शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पहल गर्छु : आचार्य

मङ्गलबार, १० जेठ २०७९, ११ : ४९
मङ्गलबार, १० जेठ २०७९

कास्कीको पोखरा महानगरपालिकाको मेयरमा विजयी बनेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् ।  पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बनेपछि यस्तो बताएका हुन् । 

उनले शपथग्रहण पछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए । 

उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पारे ।

उनले  कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए । उनले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताए । 

आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक शहर बनाउने बताए । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको बताए । उनले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रुपमा परिणत गर्ने पनि जानकारी दिए ।

उनले पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेली हरुको जीवनस्तरलाई योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलभ, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप