बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

सोमबार, ०९ जेठ २०७९, २२ : ००
सोमबार, ०९ जेठ २०७९

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।
‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’

गठबन्धनमा समस्या नै आएन भन्ने नभए पनि  ठाउँ, परिवेश र उम्मेदवारले प्रभाव पारेको उनको भनाइ छ । महतले भने, ‘ठाउँ, परिवेश र उम्मेदवार विविध कारणले प्रभाव पर्छ । माधव नेपालका पार्टीका उम्मेदवारलाई पनि मत गएको छ । पोखरा र हेटौँडामा काँग्रेसका मतदाताले मत हाल्नुभएको छ ।’

नेकपा एकीकृत समाजवादीले एमालेबाट मत तान्न नसकेको महतले बताए । ‘उहाँ (माधव नेपाल)को पार्टीले एमालेले मत तान्न सकेन । हामीले मत नहालेको होइन,’ उनी भन्छन् । काँग्रेसले गठबन्धनमा इमानदारिता देखाएको भरतपुर र पोखरा महानगरपालिकाबाट पुष्टि भएको बताए । ‘पोखरा र भरतपुरको परिणाममा कुनै असर नपर्ने देखिएको छ ।’ पोखरामा एकीकृत समाजवादी र भरतपुरमा माओवादीले मेयर जित्ने अवस्था छ । 

स्थानीय निर्वाचनको छोटो समयमा मतदाता शिक्षा दिन नसक्दा केही ठाउँमा गठबन्धन पराजित भएको उनको भनाइ छ । त्यसैले काँग्रेस तालमेल गरेर जाने कुरालाई निरन्तरता दिने प्रवक्ता महतले बताए स्थानीय तहको नतिजाले संघीय निर्वाचनसम्म गठबन्धन गरेर जाने आधार बनेको पनि उनले बताए । साथै उनले स्थानीय तहमा काँग्रेसले ठूलो सफलता प्राप्त गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप