शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् भरतपुर महानगरको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी ?

सोमबार, ०९ जेठ २०७९, २० : ४५
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा  १ लाख १६ हजार ६६६  मत गणना सकिसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार ९५८ मत पाएका छन् ।

को हुन् चित्रसेन ? 

भरतपुर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । २०२४ साल जेठ १ गते बुवा हर्क बहादुर (कोते) अधिकारी र आमा दुर्गा कुमारी अधिकारीको कोखबाट साविक पार्वतीपुर गाविस (हाल भरतपुर–२१) मा जन्मेका अधिकारीको भरतपुर महानगरमा छुट्टै पहिचान छ ।

आफ्नो वडामा मात्र नभइ सिङ्गो भरतपुर महानगरकै छवि उच्च बनाउने काममा अहोरात्र खटिने नाम हो चित्रसेन अधिकारी । २०३८ सालबाट राजनीतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा पनि सामेल थिए ।

२०४६ सालको जनआन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी नेपाली काँग्रेसमा अवरुद्ध रहेर पार्टीका सबै कार्यक्रममा अग्रपंक्ति खटिँदै आएका छन् । २०६२/६३ को आन्दोलनको नेतृत्व गरेर समाजमा सबैको हाइहाइ बनेका उनी नेपाली काँग्रेसको ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२ औं महाधिवेशनमा क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रामा आफूलाई अब्बल साबित गर्न सफल भए ।

पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सदस्य भएका अधिकारी १४ औं महाधिवेशनमा आएर भरतपुर महानगरको सभापतिजस्तो गरिमामय पदमा निर्वाचित  भए ।

२०५४ को स्थानीय निर्वाचनमा साविक पार्वतीपुर गाविस–७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर–२१ को वडा अध्यक्ष हुँदै उनले जनप्रतिनिधिका रुपमा पनि काम गरे ।

अधिकारीले राजनीतिक शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । पार्वतीपुर खानेपानी उपभोक्ता समितिको वर्तमान अध्यक्ष, अन्नपूर्ण कलेजको संस्थापक सदस्य, अन्नपूर्ण माविको व्यवस्थापन समितिको सदस्य, पार्वतीपुर स्वास्थ्य चौकीको व्यवस्थापन समिति अध्यक्ष, खगेरी सिंचाई उपभोक्ता समितिको सदस्य, पार्वतीपुर प्रेरणा साकोसको निवर्तमान अध्यक्ष, पार्वतीपुर मेलमिलाप समितिको निवर्तमान सयोजक हुँदै उनले सामाजिक र राजनीतिक जीवनमा आफूलाई खर्चिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप