बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन

नतिजा आइसकेका प्रदेश १ का १३३ तहमध्ये काँग्रेस ६६, एमाले, ४६ र माओवादी १२ तहमा विजयी
सोमबार, ०९ जेठ २०७९, २० : ४८
सोमबार, ०९ जेठ २०७९

प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।

हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो ।

२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४६ वटा प्रमुख तथा अध्यक्ष र ५९ उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख तथा अध्यक्षमा १२ वटा जित्दा उपप्रमुख तथा उपाध्यक्षमा भने २१ वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपटक थप ३ स्थानीय तह जितेको हो ।

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।

प्रदेश १ मा ३ जना स्वतन्त्र उम्मेदवारले प्रमुख÷अध्यक्ष पदमा जित हासिल गरिसकेका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले २ प्रमुख तथा अध्यक्ष र ५ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।

मतणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमध्ये काँग्रेस २ स्थानीय तहमा अगाडि छ भने नेकपा एमाले १ स्थानीय तहमा अगाडि छ । प्रदेश १ मा अब उदयपुरको २ र झापाको २ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

अहिलेसम्मको गणनामा झापाको मेचीनगर नगरपालिका एमालेका गोपाल बुढाथोकी र काँग्रेसबाट उदयपुरको कटारी नगरपालिकामा राजेश चन्द्र श्रेष्ठले अग्रता कायम राखेका छन् । काँग्रेसबाटै झापाको गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशीको अग्रता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप