बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विजयी जुलुसको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु

सोमबार, ०९ जेठ २०७९, २१ : ०४
सोमबार, ०९ जेठ २०७९

विजयी जुलुसमा हिँडेको ट्याक्टरबाट लडेर सिरहामा एक युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका ६ का नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सञ्जीव लामाको विजयी जुलुसमा प्र।२–००१–०१ त ०२७५ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय विनोद सदायको छोरा ७ वर्षीय रिझनको मृत्यु भएको हो ।

ट्याक्टर धनी समेत रहेका रामकिसुन साह आफैले अत्यधिक गतिमा ट्याक्टर चलाएका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए। उनीहरूका अनुसार ट्याक्टरको अघिल्लो भागमा रहेर नारा लगाइरहेका बेला अत्यधिक गति र वाङ्गोटिङ्गो पारेर ट्याक्टर चलाउँदा सदाय खस्न पुगेका थिए । लगत्तै सदायको छातीमा ट्याक्टरले किचेको उनीहरुको भनाइ छ ।

चालक साहले जीतको खुसियालीमा अत्यधिक मदिरा सेवन गरेको पीडित पक्षको आरोप छ । लाइफ लङ हेल्थ केयर प्रालिका चिकित्सक अजयकुमार जयसवालले सदायलाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको जानकारी दिए ।

चालकसमेत रहेका ट्याक्टर धनी साह फरार छन् । चालकको खोजी तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए । शव अझै हेल्थ सेन्टरमै राखिएको छ । पोस्टमार्टमका लागि शव लग्न खोजिए पनि आफन्तले चालक नपक्रेसम्म शव पोस्टमार्टम गर्न लैजान दिने अडान राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप