भीम रावलको गृहनगरको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी विजयी
नेकपा एमालेका नेता भीम रावलको गृहनगर समेत रहेको अछामको साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मतसहित विजयी भएका हुन् ।
कुँवरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत मात्र प्रात गरे ।
साँफेबगरको मेयर र उपमेयरमा काँग्रेस-एकीकृत समाजवादी र एमाले-माओवादी केन्द्रबीच तालमेल भएको थियो । त्यसमा काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनले नतिजा हात परेको छ ।
०७४ मा मेयर र उपमेयर जितको एमालेले यसपटक दुबै पद गुमाएको छ । यसपटक काँग्रेसले नगर प्रमुखसहित ८ वडा अध्यक्ष जितेको छ । एमाले ३ वडामा सीमित हुँदा एकीकृत समाजवादीले उपप्रमुखसहित १ वडा जितेको छ । भीम रावलको गृह वडा गरी २ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।