बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतको निष्कर्ष : समाजमा भ्रष्टाचार विरोधी पक्षधर निकै कम रहेछन्

‘मतको खरिदबिक्री हुने छैन भन्ने जुन हाम्रो अपेक्षा थियो, त्यस्तो हुन सकेन’
बुधबार, ११ जेठ २०७९, ११ : ०७
बुधबार, ११ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले केही पालिकामा जित हासिल गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुख र वलान–विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।

यसअतिरिक्त यो पार्टीबाट मधेस प्रदेशका विभिन्न पालिकाका १३ वटा वडाध्यक्ष र लुम्बिनी प्रदेशका विभिन्न पालिकाका ६ वटा वडाध्यक्ष निर्वाचित भएका छन् । पार्टीका नेता सीके राउत भने स्थानीय तह निर्वाचनको यो परिणामप्रति सन्तुष्ट छैनन् । उनी मधेस प्रदेशमा आफ्नो पार्टीले जितेका पालिकाको भ्रमणमा छन् ।

आफ्नो पार्टीले जितेका पालिकामा नयाँ योजना र अन्य दलभन्दा फरक शैलीमा काम गर्ने योजना बनाएर उनी ती पालिकाको भ्रमणमा पुगेका छन् । यसै सेरोफेरोमा रहेर रातोपाटीले सीके राउतसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, राउतसँग गरिएको कुराकानीको सम्पादित अंश–

स्थानीय तहको निर्वाचन परिणाम तपाईंहरूले भनेजस्तो आएन, यसलाई कसरी हेरिरहनु भएको छ ?

हाम्रो पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन । त्यसका विविध कारण छन् । निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनेछ र मतको खरिदबिक्री हुने छैन भन्ने जुन हाम्रो अपेक्षा थियो, त्यस्तो हुन सकेन । त्यही भएर अपेक्षा अनुसार हामीले परिणाम ल्याउन सकेनौँ ।

उम्मेदवार छनोटको क्रममा पार्टीभित्र पनि विवाद उत्पन्न भएको थियो, त्यसलाई समयमै समाधान गर्न नसक्दा पनि अपेक्षाअनुसारको परिणाम आउन नसकेको हो ?

उम्मेदवार छनौटमा केही कमीकमजोरी नभएको भने होइन, तर हाम्रो पनि एउटा बाध्यता थियो । आदर्शवादी पृष्ठभूमि चिन्तनबाट आएकाले कोसँग पैसा छ, को जित्नेवाला छ भन्दा पनि कसले बढी सङ्घर्ष गरेको छ, कसले समाजका लागि जेलनेल गएको छ, कसले राजनीति र समाजका लागि पटक पटक त्याग गरेको छ भन्ने कुरा हेरेर उम्मेदवार चयन गर्‍यौँ । त्यसले गर्दा जित्ने ‘क्यान्डिडेट’ भन्दा पनि अलि फरक खालको ‘क्यान्डिडेट’ देखा परेको हो । तर सबै ठाउँमा त्यस्तो भएको होइन । धेरै ठाउँमा हाम्रा उपयुक्त उम्मेदवार थिए । जित्ने खालका उम्मेदवार पनि थिए । हामीले ४० भन्दा बढी स्थानीय तहमा नेतृत्व लिने अपेक्षा राखेका थियौँ । त्यो अपेक्षा अनुसार पक्कै पनि परिणाम आएन । परिणाम जस्तो आएको छ, त्यसलाई हामी सहर्ष स्वीकार गर्छौं ।

स्थानीय तहको निर्वाचनभन्दा अघिसम्म तपाईंहरू भ्रष्टाचार विरोधी आन्दोलनको नाममा कर्मचारीलाई कालोमोसो दल्ने, किसान आन्दोलन चर्काउने जस्ता गतिविधिमा हुनुहुन्थ्यो । ती आन्दोलनलाई बीचमै छाडेर चुनावको तयारीमा जानुभएका कारण जनताले तपाईंहरूलाई विश्वास नगरेको पो हो कि ?

त्यो पनि होला, किनभने हामी अलि बढी नै आदर्शवादमा विश्वास गर्ने व्यक्ति हौँ । त्यो आधारमा हामीले भ्रष्टाचार हुनु हुँदैन भन्यौँ । तर यो समाजमा भ्रष्टाचार हुनु हुँदैन भनेर भन्ने भ्रष्टाचार विरोधी पक्षधरचाहिँ निकै कम छन् । कर्मचारीमा हेर्नुहुन्छ भने बहुसङ्ख्यक कर्मचारीलाई त्यो मन परेन । कर्मचारीहरूले पनि भ्रष्टाचार र भ्रष्टाचारीको विरोध गर्नै सक्दैनन्, नेताहरूले पनि भ्रष्टाचारको विरोध गर्नै सक्दैनन् । अधिकांश राजनीतिकर्मीले पनि भ्रष्टाचारीको विरोध गर्नै सक्दैनन् ।

यी विषयलाई टुङ्गोमा पुर्‍याउन बाँकी नै थियो । अर्कोतिर हाम्रो पनि एजेण्डा ‘मिसम्याच’ भएकोजस्तो देखियो । त्यसले गर्दा पनि जित्ने खालका उम्मेदवारहरूका लागि समर्थन पाउन सकेनौँ । निर्वाचनको परिणाममा यसले पनि धेरथोर असर गरेको छ ।

चुनाव अघि आन्दोलनलाई थाँती राख्नुभएको थियो, अब ती आन्दोलन फेरि चर्काउने कि नयाँ ढङ्गले अगाडि बढ्ने ?

हाम्रो आन्दोलन त जारी नै रहन्छ । एक हिसाबले आन्दोलन जारी छ । जुन ठाउँमा हामीले जितेका छौँ, त्यो ठाउँमा हामी आफै पनि सक्रियताका साथ किसानका एजेन्डाहरू सम्बोधन गर्न अग्रसरता लिएका छौँ । त्यसको परिणाम पनि चाँडै आउँछ र घोषणा पनि हुन्छ । यो आन्दोलन जारी रहन्छ । किनभने किसानका जायज मुद्दा छन् ।

यसमा जनताले पनि साथ दिनु पर्छ । त्यसमा प्रदेश सरकार र संघीय सरकारको पनि समन्वय हुनु प¥यो । अनि मात्रै ती मुद्दा सम्बोधन हुन्छन् । नभए त कागजीरुपमा मात्रै सम्बोधन हुन्छन् । जसले गर्दा जनताले लाभ लिन सक्दैनन् ।

तपाईको पार्टीले केही पालिकामा जितेको छ, ती पालिकाहरूमा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ र के के गर्ने योजना बुन्नु भएको छ ?

हिजोमात्रै हामी हाम्रो पार्टीले जितेका नगरपालिकामा गएका थियौँ । त्यहाँ नगरपालिकाको कार्यालय, केही वडा कार्यालय, अस्पताल, विद्यालयको अनुगमन गरेर फर्केका छौँ । त्यहाँचाहिँ हाम्रो एजेण्डा ‘जनता राज र सामुदायिक समाजवाद’ को एजेण्डा लागु गर्न के के पूर्वाधार चाहिन्छ, त्यसमा के के संयन्त्र चाहिन्छ, त्यसका लागि हामीले अनुगमन गरेका छौँ ।

त्यही सामुदायिक समाजवाद र जनता राज लागु गर्नका लागि हामीले आफूले जितेका ठाउँमा सहकार्य गरिरहेका छौँ । यसका लागि हामीले रोजगारीको मुद्दालाई प्रबल रूपमा उठाएका छौँ । उत्पादनमुखी रोजगारका लागि हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ मा दुई वटा उद्योग स्थापनाका लागि पहल अगाडि बढिसकेको छ । झोला फ्याक्ट्रीका लागि प्लास्टिक उत्पादन गर्ने र केरा खेतीको लागि राम्रो ठाउँ भएकाले केराको चिप्स उद्योग स्थापनाका लागि हामीले पहलकदमी लिइसकेका छौँ ।

अब प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि आउँदैछ, आगामी निर्वाचनका लागि कस्तो तयारी गर्नुभएको छ ?

त्यसका लागि समय कम नै छ । केही दिनमै उम्मेदवार छनोटलगायतका आन्तरिक कार्यहरूमा जुट्ने छौँ । जनताका बीचमा हामी छँदैछौँ । गाउँघरसम्म म आफै पनि पुगेकै हो । प्रमुख काम भनेकै उम्मेदवार चयन गर्नु हो । त्यसपछि हामी चुनावी गतिविधिमा अगाडि बढ्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप