आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दश महिनामा विदेशबाट भित्रियो १६ खर्बको वस्तु

मङ्गलबार, १० जेठ २०७९, १३ : ४४
मङ्गलबार, १० जेठ २०७९

चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा विदेशबाट १६ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउद–चैत अवधिमा १६ खर्बभन्दा बढीको वस्तु आयात भएको हो । गत आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । जुन, चालू वर्षको १० महिनाको तुलनामा २५.९५ प्रतिशतले कम हो । यसको अर्थ यो वर्षको यस अवधिमा करिब २८ प्रतिशतले आयात बढेको छ ।

यसैगरी, विभागका अनुसार यस अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी हो । गत वर्षको १० महिनामा नेपालबाट विदेशतर्फ १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

चालू वर्षमा आयात निर्यातसँगै व्यापारघाटा पनि बढेको छ । नेपालको निर्यातको तुलनामा आयात तीव्र हुँदा व्यापारघाटा झनै चुलिएको हो । चालू वर्षमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको छ । जुन, गत वर्षको तुलनामा २४.९४ प्रतिशत वृद्धि हो । गत वर्ष १० महिनासम्मको वैदेशिक व्यापारबाट नेपालले ११ खर्ब ४५ अर्ब रुपैयाँ व्यापारघाटा ब्यहोरेको थियो ।

यद्यपी, यस अवधिसम्म भएको आयात नेपाल सरकारले नियन्त्रण गरेपछिको परिमाण हो । आयात अनियन्त्रित गतिमा अघि बढेपछि सरकारले १० वटा वस्तुको सूची सार्वजनिक गर्दै आयात प्रतिबन्ध लगाएको थियो । सरकारले आयात प्रतिबन्ध लगाउँदै १० वस्तुको सूची सार्वजनिक गरेपछि आयात केही नियन्त्रणमा आएको विभागले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप