
दुर्गामानको राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजी मुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । प्रतियोगितामा राजाराम सिलवाल दोस्रो भए ।
राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६० केजी तौल उठाए । दीपक तिमल्सिना दोस्रो तथा सोमनाथ राई तेस्रो भए । ६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे । उनले ९० केजी उचाले । निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते । ७२ केजीमाथि किरण किशोर सापकोटाले ९० केजी वजन उठाउँदै स्वर्ण जिते । शरद पौडेल दोस्रो तथा भरत विसी तेस्रो बने ।
महिला खुलामा सरिता थुलुङ पहिलो भइन् । सरिताले ५२ केजी भार वहन गरिन् । निर्मला भण्डारी दोस्रो तथा टिना महर्जन तेस्रो भए । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौँ जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले पारा खेलकुदलाई अझ फराकिलो दायरामा आयोजना गर्ने गरी परिषद्ले तयारी गरिरहेको बताए ।
एक दिने प्रतियोगिताको पुरुषमा ४ स्पर्धामा ३२ खेलाडी तथा महिलाको १ स्पर्धामा ५ खेलाडी सहभागी थिए । पारा राष्ट्रिय खेलकुद अन्तर्गत अब ५ खेलको प्रतियोगिता हुन बाँकी छ । खेलकुदमा १२ खेल समावेश छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ