षाकोठा गएँ । पहिलो दिन विद्यार्थीको पूर्वज्ञान थाहा पाउन कक्षा ८ को नेपाली विषयसँग सम्बन्धित विषयवस्तु समेटेर तयार पारिएको प्रश्नपत्र दिएर परीक्षा लिएँ । घरमा गएर कापी परीक्षण गर्दा औसत उपलब्धि मात्र १९ आयो । म झस्किएँ । म अत्तालिएँ । तर हरेस खाइन, सम्हालिएँ । आफ्ना योजनालाई कक्षाकोठामा प्रयोग गर्न सुरु गरेँ । आफ्नो अनुशासन र सक्रियतालाई दोब्बर बनाएँ । सिकाइ क्रियाकलापलाई पूर्ण रूपमा डिजिटलयुक्त बनाएँ । आफ्नो र विद्यार्थीको उपस्थिति र समयपालनमा विशेष ख्याल पुर्याइयो ।

यसरी दिनप्रतिदिन विद्यार्थीसँग अन्तरक्रिया बढ्दै गयो । विस्तारै केही विद्यार्थीहरू विभिन्न समस्याबाट गुज्रिरहेका छन् भने महसुस भयो । विद्यार्थीहरूलाई आफ्नो कथा लेखेर ल्याउन भनेँ । त्यसले विद्यार्थोको पारिवारिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या बुझ्न सजिलो भयो । विधाको स्वरूपअनुसार सिकाइ क्रियाकलापमा विविधता अपनाइयो । सिकाइलाई जीवन्त र व्यावहारिक बनाउन इन्टरनेटबाट सन्दर्भ सामग्री प्रयोगलाई महत्त्व दिइयो ।

सिकाइसँग गीतसङ्गीत जोडियो । कथालाई अभिनयका माध्यमद्वार प्रस्तुत गर्यौँ । वक्तृत्वकला कार्यक्रमको आयोजना गरेर धुमधामसँग उत्सवमय बनायौँ । चिठी र दैनिकीलाई परियोजना कार्यका रूपमा अभ्यास गर्यौँ । यस बिचमा अभिलेखिकरण गरिएका मात्रै गन्ती गर्दा पनि करिब ६४ ओटा गृहकार्य र ७ ओटा परियोजना कार्य गरेछौँ । कक्षाकार्य त कति हो कति । अर्धवार्षिक परीक्षामा उपलब्धि १९ बाट बढेर ३२ पुग्यो ।

बिचमा फेरि महामारीको सन्त्रास फैलियो र एक महिना विद्यालय बन्द भयो । बिदामा केही परियोजना कार्य र पुराना अभ्यासहरूलाई दोहोर्याउने काम भयो । शैक्षिक सत्रको अन्तिमतिर आउँदा हामी ‘सय रङ इन्द्रेणी’को सबैभन्दा राम्रो लय बनाउने र त्यसलाई सङ्गीतबद्ध गरी नृत्यसमेत तयार गर्ने छलफल गर्दै थियौँ, वार्षिक परीक्षाको सूचना आइपुग्यो । यस वर्षको सिकाइ योजना अनायास यहीँ बिट मार्नुपर्यो ।

वार्षिक परीक्षा भयो । परीक्षा हलबाट निस्किँदा केही विद्यार्थी भाइबहिनीहरूलाई “कस्तो ग¥यौ ? भनेर सोधेँ । प्रफुल्ल मुद्रामा लाडे भएर तिनीहरूले भने, सर पनि कस्तो के ! किन त्यति थोरै समय राखिदिएको ? हामी अझैँ कति धेरै लेख्ने थियौँ !’ मैले सन्तोषको सास फेरेँ र भनेँठिक छ त नि, अरू विषय राम्रो गर, नेपालीमा फस्ट भइसक्यौ ।’ अन्तिम परीक्षा भयो । नतिजा प्रकाशन पनि भयो । मैले नेपाली विषयको नतिजा विश्लेषण गरेँ, प्रयोगात्मक अङ्क बाहेकको औसत उपलब्धि १९ बाट बढेर ३२ हुँदै अन्तिममा ४२ पुगेको छ । मैले सन्तोषको सास फेरेँ । १९ बाट ४२ पुर्याउन मैले र विद्यार्थीले कति मेहनत र समय खर्च गर्यौँ र के के गर्यौँ त्यो लेखिसाध्ये छैन । केवल हामी भोग्नेलाई मात्र थाहा छ । तर आज जो आनन्दानुभूति भएको छ, त्यो पनि हामीले मात्र महसुस गर्न सक्छौँ ।

आफ्नो उद्देश्य प्राप्तिको लागि काममा एकोहोरो लागिरहँदा घरपरिवारको लागि निकै अव्यावहारिक भइयो । बाआमाका लागि निठुर छोरो भइयो । दुई वर्ष भएछ भेट्न पनि जान पाइएको छैन । समाजको नजरमा एकदमै असामाजिक जस्तो भएको छु । साथीभाइको नजरमा एकलकाँटे भएको छु । तर आशा र विश्वास छ, सबैले विस्तारै बुझ्दै जानु हुनेछ । जो जसले प्रेरणा, ऊर्जा र मार्गदर्शन प्रदान गरिरहनु भएको छ, उहाँहरूप्रति जीवनभर आभारी रहिरहने छु । 

यो शैक्षिक सत्र २०७९ मा अब कक्षा दसमा गएका यी विद्यार्थीहरूको नेपाली विषयको औसत उपलब्धि कम्तिमा ५०–६० सम्म पुर्याउने, यो सिकाउने शैलीलाई क्रमशः अरू कक्षामा पनि प्रयोग गर्ने र कक्षा ८ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा कम्प्युटमै गर्न लगाउने मेरा तीनओटा महत्वाकांक्षी योजना रहेका छन् । आशा र विश्वास छ, हामी सफल हुनेछौँ ।

अन्तमा, हामी सधैँ यसो भएन, त्यसो भएन । यो पनि बेठिक, त्यो पनि बेठिक । सरकारै खत्तम छ । नेता, मन्त्री सब खराब छन् । हेडमास्टर नै झुर छ । अध्यक्ष नै बेकूफ छ भन्दै अरूलाई मात्र औँलो उठाइरहन्छौँ । अरूलाई चोर औँलो उठाउँदै गर्दा बाँकी औँला आफैँतिर फर्किएको विचार गर्दैनौँ । मूल समस्या यही हो । शिक्षक ठिक भए सबै ठिक हुँदै जानेछ ।

वीपीले भनेझैँ ‘ठूलो मान्छे र असल मान्छे’ चिन्नु छ । ओशोले भनेझैँ ‘भ्रम, पाखण्ड र रुढिलाई उपेक्षा गर्दै’ अघि बढ्नु छ । विकासानन्दले भनेझैँ ‘संसारलाई बदल्न आफैँबाट सुरु गर्नु’ छ । त्यसैले, संसारलाई बदल्नु छ सुरु गरौँ आफैँलाई । आफू राम्रो भए पो त भन्न मिल्छ अरूलाई ।’

लेखक दीपेन्द्र माध्यमिक विद्यालय मानपुर, दाङका शिक्षक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप