बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फोहोरको डङ्गुरले सङ्क्रमणजन्य रोग फैलिने खतरा बढ्दो

मङ्गलबार, १० जेठ २०७९, ०७ : ३२
मङ्गलबार, १० जेठ २०७९

काठमाडौंका सडक र गल्ली गल्लीमा फोहोरको डङ्गुरले दुर्गन्ध फैलिनुका साथै सरुवा रोग फैलिने जोखिम बढेको छ । पछिल्ला दिनहरुमा वर्षाका कारण झन् सङ्क्रमणजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  

त्यसमाथि यो मौसममा विभिन्न सङ्क्रमणजन्य रोग देखिने समय नै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । विशेष गरी गर्मी र प्रि मनसुन तथा मनसुनमा झाडापखाला, हैजा, मलेरिया, डेंगु, हेपटाइटिस ए र इ, चिकुनगुनिया, लेप्टोस्पाइरोसिस, कालाजार, टाइफाइड, ठेउला, दादुरा, रुघाखोकी, आउँ लगायतका रोग देखिने गर्छन् । 

सङ्क्रमणजन्य रोग फैलिने समयमा काठमाडौँमा फोहोर व्यवस्थापन नहुँदा झन् जोखिम बढेको चिकित्सकहरू बताउँछन् । डा.पुनका अनुसार मुख्यतः पेटजन्य रोगहरू पानी र सरसफाइको कमी हुँदा लाग्ने गर्छ ।

उपत्यकाको चोक–चोक अनि गल्लीमा थुपारिएको फोहोर काग, मुसा, कुकुर घर वरपर अनि छतसम्म पुर्‍याउने गर्छन्, यस्तो अवस्थामा झन् धेरै सङ्क्रमणजन्य रोगको जोखिम बढ्छ । यस्तो अवस्था ब्याक्टेरिया धेरै सक्रिय हुने भएकाले उच्च जोखिम हुन्छ ।

प्रत्येक वर्ष यस समयमा सङ्क्रमणजन्य रोग एउटै खालको फैलिने  भएकाले सरसफाइ र पानीमा विशेष ख्याल गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । उता डा. पुनले घरबाहिरको फोहोरसँगै घरभित्रको फोहोरलाई व्यवस्थापन नगरेमा पनि सङ्क्रमणजन्य रोगको सङ्क्रमण बढ्ने खतरा हुने बताउँछन् । 

दूषित पानीबाट झाडापखाला, रुघाखोकी, हैजा हेपाटाइटिस ए र ई  दूषित पानीबाट सर्ने गर्छ । यस्तै हावाबाट पनि रुघाखोकी, दादुरा, ठेउला हावाबाट समेत फैलिन्छ । हरेक वर्ष प्राय एउटै खालका सङ्क्रमणजन्य रोग फैलिने भएकाले सरकारले  सफा पानी, सरसफाई खानाबाट लाग्ने रोगबारे जनचेतना फैलाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक दासले काठमाडौं फोहोरको डङ्गुर, गर्मी याम र प्रि मनसुनका कारण सङ्क्रमणजन्य रोगको उच्च जोखिम भएपनि महामारीको रुपमा कुनै रोग नफैलिने बताए । उनी भन्छन्, ‘अघिल्ला वर्षभन्दा यो समयमा विभिन्न सरुवा रोगको जोखिम छ । किनभने अहिले कोरोना सङ्क्रमण दर पनि कम भएकाले दैनिक मास्क प्रयोग, हातको सरसफाइमा ध्यान कम छ । यस्तोमा सङ्क्रमण  छिटै फैलिने सम्भावना रहन्छ ।’

निर्देशक डा. दासको भनाईमा सहमति जनाउँदै सरुवा रोग विशेषज्ञ डा पुनले भने, ‘यो दुई वर्षमा कोरोना सङ्क्रमण बढ्दा घर बाहिर बनाइएका खानेकुरा खाने कम थिए । त्यसैले, अघिल्ला वर्षहरुमा पानी, हावा, फोहोरबाट लाग्ने रोगी कम थिए । तर अहिले हरेक व्यक्तिले खानपानमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ ।’ 

यस्तै, उमालेको पानी खाने, बासी सडेगलेका र झिँगा भन्किएका खानेकुरा नखाने र सरफाइमा ध्यान दिएको खण्डमा सङ्क्रमणजन्य रोगबाट जोगिन सकिने निर्देशक डा. दास बताउँछन् ।

नेपाल बर्डन अर्फ डिजिज २०१७ का अनुसार नसर्ने रोग सम्बन्धी तथ्यांकमा कुल जनसंख्याको ४.५१ प्रतिशतको झाडापखालाले मृत्यु हुने भएको देखिएको छ ।  

त्यस्तै, नेपाल बर्डन अफ डिजिजको २०१७ को तथ्याङ्कअनुसार नेपालमा झाडापखालाजन्य रोगबाट ३.४२ प्रतिशत सङ्क्रमित भएका थिए । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार आर्थिक वर्ष २०७६÷७७ का लागि तयार पारिएको नेपाल भरका अस्पतालको तथ्याङ्कमा ३७ हजार ६६७ जना मौसमी रोगबाट सङ्क्रमित भएका थिए भने ७०७ जनाको मृत्यु भएको थियो । त्यस्तै, २७ हजार १७६ जना मानिसहरु पानीजन्य रोगबाट सङ्क्रमित हुने गरेको पाइएको छ ।  

निर्देशक डा. दासले सङ्क्रामक रोग तथा विभिन्न मौसममा देखिने फरक फरक सरुवा रोगसँग जुध्नका लागि तयारी गरिएको बताउँछन् । यसका लागि सबै स्थानीय तहहरूमा आवश्यक तयारी भइसकेको उनले जनाए । उनले भने, ‘स्थानीय तहमा आवश्यक पर्ने औषधि, कीट, सरुवा रोगहरू सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना लगायतको तयारी गरिसकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप