शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

सोमबार, ०९ जेठ २०७९, १० : ००
सोमबार, ०९ जेठ २०७९

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरुलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिएकी हुन्  ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुनसकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिइन् । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौं तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ,  देखिने गरी काम गरौं ।’ काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ छ ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरुलाई  सक्रियतापूर्वक काम गर्न निर्देशन दिए। मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत खर्च भइसकेको छ । उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए ।

 सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेश गरे । उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताए । यस्तै सघन सहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत  रहेको उनले बताए । मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप