
सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसको ‘क्लिन स्विप’

नेपाली काँग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसले ‘क्लिन स्विप’ गरेको हो । काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।
निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् । काँग्रेसले जीत हासिल गरेको हरि नगर गाउँपालिका र कोसी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरू दोहोरिएका छन् ।
कोशी गाउँपालिकाको अध्यक्षमा ऐयुव अन्सारी र उपाध्यक्षमा अनितादेवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाटै पुनः निर्वाचित भएका छन् । हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिमकुमारी भगत दोस्रो कार्यकालका लागि काँग्रेसबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भोक्राहानगरसिंह गाउँपालिकामा काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनितादेवी उराँव उपाध्यक्षमा निर्वाचित भएका छन् । बराहक्षेत्र नगरपालिकामा निवर्तमान नगरप्रमुख रहेका नेकपा एमालेका उम्मेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित भएका छन् ।
हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले काँग्रेसले हरिनगर मात्र नभई पूरै सुनसरी क्षेत्र नम्बर ४ नै ‘क्लिन स्विप’ गरेको बताए । उनले जनतालाई प्राथमिकतामा राखेर काम गरेर आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काँग्रेसका वराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेवती दुलालले पार्टी संगठन र जनचाहनालाई प्राथमिकता दिँदा वराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ