बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पूर्व प्रेमीले उपहारमा दिए ‘टेडी बियर’ : बिस्फोट हुँदा दुलहाको आँखा गुम्यो

बुधबार, ११ जेठ २०७९, ११ : ४८
बुधबार, ११ जेठ २०७९

‘राजेशले मेरी जेठी छोरीलाई मायाको नाममा सात वर्षसम्म धोका दियो । उनीहरुका छोरी पनि भए, तर उसले मेरी छोरीसँग बिहे गरेन । उसले उपहारमा टेडी बियर दिए, त्यसभित्र बम थियो ।’

नवविवाहित छोरी सलमाका पति अर्थात् ज्वाइँ लतेशसँगको घटना सुनाउँदै हरिश दलवी भन्छन्, ‘उपहार खोल्नेबित्तिकै त्यो बिस्फोट भयो र मेरो ज्वाइँको दुबै आँखा गुम्यो, म अब के नै गर्न सक्छु... आफ्नो एउटा आँखा ज्वाईंलाई दिन सक्छु ।’

विवाहको दोस्रो दिन उपहार खोल्ने क्रममा यो घटना भएको उनले बताए । यो टेडी बियर पनि उपहारमा थियो, जसमा राखिएको बम बिस्फोट हुँदा हरिशका ज्वाइँको आँखा गुम्यो र हातमा गम्भीर चोट पनि लाग्यो ।

गुजरातको नवसारी जिल्लाको वानसाडाको मीन्धभारी गाउँका हरिश दलवीका दुई छोरी छन् । उनले आफ्नी कान्छी छोरी सलमाको विवाह निकै धूमधामका साथ गरेका थिए ।

विवाह समारोह राम्ररी सम्पन्न भएकोमा सम्पूर्ण परिवार खुसी भएको हरिश बताउँछन् । तर बिहेको भोलिपल्टै छोरी सलमाको फोनले उनको होस हवास नै गुम्यो । छोरीले बिस्फोट भएको र श्रीमान् लतेश गम्भीर रुपमा घाइते भएको बताएकी थिइन् ।

बीबीसीसँग कुरा गर्दै हरीश भन्छन्, ‘त्यतिबेला म आफ्नो घरमा आराम गरिरहेको थिएँ र उनले उपहार बिस्फोट भएको बताइन् । म दौडेर ज्वाइँको घरमा पुगेँ र उहाँलाई र उनका भतिजो जियांशलाई निकै नाजुक अवस्थामा देखेँ । त्यहाँ चारैतिर रगत लत्पित्तिएको थियो ।’

ज्वाइँलाई एउटा आँखा दिन्छु

हरिश भन्छन्, ‘विस्फोटपछि पूरै घर ध्वस्त भएको थियो । हामीले लतेश र उनका भतिजोलाई अस्पताल लिएर गयौं । मेरी छोरीले सबैजना मिलेर उपहार खोलिरहेको र केही समयपछि आफू जेठानीसँग चिया बनाउन भान्सामा गएको बताइन् । केही बेरपछि उनीहरुले बिस्फोटको आवाज सुनेको बताए । उनीहरुले  टेडी बियरमा बिजुलीको बोर्डमा राखिएको देखे र त्यो विस्फोट भएको थियो । उनका श्रीमान् र भतिजा रगतले लतपतिएका थिए ।’

उनी भन्छन्, ‘यो उपहार कसले दियो भनेर हामी सोच्न थाल्यौँ । हामीलाई यो टेडी बियर मेरी जेठी छोरी जागृतिकी साथी आरतीले दिएको याद भयो ।  हामीले आरतीलाई सोध्दा उनले त्यो उपहार खासमा राजेश पटेलले जागृतिलाई दिनका लागि उनलाई पठाएको बताइन् । राजेश त्यहि व्यक्ति हुन् जसले मेरी छोरी जागृतिलाई धोका दिए... उनी सात वर्षसम्म जागृतिसँग थिए र उनीहरुका एक छोरी पनि छन् ।’

‘मेरी जेठी छोरीको जीवन बर्बाद गर्ने व्यक्तिले अहिले कान्छी छोरीको जीवन किन बर्बाद गरिरहेको छ ? मेरो ज्वाइँको देब्रे हातमा गहिरो चोट लागेको छ र डाक्टरले उनको आँखा पनि गुमेको बताएका छन् । ’

‘म मेरो ज्वाइँको लागि अरू केही त गर्न सक्दिनँ, तर म उहाँलाई आँखा आफ्नो एउटा आँखा दिन्छु ।’

वासन्डा प्रहरी चौकीका अनुसन्धान अधिकृत वीरेन्द्र सिंह वाघेलाले भनेका छन्, ‘राजेश पटेल त्यही व्यक्ति हुन् जससँग जागृति लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए ।’

उनी भन्छन्, ‘हामीले जागृतिकी साथी आरतीलाई सोधपुछ गर्‍यौं र उनले यो टेडी बियर उनलाई राजेश पटेलले दिएको बताएकी छिन् । राजेशले रुँदै जागृतिले उनीबाट कुनै उपहार नलिने तर यो उपहार आफ्नी छोरीलाई दिन चाहेको बताएका थिए । आरतीले यो टेडी बियर बिहेको दिन दलवी परिवारलाई दिएकी थिइन् । आरतीको बयानको आधारमा हामीले उनलाई पक्राउ गरेका छौँ ।’

राजेश

‘मेरो दाइको जीवन बर्बाद भयो’

राजेश र जागृतिको सम्बन्धबारे हरिश भन्छन्, ‘मेरी छोरी र राजेश पटेल सँगै काम गर्थे, उनीहरू प्रेममा परे । उनले मेरी छोरीलाई विवाह गर्ने वाचा गरेका थिए त्यति नै बेला  उनी गर्भवती भइन् । उनीहरुको एउटी छोरी पनि छ । तर उनले बिहे गर्न अस्वीकार गरेपछि जागृति मेरो घर फर्किइन् ।’

‘राजेशले जागृतिलाई मार्ने धम्की दिने गर्दथे । यदि उसले साँच्चै यस्तो गर्छ भन्ने थाहा पाएको भए प्रहरीलाई खबर गरिदिने थियौँ ।’

सुरत रेन्जका आईजी राजकुमार पाण्डियनले यस विषयमा भने, ‘टेडी बियरलाई फरेन्सिक प्रयोगशालामा पठाउँदा त्यसमा डेटोनेटर र जिलेटिन स्टिक रहेको फेला परेको थियो । हामीले राजेश पटेलसँग सोधपुछ गर्दा उनले आफ्ना साथी महेश पाण्ड्याबाट जिलेटिन स्टिक किनेको पत्ता लगायौँ जो डेटोनेटर र जिलेटिन बेच्ने कम्पनीमा काम गर्छन् । यसको प्रयोग इनारमा विस्फोट गराउनका लागि प्रयोग गरिन्छ ।’

‘उनले यी चीजहरू टेडी बियरमा यसरी राखेका थिए कि बिजुलीको प्लगमा हाल्ने बित्तिकै विस्फोट हुन्थ्यो । जागृति र उनकी छोरीलाई मार्ने मनसायले उनले यो उपहार आफ्नी एक मिल्ने साथी आरतीमार्फत पठाएका थिए ।’

पाण्डियनका अनुसार राजेश पहिल्यै विवाहित थिए र उनका दुई सन्तान छन् । जागृतिलाई प्रलोभनमा राखेर लिभ इन रिलेशनशिपमा राखेपनि विवाह नगरेको दलवी परिवारको आरोप छ ।

प्रहरीका अनुसार जागृतिले बारम्बार राजेशलाई विवाहका लागि जोड दिँदै आएको र यस विषयमा दुवैले वकिललाई पनि भेटेका थिए । वकिलले राजेशले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरेसम्म यो विवाह हुन नसक्ने बताएका थिए ।

यसपछि जागृतिले राजेश पटेललाई छाडेर ६ वर्षीया छोरीलाई लिएर बुबाको घर आइन् ।

तर, त्यसपछि पनि राजेशले उनीहरुलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको भनाइ छ ।

प्रहरीले विस्फोटक पदार्थ उपलब्ध गराउने राजेशका साथी महेश पाण्ड्यालाई पनि पक्राउ गरेको छ ।

यसै क्रममा लतेशकी बहिनी अमिता पनि यो दुर्घटनाबाट स्तब्ध छिन् । उनी भन्छिन्, ‘राजेश पटेलको मेरो भाउजुको परिवारसँग झगडा भयो तर मेरो भाइको के गल्ती थियो ? उनले दुवै आँखा र हात गुमाए । उनको जीवन बर्बाद भयो ।’

यस्ता घटनाका अभियुक्तको मानसिकताबारे मनोचिकित्सक डा. प्रशान्त भिमानी भन्छन्, ‘त्यस्ता मानिसहरु इम्पल्स कन्ट्रोल डिसअर्डरको शिकार हुन्छन् । उनीहरुको ‘तिमि मेरो हैन भने म अरु कसैको हुन दिन्न’ भन्ने सोचाइ हुन्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप