शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

मङ्गलबार, १० जेठ २०७९, १० : २२
मङ्गलबार, १० जेठ २०७९

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जिल्लामा तालमेल गरेको थियो । माओवादी केन्द्रले पनि एमालेसँग तालमेल गरेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले नौवटा स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख/अध्यक्ष र ६ मा उपप्रमुख/उपाध्यक्ष र ३४ वडा वडामा जित हासिल गरेको थियो ।

दोस्रो शक्ति एमालेले तीन पालिकाको प्रमुख/उपप्रमुख र २६ वडामा जितेको थियो । यस्तै नेपाली काँग्रेसले एउटा पालिका र १६ वटा वडामा जितेको थियो ।

यो पटक भने एमाले–काँग्रेसको शक्ति सन्तुलनमा फेरबदल आएको छ । माओवादी केन्द्रले वडामा आफ्नो प्रभाव बढाए पनि अघिल्लो चुनावको तुलनामा २ उपप्रमुख/उपाध्यक्ष गुमाएको छ । माओवादी केन्द्रले यस पटक पनि पाँच वटै पालिकाको नेतृत्व पाएको छ भने चारवटामा उपप्रमुख/उपाध्यक्ष र ४८ वटा वडामा आफ्नो वर्चश्व कायम गरेको छ । यस्तै काँग्रेसले दुई वटा पालिकाको नेतृत्व पाएको छ भने दुई वटामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले यो जिल्लामा तालमेल गरेर जाने सहमति गरे पनि जिल्लामा तालमेल हुन सकेन । नौ मध्ये शुभकालिकामा काँग्रेस–माओवादीबीच तालमेल थियो भने काँग्रेसले गठबन्धनको सर्कुलर विपरीत तिलागुफा नगरपालिकामा एमालेसँग तालमेल गरेर माओवादीलाई पराजित ग¥यो । यस्तै महावै गाउँपालिकामा एमाले–माओवादीबीच तालमेल भएको थियो ।

एमालेले सत्तारुढ घटकका काँग्रेस र माओवादीसँग आफ्नो स्वार्थ अनुकूल विभिन्न पालिकामा छुट्टाछुट्टै तालमेल गरे पनि कुनै स्थानमा वर्चश्व जमाउन सकेन ।

कालिकोटमा नेकपा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । यहाँ एमालेले पाउने अधिकांश भोट नेकपा एकीकृत समाजवादीले पाएको छ । यद्यपि एकीकृत समाजवादीले पनि जित हासिल गर्न भने सकेन ।

०७४ मै एमालेबाट जनप्रतिनिधि भएका धेरैजसो नेता नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए । उनीहरुले एमालेको भोट काटेका छन् । समाजवादीकै नेता कमल शाहीले खाडाचक्रमा एमालेलेलाई पराजित गरे । शाही स्वतन्त्रबाट लडेका थिए ।

एमालेले जिल्लाका तीन पालिकामा उपप्रमुख/उपाध्यक्षमा जितेको छ ।

१.पलाता गाउँपालिका

माओवादी केन्द्रको वर्चश्व भएको यो पालिकामा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मतका साथ अध्यक्षमा निर्वाचिन भएका छन् । उनले काँग्रेसका केशरसिंह बमलाई पराजित गरेका हुन् । बम दोस्रो पटक पराजित भएका हुन् । बमले एक हजार ४१३ मत पाए ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् । उपाध्यक्षका काँग्रेस तेस्रो स्थानमा छ ।

०७४ मा यहाँ माओवादी केन्द्रका लक्ष्मणबहादुर बम एक हजार ४२० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

२. तिलागुफा नगरपालिका

माओवादीको गढ मानिने यो पालिकामा एमाले र काँग्रेस मिलेर माओवादीलाई पराजित गरे । काँग्रेसका शंकर प्रसाद उपाध्याय २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याए । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नवराज कोइरालाले ७८० मत पाए ।

उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुमारी ओलीले २ हजार ४१५ मत प्राप्त गरिन् ।

०७४ मा यो पालिकाको प्रमुखमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेकी थिइन्  । अहिले प्रमुख जितेका शंकर उपाध्यायले ०७४ मा १५६ मतले पराजित भएका थिए ।

३. रास्कोट नगरपालिका

यो पालिकामा माओवादी केन्द्रका धर्मराज शाही ३ हजार ४७ मतसहित प्रमुखमा विजयी हुँदा एमालेका दयाराम सिम्खाडाले २ हजार ११७ मत प्राप्त गरे । काँग्रेस तेस्रो नम्बरमा छ ।

यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका मनिराज बराल २ हजार ८०९ मतसहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमा शाहीले १ हजार ३०१ मत प्राप्त गरिन् ।

०७४ मा पनि यो पालिकाको नेतृत्व माओवादी केन्द्रले नै जितेको थियो । यहाँ माओवादीका काशीचन्द्र बरालले दुई हजार ११५ मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए ।  एमालेका मनिराज बरालले एक हजार ८३० र काँग्रेसका दानबहादुर बमले एक हजार ४२७ मत पाएका थिए ।

०७४ मा एमालेबाट पराजित मनिराज यो पटक समाजवादीबाट उपप्रमुखमा विजयी भए ।

४. शुभकालिका गाउँपालिका

यो पालिकामा माओवादीका गोविन्द प्रसाद आचार्यले जितेका छन् । उनले २ हजार ४०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका पुष्पराज आचार्यले एक हजार ५९५ मत प्राप्त गरे । उनी पूर्व पत्रकारसमेत हुन् । यहाँ एमाले तेस्रो स्थानमा छ । उपाध्यक्षमा काँग्रेसकी धर्मकला शाहीले २ हजार ६० मत ल्याएर निर्वाचित हुँदा एमालेकी लछु चौलागाइँले एक हजार ४३७ मत प्राप्त गरिन् । यहाँ काँग्रेस–माओवादीबीच तालमेल भएको थियो ।

०७४ मा भने यहाँ एमालेले जितेको थियो । एमालेका  खडानन्द चौलागाइँले दुई हजार २७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा माओवादीका गोविन्दप्रसाद आचार्य पराजित भएका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेले नै जितेको थियो । यो पटक एमालेबाट माओवादीले यो पालिका खोसेको छ ।

५. महावै गाउँपालिका

यो पालिकामा माओवादीका खेमबहादुर सिंह अध्यक्षमा निर्वाचित भएका छन् । उनले २ हजार २७४ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी काँग्रेसको मातृका सिंहले १ हजार १३९ मत पाए । उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल निर्वाचित भएका छन् । उनले २ हजार २७१ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सृजना शाहीले ८२१ मत प्राप्त गरिन् ।

यहाँ माओवादीले गठबन्धनको सर्कुलर विपरीत एमालेसँग तालमेल गरेको थियो । सोही अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी भएका हुन् ।

०७४ मा काँग्रेसले जितेको एकमात्र पालिका यही हो । काँग्रेसका  नन्दबहादुर सिंहले एक हजार ३४५ मत पाएर निर्वाचित हुँदा माओवादीका सर्पराज सिंहले एक हजार २७६ मत पाएका थिए । एमालेले जम्मा ३१ मत पाएको थियो भने उपाध्यक्षमा एमालेका मनराज शाहीले एक हजार ३२२ मतसहित विजयी हुँदा माओवादीले १ हजार १३० मत पाएको थियो ।

६. नरहरीनाथ गाउँपालिका

यो पालिकामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसको नगेन्द्रबहादुर विष्टले २ हजार ६३६ मत प्राप्त गरेर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका धीरबहादुर विष्टले २ हजार ४४५ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कमल कुमार शाहीले २ हजार ९१७ मत ल्याउँदै निर्वाचित हुँदा काँग्रेसकी सीता रावलले २ हजार २८३ मत प्राप्त गरिन् । यहाँ एमाले तेस्रो नम्बरमा छ ।

०७४ मा यो पालिकामा एमालेले जितेको थियो । एमालेका धीरबहादुर विष्टले दुई हजार ४६० मत ल्याई निर्वाचित हुँदा माओवादीका अग्रबहादुर विष्टले दुई हजार १३७ मत ल्याएका थिए । पार्टी विभाजनपछि विष्ट समाजवादीमा गएर अध्यक्षको उम्मेदवार बनेका थिए । उनी दोस्रो पटक पनि पराजित बने । ०७४ मा यो पालिकाको उपाध्यक्ष माओवादीले नै जितेको थियो ।

७.पचालझरना गाउँपालिका

यो गाउँपालिकामा माओवादीले जितेको छ । माओवादीका देवराज शाही २ हजार ३६२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका टेकबहादुर बोहाराले १ हजार ७२९ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीले नै जितेको छ । माओवादीकी अल्किना बमले २ हजार ३९८ मत प्राप्त गरेर विजयी हुँदा एमालेका रन रोकायोले १ हजार २३६ मत प्राप्त गरिन् ।

०७४ मा पनि माओवादी केन्द्रका खड्गराज सेजुवाल एक हजार ६२३ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए । यो कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहपालिका समेत हो ।

८. खाडाचक्र नगरपालिका

यो पालिकामा ०७४ मा एमालेको वर्चश्व थियो । यो पटक एमालेको विरासत स्वतन्त्रबाट उम्मेदवार उठेका कमलबहादुर शाहीले भत्काइदिएका छन् । एकीकृत समाजवादीका नेता शाहीले नेताहरुकै सपोर्टमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शाहीले २ हजार ९१९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत पाए ।

एमालेका नेताहरुको आकलन कालिकोटमा यही पालिकामा मात्र जित्ने थियो । तर एमाले विभाजनपछि जन्मेको समाजवादीकै नेताले स्वतन्त्र उम्मेदवारी दिएर एमालेलाई पराजित गरे । प्रमुखमा यहाँ काँग्रेस तेस्रो स्थानमा छ ।

उपप्रमुखमा माओवादीका उम्मेदवार गणेशबहादुर शाही निर्वाचित भए । शाहीले २ हजार ९२६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिनाकुमारी शाहीले २ हजार ३९९ मत ल्याइन् ।

०७४ मा यहाँ उपाध्यक्ष पनि एमालेले नै जितेको थियो ।

९. सान्नित्रिवेणी गाउँपालिका

यो पालिकाको अध्यक्षमा पुतली चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मोहनबहादुर केसीले विजयी प्राप्त गरेका छन् । उनले १ हजार ८१९ मत प्राप्त गरे । माओवादी केन्द्रले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनले माओवादीकै डम्बर बहादुर शाहीलाई पराजित गरे । शाहीले १ हजार ३३४ मत पाए । उनी निवर्तमान अध्यक्ष समेत हुन् । एमाले भने तेस्रो नम्बरमा रह्यो ।

उपाध्यक्षमा भने एमालेकी पार्वती सिंह (संज्याल)ले १ हजार ६७२ मत सहित निर्वाचित हुँदा काँग्रेसकी पशुविना बमले १ हजार २१४ मत प्राप्त गरिन् । ०७४ मा यहाँ माओवादी कै वर्चश्व थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप