शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’

मङ्गलबार, १० जेठ २०७९, २२ : १०
मङ्गलबार, १० जेठ २०७९

मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च गरिएको छ । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको, अपराधीहरूलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा गमगढी प्रतिरोध मार्च गरेका हुन् ।   
जेठ १० गते अर्थात आज रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ ।  त्यही दिनको सम्झनामा प्रतिरोध स्वरुप नागरिक आन्दोलन सहित यहाँका दलित अधिकारकर्मी , नागरिक अगुवाहरुले सदरमुकाम गमगढी बजारमा बिरोध र्याली गर्दै प्रतिरोध मार्च गरेका हुन् । 

रुकुम घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । बरू राज्य प्रशासन नै  घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने  २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । 

अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन । पीडित परिवारले न्याय पाउनेमा आशंका उत्पन्न भइरहेका  बेला सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गर्न लागिएको दलित अधिकारकर्मी बिष्णु माया परियारले बताइन् ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णुकुमार भामले दलित समुदायका लागि आफू कटिबद्ध रुपमा लागेको बताए । साथै नगरपालिका बाट ५ वर्षको अवधिमा दशै तिहार जस्ता पर्वहरूमा आर्थिक अवस्था न्युन भएका नगरका दलित लाई चाडपर्व खर्च वापत प्रत्येक दलित लाई ५–५ हजारका दरले प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।  

 जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरीबीच प्रेम सम्बन्ध थियो । ती किशोरीलाई भगाएर बिहे गर्न गएका नवराज र उनका साथीहरूलाई २०७७ जेठ १० गते साँझ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले हत्या गरेको थियो ।

घटनामा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो भने घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप