शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आसिफ साह भन्छन्, ‘अब सबै क्षेत्रका यस्ता घटना बाहिर आउँछ’

सोमबार, ०९ जेठ २०७९, १९ : ४२
सोमबार, ०९ जेठ २०७९

केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बारम्बार बलात्कार भएको खुलासा गरिन् । उक्त खुलासाले सामाजिक सञ्जालमा तरङ्ग आयो । खास गरी युवावर्ग उनको न्यायका लागि सडकमा उत्रिए ।

व्यापक दबाबले अहिले बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेबाट पीडित अर्की युवतीले पनि उजुरी दर्ता गराएकी छिन् । यो घटनाले समाजमा पीडित रहेका अन्य महिलालाई समेत बाहिर आउन सहज बनाएको छ । 

८ वर्ष अगाडिको यो घटनामा पीडितलाई सहयोग नगरेको भनेर पूर्व मिस नेपाल माल्भिका सुब्बासमेत विवादमा तानिएकी छन् । अहिलेको यो अवस्थामा सेलिब्रेटीहरु दुई कित्तामा बाँडिएका छन् । कोही पीडितको पक्षमा उभिएका छन्, कोही पीडकको पक्षमा । अभिनेता, गायक तथा कार्यक्रम प्रस्तोता आसिफ साह भने पीडितको पक्षमा आवाज उठाउँदै आएका छन् । त्यसैले बलात्कार ८/१० वर्ष अगाडि भए पनि कानुन संशोधन गर्नुपर्ने भए, त्यो पनि गरेर पीडितलाई न्याय दिनुपर्ने धारणा राख्दछन् कलाकार साह ।

‘सबै पीडितले सजिलै बोल्न सक्दैनन् । हिम्मत जुटाउने प्रयास गर्दागर्दै धेरै समय लाग्न सक्छ । बोलिसकेपछि समय धेरै भयो भनेर पन्छिन मिल्दैन । कारबाही हुनैपर्छ,’ उनले भने, ‘यस्ता घटनाको विषयमा हाम्रो कानुन समयअनुसार संशोधन गर्नुपर्ने देखिन्छ ।’

सेलिब्रेटीका ‘डबल स्टयान्डर्ड’

बलात्कारको घटनामा कला क्षेत्रका ब्यक्तिका ‘डबल स्टयान्डर्ड’ देखिदै आएको छ । यही घटनामा पीडितको सहयोग नगरेको भनेर माल्भिका सुब्बालाई गाली गलौज भइरहेको छ । कलाकार साहले पनि माल्भिकाप्रति यस विषयमा आक्रोश पोखेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउँदैछन् । वाईयातहरु, गल्ती स्वीकार्दैमा गल्ती कम हुन्छ ? शून्य सहनशीलताका नाटकीहरु । नो पावर टू यू ।’ 

यस विषयमा साह धेरै सेलिब्रेटीको तारो बनेका छन् । ती मध्येकी एक हुन् अभिनेत्री निशा अधिकारी । अधिकारीसँग त साहको सामाजिक सञ्जालमा बाझाबाझ नै भएको देखिन्छ । निशा र साहले फेसबुकमा एक अर्कालाई ‘श्रद्धाञ्जली’ समेत लेखेका छन् ।

सेलिब्रेटीका ‘डबल स्टयान्डर्ड’ का विषयमा सबै कुरा सामाजिक सञ्जालमा पोखिसकेकाले अहिले थप केही नबोल्ने साह बताउँछन् । ‘सामाजिक सञ्जालमार्फत मैले कसैलाई व्यक्तिगत आक्षेप लगाउन खोजेको थिइन । यो कुरो यस्तो हो भनेर भनेर मैले स्वविवेकले देखाएको थिएँ । चर्चा पाउने मनसाय पनि थिएन,’ साहले रातोपाटीसँग भने, ‘जो पीडित हो, त्यसतर्फ फोकस हुनुपर्छ । जुन सेलिब्रेटीको नाम यसमा आएको छ । उहाँबाट गल्ती भएको हो । यो कुरोमा दुई मत छैन भनेको हो ।’ 

माल्भिकाले गल्ती स्वीकारेको अवस्थामा उनका आसपासका साथीले त्यसको विरोध गर्नुको कुनै अर्थ नरहेको साहको भनाइ छ । उनले थपे, ‘मलाई कतिपयले कानुनका ज्ञान नभएका पनि भनेका छन् । त्यो विषयमा मैले जुन जवाफ दिनुपर्ने दिइसके । व्यक्तिगत जति पनि कुरा छन् त्यसतिर अहिले मोडिनु छैन ।’

अन्य पीडित पनि बोले

हुन त यो घटनाले ठुलै रूप लिएको छ । साह लगायत धेरै सेलिब्रेटीले सपोर्ट गरेसँगै अहिले अन्य केही पीडितले पनि बोल्ने आँट गरेका छन् । साहको प्रयास पनि यही थियो । ‘समाजले अव बिस्तारै दोषी भन्ने आँट गर्दैछ, मेरो प्रयास पनि यही थियो,’ साहले भने, ‘कानुन सुधारेर भए पनि सजाय हुनुपर्छ ।’

‘दबिएका आवाज बाहिर आउनुपर्छ भन्ने हिसावले मैले यो मामिलामा सपोर्ट गरेको हो । अहिले थप पीडित बाहिर आउन थालिसकेका छन्,’ साहले थपे, ‘केही दिन अगाडि मलाई इन्स्टाग्राममा एकजना बहिनीको म्यासेज आयो । ती बहिनीले आफूमाथि स्कुलमा शोषण भएको बताइन् । मैले तिनलाई आफ्नो हैसियत र सामर्थ्यअनुसार मिडियाका साथीहरुसँग सम्पर्क गराएँ । अहिले तिनको इस्यु बाहिरिइसकेको छ ।’ पीडितहरू अव यस्ता कुरामा खुल्दैछन् । अव दबिएर बस्ने अवस्था नरहने उनी सुनाउँछन् ।

व्यक्ति हेरेर व्यवहार 

बलात्कारको विषयमा सेलिब्रेटीको व्यवहार व्यक्ति हेरेर फरक देखिन्छ । आफ्नो नजिकका व्यक्ति भए आरोपीका पक्षमा वकालत गर्छन्, नभए पीडितको । साह यो कुरोको जहिले पनि विरोध गर्दै आएका छन् । व्यक्तिवाद भएर सपोर्ट गर्ने भन्दा पनि सही र गलत हेरेर साथ दिनुपर्ने उनी बताउँछन् । ‘हामीमा आफ्नो मान्छेको गल्तीलाई गलत भन्ने आँट छैन । गलत आफ्नो वा अरूको होस्, गल्तीलाई गल्ती नै भन्नु पर्दछ,’ साहले भने ।

कला क्षेत्रका यस्ता विषय बेला बेला बाहिरिन्छ । तर साहको बुझाई यस्ता विषय सबै क्षेत्रमा छ । ‘कला क्षेत्र धेरैको चासोको विषय भएकोले बाहिर आएको थाहा हुन्छ,’ उनले अगाडि थपे, ‘यस्तो समस्या कला रङ्गमञ्चका साथै हरेक क्षेत्रमा होला । अहिलेको यो घटनाले अन्य क्षेत्रका पीडितलाई पनि बाहिर आउन मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप